उद्योगमा विद्युत् आपूर्तिका लागि अब उच्च क्षमताका प्रसारण लाइन
नेपाल विद्युत् प्राधिकरणले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने भएको छ ।
सञ्चालनमा रहेका औद्योगिक क्षेत्रमा हाल ३३ केभी प्रसारण लाइनबाट मात्रै विद्युत् आपूर्ति गरिरहेको प्राधिकरणले अब १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत् दिन लागेको हो ।
प्राधिकरणले यसका लागि अहिले औद्योगिक तथा विशेष आर्थिक क्षेत्र स्थापना हुने सम्भावित सुनसरी, सिराहा, धनुषा, मकवानपुर, चितवन, नवलपरासी, रुपन्देही लगायतका जिल्लामा उच्च क्षमताका प्रसारण लाइन तथा सब स्टेसन निर्माण गरिरहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको निर्देशनमा प्राधिकरणले औद्योगिक क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान गर्न काम शुरु गरेको हो ।
यसका लागि सब स्टेसनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सब स्टेसन बनाउने लगायतका काम भइरहेको छ ।
सरकारले पनि सिमेन्ट उद्योगमा लगानी आकर्षित गर्न उद्योगसम्म सडक र विद्युत् आपूर्तिका लागि पूर्वाधार बनाउने घोषणा गरिसकेको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसी लगायतका जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएपछि आन्तरिक उत्पादनबाटै विद्युत् आपूर्ति पुग्ने र उत्पादित विद्युत् खपत गर्न नसकी खेर जान नदिन योजनावद्ध रुपमा प्राधिकरण लागेको छ ।
अहिले प्रसारण तथा सब स्टेसनको क्षमताले नधान्ने भएकाले प्राधिकरणले मागअनुसार उद्योगलाई विद्युत् दिन सकिरहेको छैन ।