रिपोर्टसोमवार, जेठ २१, २०७५

एसीसीए: अन्तर्राष्ट्रिय अवसर

मस्त केसी

विश्वबजारमा रोजगारीको अवसर, स्वदेशमै पनि बढ्दो मागका कारण एसीसीए अध्ययन विद्यार्थी र अभिभावक दुवैको साझा रोजाइ बनेको छ ।

द ब्रिटिश कलेज काठमाडौं । तस्वीरः गोपेन राई

विश्वका १७८ देशमा एउटै पाठ्यक्रम अनुसार पढाइ हुने एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) को आकर्षण नेपालमा पनि बढ्दो छ । सन् १९०४ मा बेलायतबाट शुरू भएको एसीसीएको परीक्षा नेपालमा पहिलो पटक सन् १९७७ (२०३४) मा भएको थियो ।

ब्रिटिश काउन्सिलले लिने यो परीक्षामा सहभागी हुने परीक्षार्थी त्यसबेला एक जना मात्रै थिए– सुरेशराज शर्मा । त्यसपछि करीब १५ वर्षसम्म रोकिएर शुरू भए पनि नियमित हुन नसकेको एसीसीए परीक्षा सन् २००४ देखि भने नेपालमा नियमित भइरहेको एसीसीएका नेपाल प्रमुख रविन कटवाल बताउँछन् । 

नेपालमा सन् २००४ (वि.सं. २०६१) मा नेशनल कलेज अफ एकाउन्टेन्सी (एनसीए) ले एसीसीए कक्षा शुरू गरेको हो, त्यसअघिसम्म एसीसीए डिग्री लिन चाहने नेपाली विद्यार्थी स्वाध्ययन गरेरै ब्रिटिश काउन्सिलले लिने परीक्षामा सहभागी हुन्थे ।

अहिले एनसीएका साथै द ब्रिटिश कलेज, सीसीए स्कूल अफ एकाउन्टेन्सी लगायतका संस्थाहरूले एसीसीए पढाइरहेका छन् । एसीसीए परीक्षामा नेपालबाट सहभागी हुने विद्यार्थी संख्या वार्षिक करीब ५०० पुगेको छ ।

विश्वभर एसीसीएको पाठ्यक्रम, शिक्षण संस्थाहरूको अनुगमन, परीक्षा सञ्चालन लगायतका सम्पूर्ण व्यवस्थापन ब्रिटिश काउन्सिलले गर्दै आएको छ । एउटै परीक्षा प्रणाली, पाठ्यक्रम, शिक्षण विधि र अन्तर्राष्ट्रिय मान्यता लगायतका कारणले एसीसीएको आकर्षण बढिरहेको एसीसीएका नेपाल प्रमुख कटवाल बताउँछन् ।

“एसीसीएका सदस्यहरूले पाएको अवसर र ख्यातिकै कारण यसको माग बढ्दो छ”, उनी भन्छन् । नेपाल जस्ता विकासशील राष्ट्रहरूमा अर्थतन्त्र थप चलायमान भएसँगै एसीसीएको आवश्यकता झन् बढ्दै जाने उनको भनाइ छ ।

आर्थिक गतिविधिको व्यवस्थित सञ्चालनका लागि दक्ष जनशक्तिको माग दिनहुँ बढिरहेको छ । ब्यांक तथा वित्तीय र गैरसरकारी संस्थाहरूको बढ्दो सङ्ख्यासँगै यी संस्थाहरूको आर्थिक कारोबार व्यवस्थापनका लागि एसीसीएको माग पनि बढ्दो छ ।

वित्तीय अनुशासन कमजोर भएका संस्थालाई चुस्त बनाउन र गतिशील वित्तीय प्रणालीको स्थापनामा एसीसीएको भूमिका महत्वपूर्ण मानिन्छ ।  साथै संस्थालाई आर्थिक रूपमा सही दिशा प्रदान गर्ने काममा एसीसीएको अहम् भूमिका रहन्छ ।

मार्चमा सम्पन्न परीक्षाअन्तर्गत पेपर–एफ ९ मा विश्वमै दोस्रो स्थान हाँसिल गर्न सफल सोनिका महर्जन ।

