बीपी राजमार्गमा ठूला गाडी नचलाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले बीपी राजमार्गमा ठूला गाडी नचलाउन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले ठूला गाडीलाई इजाजत दिने जेठ १३ गतेको मन्त्रीस्तरीय निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
यस विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चले सरकारलाई आदेश समेत दिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १३ जेठमा काठमाडौंदेखि वर्दिबाससम्मको बीपी राजमार्गमा ३२ सिट क्षमताका गाडी र १६ टन वजन भएका मालवाहक सवारी गुडाउने इजाजत (रुट परमिट) दिएको थियो।
यातायात व्यवस्था विभागबाट २०७३ असार १० गते जारी भएको परिपत्रमा पनि उक्त सडकको स्तरोन्नती र विस्तार नभएसम्म ठूला गाडीलाई इजाजत नदिने भनी निर्णय गरेको भन्दै अहिले सडक विस्तार नै नभइ इजाजत दिँदा जनताको जीउधनको असुरक्षा हुने आदेशमा जनाइएको छ ।