भारतीय ट्रकको ठक्करले सात घाइते
झापाको कन्काइ नगरपालिका ८ मा गए राति भारतीय नम्बरको ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिंदा सात जना घाइते भएका छन् ।
पूर्वतर्फ जाँदै गरेको आरजे १४ जीसी ८८३ नम्बरको ट्रकले विपरित दिशाबाट आउंदै गरेको मे १ ज २१६६ नम्बरको भ्यानलाई राती ९ः३० बजे ठक्कर दिएको थियो ।
दुर्घटनामा भ्यानका चालकसहित सात जना घाइते भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घाइतेहरुको विएण्डसी अस्पताल विर्तामोडमा उपचार भई रहेको छ ।
ट्रकसहित चालक भारत राजस्थानका अरुण खानलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
खैरो हेरोइन सहित दुई पक्राउ
भारतको जोगवनीबाट लागुऔषध खरिद गरी विराटनगर हुंदै धरान पुगेका दुई युवाको साथबाट प्रहरीले खैरो हेरोइन बरामद गरेको छ ।
सुनसरीको धरानबाट प्रहरीले ६.७ मिलीग्राम लागूऔषध खैरो हेरोइन र ११० थान नाइट्रोसन ट्याब्लेट साथमा राखेका झापा शिवसताक्षी–१ का बिजय राई र धरान– ८ का नविन खडकालाई पक्राउ गरेको छ ।
धरानको तिनकुनेमा बस चेकजाँच गर्दा यात्रीको साथबाट लागूऔषध हेरोइन फेला परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कमल रिमाल, विराटनगर