रिपोर्टशनिवार, जेठ २६, २०७५

‘सरकार हिमाल चिन्छ, हामीलाई चिन्दैन’

रविन गिरी

सगरमाथा, छोयू, ल्होत्से लगायतका थुप्रै हिमालको घर खुन्दे–खुम्जुङका गाउँलेमा सरकारले नहेरेको गुनासो छ ।

तस्वीर: रविन गिरी

समुद्र सतहबाट ४ हजार २०० मिटरको यो उँचाइ जब छिचोलिन्छ, पर्यटकहरू अद्भुत आश्चर्यसँग एकाकार हुनपुग्छन् । ३६० डिग्रीमा देखिने हिमालै हिमालले घेरिएको स्वयंलाई भाग्यमानी ठान्छन् । यतिका उमेरसम्म पनि आफू किन यहाँ नआइपुगेको ? जीवनको गुनासो केवल यही हुन्छ ।

गाउँलेहरूले यो डाँडाको नाम गोङग्री हिलारी मेमोरियल भ्यू पोइन्ट राखेका छन्, जहाँबाट एकैपटक समग्र हिमाल र हिमाली जनजीवनको दृश्यपान गर्न सकिन्छ । एउटै डाँडामा उभिएर सम्भवतः यति धेरै प्राकृतिक सम्पदा र विविधताको दर्शन विश्वमा अन्त कतैबाट शायदै गर्न सकिन्छ ।

भ्यू पोइन्टबाट सोझै उत्तरतिर हेर्ने हो भने, खुम्बु हिला पर्वत (५,७६८ मि.) ठडिएको छ । त्यस्तै, उत्तर पूर्वमा तबुचे (६,५४२ मि.), नुप्त्से (७,८९६ मि.) हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८ मि.) उभिएको देखिन्छ ।

आँखालाई विस्तारै पूर्वतर्फ घुमाउँदा ल्होत्से (८,५१६ मि.), शारत्से (७,५०२ मि.) र परैबाट अलग र सुन्दर आमादब्लाम (६,८५६ मि.) देखिन्छ । खाङतारी (६,०८० मि.), खाङतागा (६,६८५ मि.), थामशेर्कु (६,८०८ मि.), कुसुम खाङ्गरु (६,३६९ मि.) पनि त्यही लहरमा उठेका छन् ।

तस्वीर: अजित बराल

दक्षिणमा ६,१८७ मिटर अग्लो कोङदे हिमालले स्वागत गरिरहे झैं लाग्छ भने पश्चिमतर्फ पार्चार्मो (६,२७३ मि.), तेञ्जि रागी ताउँ (६,९४३ मि.) र क्याजो पर्वत (६,१८३ मि.) छन् । यो उँचाइबाट तलतिर क्रमशः खुन्दे (६,८४० मि.), खुम्जुङ (३,७९० मि.), तेयाङ्बोचे (३,८८७ मि.), नाम्चे (३,४४० मि.), थामे (३,८०० मि.) लगायतका साना–ठूला सुन्दर र शान्त गाउँहरू नियाल्न सकिन्छ ।

सोलुखुम्बुको खुम्बु–पासाङ ल्हामु गाउँपालिका–४, मा मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथासँगै ८ हजार मिटर माथिका छोयू (८,१८८ मि.), ल्होत्से (८,५१६ मि.), ल्होत्से मिडल (८,४१३ मि.) र ल्होत्से स्यार (८,४०० मि.) छन् ।

हिमालले घेरिएको जुम्ल्याहा खुन्दे–खुम्जुङमा हुर्केका तेञ्जिङ नोर्गेले प्रथम पटक सगरमाथा आरोहण गरेका थिए । विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान राखेका ‘हिमचितुवा’ आङरिता शेर्पा पनि यही गाउँका हुन् ।

छिमेकी गाउँ थामेका कामीरिता शेर्पाले यसै वर्ष २२औं पटक सगरमाथा शिखर पुगेर आफ्नै गाउँले आप्पा शेर्पा र खुम्जुङका फुर्वा टासी शेर्पाको २१औं आरोहणको रेकर्ड तोडे ।

तर, यो हिमाली उपत्यका जति गौरवान्वित र मनमोहक छ, महसूस गर्दै जाँदा उति नै दुःखी पनि । गाउँलेमा एउटै गुनासो छ– हामीले सरकार देख्न पाएनौं, हामी पनि नेपाली जनता हौं भनेर व्यवहार गरेको पाएनौं । खुम्जुङका तेञ्जिङ टासी शेर्पा भन्छन्, “सरकारले हिमाल चिन्छ, यहींका हामीलाई चिन्दैन ।”

तस्वीर: अजित बराल

हुन पनि, हिमालयको यो क्षेत्रमा ‘सरकार’ पुग्नुभन्दा पहिले एडमण्ड हिलारी पुगेका थिए । २९ मे १९५३ मा तेञ्जिङ नोर्गेसँग सगरमाथाको कीर्तिमानी आरोहण गरेको आठ वर्षपछि उनले खुम्जुङमा खुम्बु क्षेत्रकै पहिलो स्कूल खोले ।

सन् १९६४ मा लुक्ला एअरपोर्ट र १९६६ मा खुन्दे अस्पताल पनि निर्माण गरिदिए । त्यसैले पनि खुम्बु क्षेत्रका अधिकांश सार्वजनिक स्थल, गुम्बा र घरमा दलाई लामा र हिलारीकै तस्वीर देखिन्छ ।

