पाल्पाको माथागढीमा खानेपानी अभाव, बसाइँ सर्दै स्थानीय
खानेपानीको चरम अभावका कारण माथागढी गाउँपालिका–५ गोठादी घारीगाउँका करीब ३०० परिवार बसाइँ सरेका छन् ।
खानेपानी अभावकै कारण ५०० घरपरिवार रहेको बस्ती पातलिंदै गएको छ । घारीगाउँका २०० परिवार एक गाग्री पानीका लागि करीब दुई घण्टाको दूरीमा रहेको धारामा जाने गरेका छन् ।
उज्यालो हुन नपाउँदै गाग्री बोकेर पानीका लागि हिड्नुपर्ने भएकोले अन्य काम समेत गर्न नपाएको घारीगाउँकी पार्वती सारूले बताइन् । स्थानीय जनप्रतिनिधिले समेत समस्या समाधानमा चासो नदिएको उनको गुनासो छ ।
खानेपानीको मुहान गाउँभन्दा दुई किलोमीटर तल हुँदा लिफ्टिङ प्रणालीबाट पानी तान्नुपर्ने गाउँपालिका अध्यक्ष सन्तोष थापाले बताए ।
कम लगानीमा खानेपानीको व्यवस्थापन गर्न सम्भव नभएकाले आगामी आर्थिक वर्षबाट कामको थालनी गरिने अध्यक्ष थापाले बताए ।
गाउँपालिकाले रु २० लाख रकम विनियोजन गरेर पानीको मुख्य स्रोत नजिकै ट्याङ्की निर्माण गरिएको थापाले जानकारी दिए । रासस