ब्लगशनिवार, जेठ २६, २०७५

पृथ्वीनारायणको अंग्रेज नीति

ज्ञानमणि नेपाल

अंग्रेजसँग सलको नीति मार्फत नेपाली भूमि बढाउन पृथ्वीनारायण शाहले आफ्ना काविल वकिलहरू खटाएका थिए ।

हाम्रो मातृभूमि नेपालको पूर्व इतिहासमा चाख राख्नेहरूका मनमा सधैं खेलिरहने एउटा कुरा के छ भने, पृथ्वीनारायण शाह भन्दा पहिले नेपाल कस्तो थियो ? उसबेला नेपाल टुक्रँदै गएको थियो । नेपाल नाम हराउला भने जस्तो भएको बेला सचेत देश हितैषी विद्वान्हरू चिन्तित थिए । महाकवि उदयानन्द अर्जेलले यो यसरी व्यक्त गरेका छन्– 

नेपाल पाटन भादगाउ भनि ता सल हुन्छ आपस् महाँ ।

नेपाल मुद्दत भो र कान्तिपुर भो नेपाल बुझ्न्या तहाँ ।।

त्यसबेलाका भुरेटाकुरे राजाहरूले आफ्नो राज्यको नाम बेग्लाबेग्लै राखिसकेका थिए । एउटा काठमाडौं आफूलाई नेपाल भन्दै थियो, अब त्यो पनि कान्तिपुर भन्न लाग्यो र नेपाल त स्थगित भयो अर्थात् कसैले पनि नेपाल भन्न छाडे । अब नेपाल नामै हराउने भयो भन्ने चिन्ताले महाकविले यो उद्गार निकालेका थिए ।

आखिर त्रिपन्न वटा राज्यमध्येको एउटा सानो र गरीब गोरखाका राजा यस देशलाई बढाएर एकताबद्ध पार्न अघि सरे । दुर्भाग्य भनौं वा संयोग, गोरखाबाट पृथ्वीनारायण शाहले एकीकरण अभियान चलाएकै बेला ब्रिटिशको इष्ट इण्डिया कम्पनीले भारतको बङ्गालमा राज्य स्थापना गरेर बेपारसँगै राजकाज चलाउन लाग्यो ।

पृथ्वीनारायणले पूर्वका सेन राज्य जितेर तराई प्रदेश पनि नेपालमा मिलाउँदा यो त सेन राजाका पालामै नवाफको शिकार खेल्ने भूमि हो भनेर ब्रिटिशले दाबी गर्दै बखेडा खडा गर्‍यो ।

त्यसरी मनोमालिन्य बढ्न थालेपछि पृथ्वीनारायणले आफ्ना काविल वकिल दीनानाथ उपाध्यायलाई लिखत प्रमाण के रहेछ हेरेर स्वीकार्नु परे स्वीकार्नु तर, जमीन चाहिं कदापि नछाड्नु भनेर कम्पनीका अधिकारीसँग वार्ता गर्न पठाए । सोही बमोजिम चातुर्यले कुरा गरेर शिकार खेल्न नदिने बरु हात्ती दिने सम्झाैता गरेर उनी फर्किए ।

पछि पश्चिमका बुटवल–स्युराज क्षेत्रमा ब्रिटिशसँग त्यस्तै बखेडा पर्दा पृथ्वीनारायणको जस्तो रणनीतिक कूटनीति खेलाउन नजान्ने शासकले सम्झाैता गर्न सकेनन् र बलवान वैरीसँग जुध्दा टिष्टादेखि सतलजसम्म पुगेको विशाल नेपाल मेची महाकालीमा खुम्चियो । अंग्रेजसँग बढेको कचिङ्गललाई पृथ्वीनारायण शाहले कसरी साम्य पारेका थिए भनी इतिहासका विद्यार्थीलाई अवगत होस् भन्नाका लागि मुन्सीखानाको पोका नं. १–३९ पत्रको सार यहाँ दिएको छु ।