हिलारीको नजर परेकैले खुम्बुका अन्य गाउँका तुलनामा खुन्दे–खुम्जुङवासी सुखी देखिन्छन् । यो सुखभित्र दुःखको तुषले पोलिरहेको शेर्पा बताउँछन् । सबै थोक भएर पनि यो क्षेत्र यातायात, पर्यटकीय पूर्वाधार, संस्कृति संरक्षण र जीविकोपार्जनमा आत्मनिर्भर हुन नसकेको उनको भनाइ छ ।

सन् १९७६ मा स्थापित सगरमाथा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष भएर लामो समय काम गरेका उनी भन्छन्, “खुम्जुङका नाममा बेलाबखत आउने पैसा सदरमुकाममै टाठाबाठाले सिध्याउँछन् ।”

हिमालका चौकीदार !
२०७० सालमा सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको संयोजकत्वमा पर्यटन राजस्व बाँडफाँड समिति गठन गर्‍यो । समितिको कार्यविधिमा पर्यटकीय क्षेत्रको राजस्वमा ७० प्रतिशत केन्द्र र ३० प्रतिशत स्थानीय तहको हक लाग्ने तोकियो ।

तस्वीर: रविन गिरी

सरकारले सगरमाथाबाट मात्रै वार्षिक झण्डै रु.३५ करोड राजस्व उठाइरहेको छ । ८ हजार मिटरभन्दा कम उँचाइका अन्य हिमालको रोयल्टी जोड्दा राजस्व रु.४२ करोडसम्म पुग्छ । यो आम्दानीबाट ३० प्रतिशत अर्थात् कम्तीमा पनि रु.१० करोड ५० लाख सोलुखुम्बु पुग्नुपर्ने हो । लगभग त्यही अनुपातको रकम खुम्बु–पासाङल्हामु गाउँपालिका–४ मा भित्रिनुपर्ने हो ।

तर, वडाध्यक्ष लक्ष्मण अधिकारी नेपाल सरकारले आफूहरूलाई ‘हिमाल कुरुवा’ मात्र ठानेको बताउँछन् । उनी भन्छन्, “तिमीहरू हिमाल रुँग, संरक्षण र व्यवस्थापन गर, बजेटको कुरै नगर भनी अपहेलना गरिरहेको छ ।”

लुक्लामा भेटिएका गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पा पनि ३० प्रतिशत राजस्वको अधिकार प्राप्त गाउँपालिकाले यो वर्ष एक सुको नपाएको बताउँछन् । “सदरमुकाममा हाम्रा लागि आएको बजेट गाउँसम्म आइपुग्दैन, यहाँ त आश्वासन मात्र आउँछ” शेर्पा भन्छन्, “हाम्रो हालत कस्तो छ भने माथि हिमालमा फोहोर थुप्रिएको छ, विकास नाम मात्रको छ ।”

तस्वीर: अजित बराल

पर्यटन राजस्व बाँडफाँड समितिका सदस्य रहिसकेका नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा केन्द्रबाट जिल्लाका प्राथमिकताका आयोजनामा खर्च गर्ने शर्तमा रकम छुट्याउने गरे पनि जिल्लामा राजनीतिक दबाब–प्रभावमा दुरुपयोग हुने गरेको पाइएको बताउँछन् । खुम्जुङ घर भएका पर्यटन व्यवसायी उनी भन्छन्, “सही प्रयोग हुने हो भने यतिबेला सल्लेरीको सडक चौंरीखर्क पुगिसक्थ्यो, खुम्जुङको मुहार अर्कै हुन्थ्यो ।”

स्थानीयमा गुनासोको थाक छ । तर, जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद सापकोटा भने पर्यटन राजस्व बाँडफाँडमा बुझाइमै समस्या रहेको तर्क गर्छन् ।

तस्वीर: अजित बराल

उनका अनुसार, कुल पर्यटन राजस्व आवश्यकताका आधारमा देशभर वितरण हुने हुँदा मुख्य पर्यटकीय स्थलमा कम पुग्छ । “पर्यटन राजस्वले जिल्लामा कामै नभएको पनि होइन” उनी भन्छन्, “निर्माणाधीन सल्लेरी–सुर्के सडक नुनथलासम्म पुगेको छ, अब स्थानीय सरकारको प्रत्यक्ष सहभागितामा थप सडक बन्छ ।”

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले राजस्व बाँडफाँडको नयाँ संरचना प्रस्ताव गरेको छ, जस अनुसार अब केन्द्रले ५० प्रतिशत, प्रदेशले २५ प्रतिशत र स्थानीय तहले २५ प्रतिशत पाउने छन् ।

जिल्ला समन्वय अधिकारी सापकोटा पनि बजेटको न्यायोचित वितरण हुनेमा आशावादी छन् । तर, सरकारी प्रक्रियाको झमेलाबाट वर्षौंदेखि पीडित खुम्जुङवासी भने कार्यान्वयनमा सधैं झैं समस्या देख्छन् ।

“बजेट ल्याउन अलि अराजक नबनी नहोला जस्तो छ”, गाउँपालिकाका युवा अध्यक्ष ङिम दोर्जी शेर्पा भन्छन् ।

प्रतिकृया दिनुहोस