‘पोखरा विमानस्थलबारे भ्रामक टिप्पणी’
पोखरामा निर्माणाधिन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबारे भ्रामक टिप्पणी शुरु भएको भन्दै क्यानले दुख व्यक्त गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का निर्देशक प्रदीप अधिकारीले जारी गरेको विज्ञप्तिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ टोलीको प्रतिवेदनको हवाला दिएर ‘पोखरा विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि अयोग्य’ भन्ने कपोलकल्पित हल्ला चलाइएको भन्दै त्यसको पछि नलाग्न आग्रह गरेको छ ।
‘मन्त्रालयद्वारा गठित विज्ञ समूहको प्रतिवेदनलाई अनावश्यक तोडमोड गरी गरिएको टिकाटिप्पणीले विषयवस्तुको बुझाईमा फरक पर्न गएको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘समग्र नेपालका विमानस्थलहरुको आर्थिक सम्बन्धमा गरिएको अध्ययनका क्रममा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थलहरु दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरुको लगानी सुनिश्चितता एवं आत्मनिर्भरताका सन्दर्भमा ट्राफिक फोरकास्ट र हवाई यातायात लगायतका आधारमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि अन्य आयोजना भन्दा केही बढी समय लाग्ने अनुमान मात्र गरिएको हो ।”
विज्ञ समहले बुझाएको प्रतिवेदनमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा स–साना जेट विमान पनि सञ्चालन हुने व्यवसायिक सम्भावना कम भएकाले आत्मनिर्भर हुन कठिन रहेको उल्लेख छ ।
विज्ञटोलीको प्रतिवेदनको यही अंशलाई तोडमरोड गरी ‘अन्तर्राष्टिय उडान अयोग्य’ भनेर भ्रम फैलाएको प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।
यता, पोखरा क्षेत्रीय अन्तर्राष्टिय विमानस्थल निर्माण कार्य रोक्न खोजेको भन्दै नेपाली कांग्रेस कास्कीले विज्ञप्ति निकालेर विरोध जनाएको छ ।
यस्तै, पोखरा उद्योग वाणिज्य संघले आज शुक्रबार एक कार्यक्रमको आयोजना गरी विमानस्थल निर्माण कार्य नरोक्न चेतावनी दिएको छ ।
सन् २०२१ भित्रै निर्माण सम्पन्न गर्ने भनिएकोे विमानस्थलको डिजाइनसहित १२ प्रतिशत र भौतिक पूर्वाधार निर्माणतर्फ ८ प्रतिशत काम सकिएको आयोजना प्रमुख विनेश मुनाकर्मीले जानकारी दिए ।
“यो विमानस्थल निर्माण भएपछि २ सय सिट क्षमताको मझौला जहाज अवतरण गर्न सक्छ,” मुनाकर्मीले भने, “आयोजना निर्माणका क्रममा हालसम्म २ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।”
युवराज श्रेष्ठ, पोखरा