एसीसीए ग्लोबलडटकमका अनुसार विश्व बजारमा हाल एसीसीएका एक लाख ८८ हजार सदस्य छन् भने चार लाख ८० हजार विद्यार्थीले यो कोर्स पढिरहेका छन् । जसमध्ये नेपालमा आव २०७४/७५ मा ५२६ नेपाली विद्यार्थी एसीसीएमा भर्ना भएका छन् । नेपालमा विद्यार्थीको संख्या वार्षिक बढिरहेको एसीसीए ग्लोबलको तथ्यांकले देखाउँछ । नेपालमा हालसम्म ३९५ जनाले एसीसीएको सदस्यता पाइसकेका छन् ।

सीसीए स्कूल अफ एकाउन्टेन्सीका निर्देशक सुशील कुँवरको भनाइमा देश–विदेशमा रोजगारीको राम्रो अवसर र प्रतिष्ठाका कारण विद्यार्थीको रोजाइमा एसीसीए पर्न थालेको हो । “व्यावहारिक पाठ्यक्रम र व्यावसायिक जीवनमा आवश्यक ज्ञानले विद्यार्थीको झुकाव यसतर्फ बढेको छ”, उनी भन्छन् ।

द ब्रिटिश कलेजका एसीसीए कार्यक्रम प्रबन्धक अनन्त गौतम व्यावहारिक पाठ्यक्रम भएकै कारण एसीसीएले व्यावसायिक जीवनमा सफल हुन उत्प्रेरकको भूमिका खेल्ने बताउँछन् । प

ढ्दै गर्दा काम गर्न सकिने, पाठ्यक्रमले नै इन्टर्नसिप अनिवार्य गरेको, पढाइ सकिएपछि खाली बस्नु नपर्ने, आकर्षक तलब र अन्तर्राष्ट्रिय बजारमा समेत बढ्दो मागका कारण एसीसीएप्रति विद्यार्थी लोभिएको एसीसीए कलेज सञ्चालकहरूको भनाइ छ । देशले आर्थिक विकासमा फड्को मार्न थालेपछि व्यापार, उद्योग सबैतिर एसीसीएको माग झ्नै बढ्ने एसीसीएका नेपाल प्रमुख कटवालको तर्क छ ।

व्यावसायिक पाठ्यक्रम
एसीसीए विश्वविद्यालयको प्राज्ञिक उपाधि नभई व्यावसायिक डिग्री मात्रै हो । नलेज, स्किल्स र प्रोफेसनल गरी तीन तह भएको एसीसीए कोर्स पूरा गर्न तीनदेखि चार वर्ष लाग्छ । विद्यार्थीको लगनशीलता र मिहिनेतले कोर्स पूरा गर्ने समयावधि फरक पर्ने कलेज सञ्चालकहरू बताउँछन् ।

पढाइ सँगसँगै अवसर र विश्वबजारका लागि प्रतिस्पर्धी जनशक्ति उत्पादन हुने भएकोले एसीसीए नेपाली विद्यार्थीको रोजाइमा पर्न थालेको छ।” 
रविन कटवाल
एसीसीए, नेपाल प्रमुख

नलेज तहमा भर्ना हुन १२ कक्षा पास गरेको हुनुपर्छ । स्किल्समा सीधै भर्ना हुन स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ । एसएलसी उत्तीर्ण विद्यार्थीले पनि एकवर्षे ‘फाउन्डेसन इन एकाउन्टेन्सी’ कोर्स पूरा गरेपछि एसीसीए पढ्न पाउने व्यवस्था छ । पढाउने संस्था अनुसार शुल्क फरक–फरक भए पनि रु.५ लाखदेखि रु.६ लाखको लागतमा एसीसीए कोर्स पूरा गर्न सकिन्छ ।

“एसीसीएको कोर्स पूरा गरेपछि ब्यांक, कर्पोरेट, औद्योगिक लगायतका विविध क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमै एक्सपोज हुन सकिन्छ।” 

अनन्त गौतम
कार्यक्रम प्रबन्धक
द ब्रिटिश कलेज, काठमाडौं

एसीसीए सदस्यको मान्यता पाउन १४ पेपर पास गर्नुपर्ने प्रावधान भए पनि स्नातक र स्नातकोत्तर तह पूरा गरेर एसीसीए पढ्नेहरूको हकमा भने ११ पेपर मात्रै दिए पुग्छ । यसमा विद्यार्थीले इच्छानुसार पेपर छनोट गरेर पढ्न पाउँछन् ।

