मुग्लिङ–नारायणगढ सडकमा यातायात सञ्चालनमा लगाइएको आंशिक रोक हट्यो
निर्माणका लागि मुग्लिङ—नारायणगढ सडक खण्डमा दैनिक ६ घण्टा सवारी साधन सञ्चालनमा लगाइएको रोक आज, २३ जेठबाट हटाइएको छ ।
सडक विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका प्रवक्ता मुक्ति गौतमले उक्त सडकखण्ड कालोपत्रे गर्ने काम अब ९ प्रतिशत मात्र बाँकी रहेको र सडक अवरुद्ध गर्नुपर्ने अवस्था नरहेको जानकारी दिए । “अब सडक बन्द गरेर नै काम गर्नुपर्ने अवस्था छैन,” उनले भने ।
मुग्लिङ—नारायणगढ सडक खण्ड विस्तारको कार्य चार वर्षअघि शुरु गरिएको थियो ।
गत १८ पुसबाट चितवनको मुगलिङदेखि जुगेडीसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो ।
निर्धारित समय भन्दा झण्डै १४ महिना ढिलो यो आयोजना सम्पन्न हुने क्रममा छ । यसबीच आयोजनाको म्याद चार पटक थपिएको थियो ।
यो सडकको ३३.३ किलोमिटर मध्ये ३२.७ किलोमिटर सम्म दोस्रो तहको कालोपत्रे भइसकेको छ भने १२.७ किलोमिटरमा तेस्रो तहको कालोपत्रेको काम सम्पन्न भइसकेको छ ।
सो सडक खण्डमा निर्माण गर्नु पर्ने १८ वटा पूल मध्ये ४ वटा पूलको मात्रै ठेक्का सम्झौता भएको छ ।
- कल्पना भट्टराई