प्रदेश- ४ को नीति तथा कार्यक्रमः टेलिभिजन र मोनोरेल सञ्चालन
प्रदेश–४ सरकारले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेश सभाको आज बसेको बैठकमा प्रदेश प्रमुख बाबुराम कुँवरले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रदेश सरकारको रेडियो र टेलिभिजन स्थापना गर्ने, हेलो मुख्यमन्त्री कार्यक्रम सञ्चालन गर्ने लगायतका योजना छन् ।
त्यस्तै फेवाताल, बेगनास ताल र रुपाताललाई जोड्न मोनोरेल सञ्चालन गर्ने, पोखरामा चक्रपथ निर्माण, चार वर्षभित्र प्रदेशमा २० लाख पर्यटक भित्र्याउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रमले उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणका योजनालाई प्राथमिकता दिएको छ । यस्ता योजना ल्याउने निजी समूहलाई पनि सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
एक स्थानीय तह एक उत्पादन, प्रत्येक स्थानीय तह र निर्वाचन क्षेत्रमा औद्योगिक ग्राम स्थापना, पूर्वाधार विकासका लागि भौतिक योजना ब्यांकको स्थापना, सबै खालका सिण्डिकेटको अन्त्य, प्रदेश विश्वविद्यालयको स्थापना लगायतका कार्यक्रम ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै, प्रदेश स्तरीय प्रज्ञा प्रतिष्ठान गठन गर्ने, प्रदेश प्रमुख स्वयंसेवा कार्यक्रम सञ्चालन, प्रदेश प्रहरी गठन र अनुसन्धान ब्यूरो स्थापना गर्ने लक्ष्य प्रदेश– ४ सरकारको छ ।
युवराज श्रेष्ठ, पोखरा