‘म्याच फिक्सिङ’ को आरोप लागेका फुटबलर सागर थापा लगायतलाई अदालतबाट सफाई
फुटबलमा खेल मिलेमतो (म्याचफिक्सिङ) को आरोप लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालगायत ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ।
थापा सहित पूर्व खेलाडीहरु विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई विशेष अदालतका न्यायाधीशहरू बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले दाबी नपुगेको भन्दै सफाइ दिएको हो।
२४ जेठमा विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, प्रमोद कुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले राज्यविरुद्धको अपराध मुद्दामा उनीहरुलाई सफाइको फैसला गरेको हो।
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ को आरोपमा तीन वर्षअघि पक्राउ परेका उनीहरु विरुद्ध २२ कात्तिक २०७२ मा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो। ।
उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका विशवकप छनोट, उमेर समूह, मैत्रीपूर्ण लगायतका १६ देखि २३ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको र मिलोमतो गरी खेल हारेबापत प्रति खेल ५ हजार अमेरिकी डलरसम्म लिने गरेको प्रहरीको आरोप थियो।