ब्लगशनिवार, जेठ २६, २०७५

जस्तो छ त्यस्तै दिनु

हिमालखबर

भैरव रिसाल
गभर्नर कल्याणविक्रम अधिकारीले आफूले दिंदै नदिएको राजीनामा बारेको समाचार ‘जस्तो आएको छ त्यस्तै दिनु’ भनेका थिए ।

म राष्ट्रिय समाचार समिति (रासस) मै थिएँ । टेलिफोनको घण्टी आयो । हत्त न पत्त टेलिफोन उठाउने मेरो बानी, ‘नमस्कार ! म भैरव रिसाल’ भनें ।

फोन रहेछ राजदरबार प्रमुख संवाद सचिवालयको । ‘एउटा समाचार छ, टिपौं न’ भने । कल्याणविक्रम अधिकारीले नेपाल राष्ट्र ब्यांकको गभर्नर पदबाट राजीनामा दिएको छोटो समाचार रहेछ, मैले टिपें । 

फोन राखेपछि समाचार पढ्छु त भाषा मिल्दैन, कल्याणविक्रम जस्तो विशिष्ट मान्छेले दिएको राजीनामाको भाषा मिल्दैन । यो त भएन, एकपल्ट सोध्नु पर्‍यो, पर्‍यो । सोधेर के बिग्रिन्छ र ! छेमकुशलको शिष्टाचार पश्चात् ‘तपाईंले दिएको राजीनामाको भाषा मिलेन’ भन्दा कल्याणविक्रमले कत्ति पनि नहड्बडाई धैर्य साथ भने, “पढ्नोस् त कहाँ के मिलेन ?”

मैले त्यो खबर विस्तारै पढें । उनले उस्तै धैर्यसाथ सुनेर एकपल्ट फेरि पढ्न लगाए । मैले फेरि विस्तारै पढें । तत्पश्चात कल्याणविक्रमजीले ‘यस्तै हो, जस्तो छ त्यस्तै दिनुहोला’ भने । राजीनामा उनको, राससको मात्र किन टाउकोदुखाइ ! सरोकारवालाले नै मिलेको छ भनेपछि त्यस्तै समाचार दियौं ।

पछि थाहा भो, कल्याणविक्रम अधिकारीले गभर्नर पदबाट राजीनामा दिएको होइन रहेछ । बिचरा उनलाई मैले फोन गर्दासम्म पनि राजीनामाबारे थाहै रहेनछ । ठूलै कुरामा उनको राय नमिलेर ठाकठुक परेछ क्यार, दिंदै नदिएको राजीनामा स्वीकृत भएको खबर आयो राजदरबारबाट ।

कल्याणविक्रम अत्यन्तै भलाद्‌मी लाग्ने मलाई । अन्ततः उनी गभर्नर पदबाट हटे । न कतै गुनासो, न कतै उजुरी । ३० जेठ २०३६ मा गभर्नरमा नियुक्त उनी नदिएको राजीनामा स्वीकृत भएर २३ मंसीर २०४१ सालमा पदमुक्त भए ।

दरबारका पत्यारिला मान्छे
दरबारले अत्यन्तै विश्वास गरेका कल्याणविक्रम पछि किन दरबारकै आँखाका कसिंगर भए, बाहिर केही आएन । उनले दरबार राम्रै चिनेका थिए ।

कल्याणविक्रम अधिकारी

आफूले दिंदै नदिएको राजीनामा स्वीकृत भो भन्दै असम्मानित तरिकाले बर्खास्त गरिंदा कत्ति पनि प्रतिवाद नगर्ने धैर्य एवं क्षमाशील व्यक्तित्व ।

२०२४ सालतिर प्रधानमन्त्री सूर्यबहादुर थापाले मन्त्रिपरिषदमा कुनै विषयको ठाडो प्रस्ताव ल्याउन अह्राउँदा सचिव कल्याणविक्रम अधिकारीले ठाडै भनेछन्, “त्यो प्रस्ताव ल्याउन नियम कानूनले मिल्दैन ।”

थापालाई त्यो सह्य भएन, राजाको दर्शन पाउँदा जाहेर गरेछन्, “सचिवहरूले काममा सहयोग गर्दैनन्, असजिलो भो !”

राजाले ‘कुन सचिवले ?’ भनी सोद्धा थापाले भनेछन्, “कल्याणविक्रमले ।” ‘त्यसो भए तिमीलाई सजिलो पर्ने सचिव राख’ भनेर कल्याणविक्रमलाई दरबारको सचिवमा ल्याइएको रे ! कल्याणविक्रमका बाबु बोधविक्रमले राजा महेन्द्रलाई नेपाली भाषा पढाएका रहेछन् ।

त्यति बेलाका सचिवहरू कानून बमोजिम काम गर्ने रे ! मन्त्रीले भने पनि उनीहरू कानून विपरीत काम गर्दैनथे । मन्त्रीभन्दा कानून ठूलो भन्थे । सचिवहरूलाई राजाले नै भनेका थिए रे, “जसले भने पनि कानून विपरीत काम नगर्नु, दबाब आए मलाई भन्नु ।”

पछि कल्याणविक्रम अधिकारी राजाका प्रमुख सचिवसम्म भए । उनलाई दरबारले त्यसरी पत्याएको थियो ।

‘क्रेडिविलिटी’ घटाएको आरोप

एक पटक सिंहदरबारभित्रै जम्काभेट हुँदा कल्याणविक्रमले मलाई भने “तपाईंको न्यूजले राष्ट्र ब्यांकको ‘क्रेडिविलिटी’ घटाउने भो ।”

वीरगञ्जका नामूद साहु बृजलाल केडियाका छोरा शंकर केडियाले नेपाल ब्यांक लिमिटेडको वीरगञ्ज शाखामा अर्दाना–पुराना कोट, प्याण्ट, सूट जिन्सी धरौटी राखी करोड रुपैयाँ जति नै ऋण लगेको र म्यादभित्र नतिरेपछि लिलाम गर्न खोज्दा त्यो पोल खुलेको समाचार रासस मार्फत अघिल्लो दिन मात्रै दिएको थिएँ मैले ।

उच्च प्राथमिकता दिई छापियो त्यो समाचार । कल्याणविक्रमको आरोपमा मैले खासै प्रतिवाद गरिनँ । केही महीनापछि राष्ट्र ब्यांकको आर्थिक विवरण गोरखापत्र मा छापियो ।

फेरि सिंहदरबारमै जम्काभेट भो गभर्नर अधिकारीसँग । मैले प्वाक्क भनिहालें, “मेरो समाचारले त राष्ट्र ब्यांकको क्रेडिविलिटी घटाउनुको साटो झन् बढाएछ । हिजोको गोरखापत्र पढ्नु भो ?”

उनी मुसुमुसु हाँसे मात्र, केही बोलेनन् । म उपर लगाएको आरोप त्यसै खण्डन भयो । त्यसरी सभ्य र भलाद्‌मी लाग्थे कल्याणविक्रम अधिकारी मलाई । उनी फ्रान्सका लागि नेपाली राजदूत पनि भएका थिए ।

प्रतिकृया दिनुहोस