न्याय नपाउँदासम्म पानी पनि खान्नः गंगामाया अधिकारी
सत्याग्रही गंगामाया अधिकारीले न्याय नपाउँदासम्म पानी पनि नखाने बताएकी छन् ।
छोरा कृष्णप्रसाद हत्याका आरोपीलाई पक्राउ र अदालतमा विचाराधिन मुद्दा छिटो फैसला गर्न माग गर्दै अधिकारीले आमरण अनशन शुरु गरेको आज दश दिन भएको छ ।
१४ वर्षअघि आजकै दिन २४ जेठ २०६१ मा गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको माओवादीले हत्या गरेका थिए ।
आज वीर अस्पतालमा पत्रकार सम्मेलन गर्दै गंगामायाले ज्यान रहँदा सम्म न्यायको लागि लडिरहने बताएकी छन् ।
आमरण अनशनको दशौंदिनसम्म पनि गंगामायाले औषधि र सलाइन लिन मानेकी छैनन् ।
हत्या आरोपी छविलाल पौडेल, जानुका पौडेल, पर्शुराम पौडेल र भीष्मराज पौडेल विरुद्ध ३० चैत २०७० चितवन जिल्ला अदालतमा दर्ता मुद्दा विचाराधिन छ ।
राजनीतिक संरक्षणमा मुद्दा फैसलामा ढिलाई गरिएको गंगामायाले आरोप लगाएकी छन् ।
सर्वोच्च अदालतले ६ पुष २०७२ मा मूख्य आरोपी छविलाल पौडेललाई पुर्पुक्षका लागि थुनामा राख्न आदेश दिएपनि उनी पक्राउ परेका छैनन् ।
यसअघि अधिकारी दम्पत्तिले न्याय माग्दै आमरण अनशन बसेका थिए । अनशनको ३३४ औं दिनमा ६ असोज २०७१ मा गंगामायाका पति नन्दप्रसाद अधिकारीको निधन भएको थियो । नन्दप्रसादको अझै अन्तिम संस्कार हुन सकेको छैन ।
अनशन शुरु गरेको ६ वर्ष पुग्नलाग्दा समेत कुनै सरकारले न्याय नदिएको र दण्डहिनतालाई प्रश्रय दिएको गंगामायाको भनाइ छ ।