सर्पले डसेर वडा अध्यक्षको मृत्यु
मोरङको धनपालथान गाउँपालिका २ नम्बर वडाका अध्यक्ष बलिराम भगतको सर्पले डसेर हिजो २४ जेठमा मृत्यु भएको छ ।
खुल्ला दिसामुक्त अभियानबारे गाउँमा छलफल गरेर घर फर्कने क्रममा घर नजिकैको पोखरीमा उनलाई विषालु सर्पले डसेको थियो । प्रहरीका अनुसार शौच गरेर पोखरीको पानीले धुने क्रममा उनको देब्रे हातको औंलामा सर्पले डसेको थियो ।
उपचारका क्रममा उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो ।
पानीमा रहने विष नभएको सर्पले डसेको हुन सक्ने भन्दै भगतले शुरुमा गाउँमै झारफुक गर्न लगाएका थिए । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कबिन्द्र कार्कीका अनुसार, रिंगटा लाग्न थालेपछि उनलाई कोशी अञ्चल अस्पताल लगिएको थियो ।
त्यहाँ अचेत भएपछि उनलाई निजी अस्पतालमा लगिएको थियो ।
धनपालथानका प्रमुख प्रशासकीय अधिकृत बाबुराम शर्मा लुइँटेलका अनुसार, वडा अध्यक्ष भगतको शव हिजो नै अन्त्येष्टि गरिएको छ ।
धनपालथानमा तत्कालीन एमालेबाट वडा अध्यक्षमा निर्वाचित हुने भगत मात्रै हुन् ।
बैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमा फुटबल खेलबाट चिनिएका भगतलाई एमालेले वडा अध्यक्षमा उठाएको थियो ।
कमल रिमाल, विराटनगर