“वि.सं. १८२७ मा दीनानाथ उपाध्याय पृथ्वीनारायणका आज्ञाले दरभङ्गा गई अंग्रेजसँग मकवानी राजाले दिए सह्रह १४ हातको हात्ती प्रति वर्ष बुझाउने शर्त गरी तराईको जगाबाट अंग्रेजको हक छुटाए । उनी अंग्रेजको उठ्न बाँकी रुपैयाँको कागज गरी फर्किएका थिए । ३ वर्ष पछि १८३० मा रकम चुक्ता गरी तमसुक च्यातियो ।

माझिकरात, लिम्बुवान नजिती पश्चिमका चौबीसीसँग लडाईं गर्दा पृष्ठ शुद्धी हुँदैन भनी पृथ्वीनारायणले विश्वेश्वर अज्र्याल (जोशी) लाई चौदण्डी पठाए । २ वर्ष उता बसी उनले उहाँका मानिस हात लिई तजविज सबै मिलाएकाले पूर्वको मुलुक चाँडै हात लाग्ने पाठ भयो । अभिमानसिंह बस्नेतले चौदण्डी जिते । राजा कर्ण सेन भागी पारितर्फ विजयपुर गए ।

भदौमा विजयपुर पनि दख्खल भयो । त्यसपछि कर्ण सेन रामपुरमा रहेका मिस्टर फिकक साहेबको शरण परे । उनले विजयपुरमा अंगे्रज कम्पनीलाई कोठी खोल्न दिन्छु, दश आना कम्पनीलाई दिई ६ आना खान पाए म खुशी छु, गोरखाको दखल छुटाई पाऊँ भनेपछि फिककले कलकत्ता बडा साहेबछेउ खबर पठाए ।

उताबाट जवाफ नआइपुग्दै कर्ण सेन खसे । उनका छोरा बालकै थिए । सं. १८३४ मा देवान दीनानाथ उपाध्याय वारन हेंस्टिग्ससँग कुरा मिलाउन कलकत्ता गएको बेला कर्ण सेनका छोरा पनि शीतलाको बेथाले परलोक भए ।

नागाहरू हरिद्वारबाट कम्पनी सरकारका अधीनस्त क्षेत्र चम्पारन, तिह्रौत, पुर्णिया, दिनाजपुरसम्म पसी लुटपाट गर्थे । नेपालको तरीमा समेत पसी फर्केर जान्थे । नेपालसँग मिली नागा हराउने व्यवस्था गर्नुपर्ने काउन्सिलमा ठहर हुँदा वारन हेंस्टिग्सले नेपालसँग दोस्ती गर्ने इच्छा लिएका थिए । उनले दीनानाथ मार्फत चिठी लेखी पठाए । त्यसपछि यताबाट फौज पठाएर नागा रोकियो । त्यसै वेलादेखि दोस्ती बढ्दै गयो ।

पछि मिर्जा अबदुल्लाह वेगले रौतहट जागीर खाइदियो भनी दीनानाथ हेंस्टिग्ससँग कुरा गर्न गए । त्यही बेला वनारसमा चेतसिंहले विद्रोह उठाए । चेतसिंहको निद्रोह दबाई विजयगढ अम्बल गर्न पहाडी फौजको मद्दत माग्नुपर्छ भन्ने सल्लाहले दीनानाथ मार्फत खबर नेपाल पठाइयो ।

नेपाल दरबारले मद्दत दिन मञ्जुर गरेर धौकलसिंह बस्नेत र पारथ भण्डारीका मातहतमा मकवानपुरको बाटो फौज पठायो । त्यत्तिकैमा विजयगढ दख्खल भएको खबर आउँदा नेपाली फौज फिर्ता भयो ।

केही मानिसले छपराका गिरि साहेब मार्फत नेपाली फौज चेतसिंहलाई मद्दत दिन आएको थियो, चेतसिंह खारेज भएपछि फर्किगयो भन्ने चुक्ली बडा साहेबलाई लाएका थिए । दीनानाथसँग भेट हुँदा बडा साहेबको चर्काचर्की पनि परेछ । मिर्जा अबदुल्लाह वेगले रौतहट खाएको उजुर दीनानाथले गरेका थिए त्यसपछि रौतहट नेपालको सरहद भयो ।”

प्रतिकृया दिनुहोस