टिप्पणीशनिवार, जेठ २६, २०७५

निपा भाइरसको जोखिम

हिमालखबर

डा. गुणनिधि शर्मा 

भारतको केरला र पश्चिम बंगालको सिलिगुडीमा समेत देखिएकोले मात्र नभएर टेरोपस प्रजातिको चमेरोमा पाइने भएकोले पनि नेपाल निपा भाइरसको जोखिममा छ ।

नेपालमा सरुवा रोगको भन्दा नसर्ने रोगहरूको भार बढ्दै गएको छ्र । नयाँ खालका सरुवा रोग देखा पर्ने क्रम पनि जारी छ । सन् २००९ मा भित्रिएको सिजनल इन्फ्लुएन्जा र सन् २०१५ मा पहिचान भएको स्क्रब टाइफसले त्यसयता हरेक वर्ष जस्तो प्रकोपको रूप लिने गरेको छ । हालसालै भारतको केरला राज्यमा फैलिएको निपा भाइरसको संक्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई पनि नकार्न सकिंदैन ।

सन् १९९९ मा मलेशियाको सुनागई निपा गाउँका बंगुरपालक किसानहरूमा कडा खालको श्वासप्रश्वास संक्रमण र मस्तिष्क ज्वरोको प्रकोप फैलियो । प्रकोपको अनुसन्धान हुँदा एक किसिमको भाइरस पत्ता लाग्यो र त्यसको नाम पनि सोही गाउँको नामबाट निपा राखियो । सन् २००१ मा यसको प्रकोप बाङ्लादेशमा देखियो ।

निपा भाइरसको स्रोत फलफूल खाने टेरोपस प्रजातिको चमेरो हो । टेरोपस चमेरोको तन्तु, दिसा–पिसाब र र्‍यालमा यो भाइरस हुन्छ । यो चमेरोको मासु खाए, त्यसले टोकेको फलफूल खाए वा त्यसले दूषित पारेको रूखको सम्पर्कमा आए निपा भाइरसको संक्रमण हुनसक्छ ।

अर्थात्, सबै उमेर समूहका मानिस निपा संक्रमणको जोखिममा छन् । निपाबाट संक्रमित बंगुरको तन्तु, नाकमुखबाट निस्कने तरल पदार्थ र श्वासप्रश्वासबाट समेत सर्न सक्छ । केरलामा एउटी नर्समा निपाको संक्रमण भएको पाइएबाट यो मानिसबाट मानिसमा पनि सर्ने देखिएको छ ।

लक्षण र उपचार
निपा भाइरस संक्रमण भएको ५ देखि १४ दिनमा लक्षणहरू देखिन थाल्छन् । शुरूमा इन्फ्लुएन्जामा जस्तै ज्वरो आउने, टाउको, घाँटी दुख्ने र शरीर गल्ने हुन्छ । त्यसपछि बेहोश हुने हुन्छ ।

त्यसपछिको २४ देखि ४८ घन्टामा बिरामी कोमामा जान्छ र मृत्यु समेत हुनसक्छ । केही बिरामीमा कडा श्वासप्रश्वासका लक्षणहरू पनि देखिन्छन् । कसैको मस्तिष्कमा सुजन (इन्सेफ्लाइटिस) भएको हुन्छ । इन्सेफ्लाइटिस भएका बिरामीमध्ये करीब २० प्रतिशतमा लामो अवधिसम्म मस्तिष्क र स्नायुका जटिलताहरू बाँकी रहन्छन् । इन्सेफ्लाइटिस पुनः देखिन सक्छ ।

निपा भाइरसको संक्रमण भएकाको मृत्यु दर करीब ४० देखि ७५ प्रतिशत हो । यो दर घटी वा बढी हुने कुरा स्वास्थ्य सेवाको क्षमतामा भर पर्छ । पिसाब, रगत, र्‍याल वा नाकको सेक्रेशन र ढाडको पानीको प्रयोगशाला परीक्षणबाट निपा भाइरसको संक्रमण पत्ता लाग्छ । तर नेपालमा यो सुविधा छैन ।

निपा भाइरस विरुद्ध कुनै खोप पत्ता लागेको छैन नै, सँगै संक्रमित बिरामीको उपचारको लागि प्रभावकारी औषधि नै बन्न सकेको छैन । प्रयोगशालामा प्रभावकारी देखिएको रिबाभिरिन नामको औषधि मान्छेमा कति प्रभावकारी छ भन्ने यकिन भइसकेको छैन । तसर्थ बिरामीलाई अलग्गै सघन निगरानीमा राखेर अरूलाई रोग नसर्ने गरी ‘सपोर्टिभ’ उपचार गर्नुपर्छ । यस्तो उपचारमा रहेका बिरामीलाई भेट्न जाँदा पन्जा, गाउन, गगल्स, मास्क आदिको प्रयोग अनिवार्य हुन्छ ।

निपा भित्रिने सम्भावना
पत्ता लागेको १९ वर्षमा भारतको सिलिगुडीमा समेत निपा भाइरस देखिएको छ । उत्तरी केरलाको कोझ्किोडे जिल्लामा फैलिएको प्रकोपमा त १४ जनाको ज्यानै गइसकेको छ । अर्को कुरा, नेपालमा पनि टेरोपस प्रजातिको चमेरो पाइन्छ ।

तिनमा निपा भाइरस भएको प्रमाण अहिलेसम्म फेला नपरेको भए पनि नेपालमा हरेक वर्ष करीब ८ लाख ज्वरोका बिरामीको कारण नै पत्ता लाग्ने गरेको छैन । हामीकहाँ न त, निपा भाइरसको परीक्षण गर्ने प्रयोगशाला नै छ न देशभर कहाँ, कुन रोग बढिरहेको वा देखा परेको छ, थाहा पाउने ‘सर्भेलेन्स सिस्टम’ नै । यो परिस्थितिमा निपा भाइरसको संक्रमण भित्रिहाल्यो भने नियन्त्रण गर्न कठिन हुनेछ । 

‘उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु जाति’ भने झ्ैं हाम्रा प्रयासहरू निपा भित्रिन नदिने उपायमा केन्द्रित हुनुपर्छ । भित्रिहाले सामना गर्ने मजबूत पूर्व तयारी हुनुपर्छ ।

त्यसका लागि एकातिर तत्कालै राष्ट्रियस्तरमा रेस्पोन्स योजना बनाउनुपर्छ भने अर्कातिर दक्षिणी भारतबाट आउने नेपाली सहित सबैको नेपाल प्रवेश विन्दुमा नै स्वास्थ्य जाँच र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा निपा भाइरसको जाँच हुने व्यवस्था मिलाउने काम गर्नुपर्छ ।

हामीकहाँ अहिलेसम्म बिरामीलाई अलग्गै राखेर सघन उपचार गर्ने सुविधा पनि नभएकोले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ‘आइसोलेसन वार्ड’ स्थापना गरिहाल्नुपर्छ । सँगसँगै, निपा भाइरसबारे देशभर जनचेतना र स्वास्थ्यकर्मीहरूमा अभिमुखीकरण कार्यक्रम पनि संचालन गर्नुपर्छ ।

(डा. शर्मा स्वास्थ्य सेवा विभागमा वरिष्ठ स्वास्थ्य प्रशासकका रूपमा कार्यरत छन् ।)

प्रतिकृया दिनुहोस