द ब्रिटिश कलेजका एसीसीए कार्यक्रम प्रबन्धक गौतम विद्यार्थीलाई एकपटकमा कति वटा विषयको परीक्षा दिने भन्ने छूट दिइएको बताउँछन् । पेपर छनोट गरी परीक्षा दिन पाइने र सैद्धान्तिक भन्दा व्यावहारिक पाटो बढी भएकोले एसीसीए पढ्न व्यावहारिक रूपमै सजिलो रहेको उनको दाबी छ ।

एनसीए कलेज अफ म्यानेजमेन्टका अध्यक्ष सुरेश पण्डित शिक्षण विधिसँगै परीक्षा प्रणाली पनि लचिलो भएको बताउँछन् । उनी भन्छन्, “वर्षमा चार वटा परीक्षा हुने भएकाले विद्यार्थीमा मिहिनेत गर्ने बानीको विकास हुन्छ ।” एसीसीएका लागि विश्वका १४९ देशमा ४६६ वटा परीक्षा केन्द्र तोकिएका छन् । विद्यार्थीले घरमै बसेर पढ्न पाउने, आवश्यकता अनुसार कक्षा लिने विकल्प भएको कारणले पनि एसीसीए पढ्न सजिलो रहेको सीसीए स्कूल अफ एकाउन्टेन्सीका निर्देशक कुँवर बताउँछन् ।

प्रशस्त सम्भावना
ब्यांक, बीमा, होटल, कर्पोरेट हाउस, सरकारी निकाय, निजी कम्पनी आदिको व्यवस्थापकीय नेतृत्व र विज्ञका रूपमा एसीसीए कोर्स उत्तीर्ण गर्नेहरू नै प्राथमिकतामा पर्न थालेका छन् । विशेषगरी अर्थ, व्यवस्थापन वा लेखा क्षेत्रमा काम गर्न चाहनेहरूका लागि एसीसीएले व्यावहारिक दक्षता प्रदान गर्छ ।

“व्यावहारिक पाठ्यक्रम र व्यावसायिक जीवनमा आवश्यक ज्ञानले विद्यार्थीको झुकाव यसतर्फ बढेको छ ।”
सुशील कुँवर
निर्देशक
सीसीए स्कूल अफ एकाउन्टेन्सी

त्यसैले पनि ब्यांक तथा वित्तीय संस्था, सरकारी र गैरसरकारी निकायमा एसीसीए नियुक्त गर्ने प्रचलन बढेको ब्रिटिश कलेजका गौतमको भनाइ छ । उनी भन्छन्, “एसीसीएले संस्थाको आर्थिक गतिविधि मजबूत बनाउनेदेखि मुलुककै अर्थ–व्यवस्थालाई पनि चलायमान बनाउँछ ।”

विदेशमा आकर्षक तलब र सम्मान पाउने थोरै काममध्ये एसीसीए पनि हो । विश्वव्यापी मान्यताको कोर्स भएका कारण यसको कार्यक्षेत्र पनि फराकिलो छ । सीसीए स्कूलका कुँवर भन्छन्, “एसीसीए सदस्य भइसकेपछि जुनसुकै देश पुगे पनि आकर्षक तलब पाउन गाह्रो पर्दैन ।”

विदेशमा मात्र हैन पछिल्लो समय स्वदेशकै ब्यांक तथा वित्तीय संस्था, बहुराष्ट्रिय कम्पनी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले एसीसीए योग्यता खोज्ने गरेको एसीसीए नेपाल प्रमुख कटवाल बताउँछन् । बजार आफैं सिर्जना गर्न पनि एसीसीएका सदस्यहरू सक्षम भएको उनको दाबी छ ।

एसीसीए पढेकाहरूले ब्यांक तथा वित्तीय संस्था, व्यवस्थापकीय नेतृत्व र विज्ञका रूपमा अवसर पाउँदै आएका छन् । ग्लोबल मार्केट र असीमित सम्भावना एसीसीएको मुख्य आकर्षण भएको एनसीए कलेज अफ म्यानेजमेन्टका अध्यक्ष पण्डित बताउँछन् ।

उनी भन्छन्, “संस्थालाई गति दिन र प्रणाली सुधार्न एसीसीएको माग बढिरहेको छ ।” जागिर खान नचाहनेहरूले आफ्नै फर्म खोलेर पनि राम्रो आम्दानी गर्न सक्ने उनी बताउँछन् ।

प्रतिकृया दिनुहोस