आयोगद्वारा गंगामायाको स्वास्थ्य रक्षाका लागि सरकारलाई पत्राचार
राष्ट्रिय मानव अधिकार आयोगले न्यायका लागि सघर्षरत गंगामाया अधिकारीको जीवन रक्षाका लागि सरकारलाई पत्र लेखेको छ ।
छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानबिन र दोषीउपर कानूनी सजायको माग गर्दै अनशनरत गंगामाया अधिकारीको जीवन रक्षाका लागि संवेदनशील भई तत्काल कार्य प्रक्रिया अगाडि बढाउन भन्दै आयोगले सरकारलाई पत्र पठाएको हो ।
आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज २५ जेठमा जारी गरेको प्रेस विज्ञप्तिमा पटकपटकको अनशनका कारण स्वास्थ्य अवस्था अत्यन्त कमजोर भएकी गंगामाया १५ जेठदेखि वीर अस्पतालमा पुनःअनशन बस्दा झन नाजुक अवस्थामा पुगेकोप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले सर्वोच्च अदालतको आदेशानुसार दोषीउपर कानूनी कारबाही प्रक्रिया अगाडि बढाउन र निजको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई जीवन रक्षाका लागि तत्काल आवश्यक पहल गर्न आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको हो ।
साथै आरोपित व्यक्तिलाई कानूनी कारबाही गर्ने सम्बन्धमा के–कसो भएको छ, त्यसको सम्पूर्ण विवरण तीन दिनभित्र उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई समेत आजै पत्राचार गरेको छ ।
गंगामायाको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगका सदस्य प्रकाश वस्ती र गोविन्द शर्मा पौड्याल नेतृत्वको उच्चस्तरीय टोलीले आज पुनःवीर अस्पतालमा पुगेर अनुगमन गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।
अनुगमनका क्रममा गंगामायाको स्वास्थ्य अवस्था अत्यन्त कमजोर देखिएको शरीरका विभिन्न भाग सुन्निएको तथा एउटा खुट्टा नचल्ने अवस्थामा रहेको आयोगले जनाएको छ ।