टिप्पणीशनिवार, जेठ १९, २०७५

कस्तो बनाउने रानीपोखरी ?

वसन्त महर्जन

विविध कारणले परिवर्तित हुन पुगेका सम्पदाका स्वरुपहरूलाई सकभर पुरानै शैलीमा फर्काउने प्रयास हुनुपर्छ ।

तीन वर्षअघिको महाभूकम्पले भत्काएको रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर कसरी र कुन शैलीमा बनाउने भन्ने सम्बन्धमा उठेको विवाद अझै जारी छ । यसबीचमा बनाउने र भत्काउने गर्दा करोडौं रकम सकिएको छ ।

परम्परागत नेपाली संस्कृति र सम्पदालाई कसरी हेर्नुपर्छ भन्नेबारे एउटा निश्चित मापदण्ड वा दृष्टिकोणको विकास भइनसकेको र जिम्मेवारमध्येकै कतिपयमा संस्कृति तथा सम्पदाका सम्बन्धमा आधारभूत चेत नै नभएको अवस्थामा यस्तो अन्योल र सुस्तता आउनु अस्वाभाविक होइन ।

रानीपोखरीको बालगोपालेश्वर मन्दिर अहिले तेस्रो पटक बनाउन लागिएको संरचना हो । राजा प्रताप मल्लको समयमा निर्माण हुँदा यो शिखर शैलीमा रहेको कुरा १८४५ को ५ फेबु्रअरीदेखि मार्चसम्म नेपाल भ्रमण गरेका प्रुसिया (जर्मन साम्राज्य निर्माणअघिको राज्य) का राजकुमार वाल्डेमरका साथमा आएका कलाकारहरूको पेन्टिङबाट थाहा हुन्छ । जंगबहादुरको समयमा भत्किएको यो मन्दिरको पुनर्निर्माण गुम्बज आकारमा गरियो ।

जुद्धशमशेरको शासनकालमा पुनः भत्किएको यो मन्दिरलाई अलि फरक पारेर गुम्बज शैलीमै पुनर्निर्माण गरियो । २०७२ वैशाखको भूकम्पपछिको पुनर्निर्माणमा कंक्रिट प्रयोग गरिंदा सम्पदाप्रेमीहरूले विरोध गरेपछि काम रोकिएको छ ।

मन्दिर पुनर्निर्माणका लागि गठित अध्ययन समितिले प्रताप मल्लले बनाएकै स्वरुपमा बनाउनुपर्ने भनी दिएको सुझव दूरदर्शी छ । यो सुझवबाट सम्पदाप्रेमी, सम्पदाविद्, स्थानीयवासी सबै उत्साहित भएको पाइन्छ । तर, पुरातत्व विभागले मौलिक शैलीमा नभएर तीन वर्षअघि भत्किएको गुम्बज शैलीमै हुनुपर्छ भन्ने अडान राखेपछि हलो अड्किन पुगेको छ ।

मन्दिर वास्तुकलाको सन्दर्भमा नेपालको मौलिकता वा पहिचान भन्नु तले (प्यागोडा) शैली हो । भारतमा ईस्वीको प्रथम शताब्दीमा देखा परेको शिखर शैली नेपाली मन्दिर वास्तुकलामा पनि गज्जबले विकास भएर मौलिक भनेजस्तै घुलमिल भइसकेको छ । प्रताप मल्लको समयमा निर्माण भएका शिखर शैलीका मन्दिरहरूमा रानीपोखरीबीचको बालगोपालेश्वर लगायत अन्य थुप्रै मन्दिर प्रसिद्ध छन् ।

स्वयम्भूमा यिनै मल्ल राजाद्वारा निर्माण गराएको प्रतापपुर र अनन्तपुर मन्दिर अहिले स्वयम्भूको ‘आइकन’ भइसकेका छन् । यस अर्थमा प्यागोडा र शिखर शैलीलाई नेपाली कलाको पहिचान भन्दा हुन्छ । नेपालमा मुख्यतः मुख्तियार भीमसेन थापाको समयमा भारतको राजस्थानबाट आयातित गुम्बज शैलीमा नेपालको प्राचीनता झ्ल्किंदैन ।

रानीपोखरीस्थित मन्दिरलाई मौलिक शैलीमा बनाउन सम्भव नभएको भन्ने पुरातत्व विभागको तर्क आफैंमा निकै कमजोर छ । अध्ययन समितिले यो संभव भएको अडान लिएको छ भने महानगरपालिका पनि यसमा बजेट राख्न राजी छ ।

शिखर शैलीमा मन्दिर बनाउन चाहिने सामग्रीहरू मात्र नभएर यो शैलीमा काम गर्ने कलाकारहरू पनि नेपालमा प्रशस्तै छन् । सर्वसाधारणदेखि सम्पदाप्रेमीहरू शिखर शैलीमा बनाउँदा अझ् राम्रो हुने भनी उत्साहित छन् भने पुरातत्व विभागलाई मात्र यसमा किन आपत्ति भनेर बुझिनसक्नु छ ।

पुनर्निर्माण गर्दा पछिल्लो कालमा जस्तो देखियो त्यस्तै बनाउनुपर्छ भन्ने मान्यता पुरातत्व विभागको हो भने यो मान्यता रानीपोखरीमा मात्रै किन भनेर प्रश्न गर्ने ठाउँ छ ।

यसअघि हनुमानढोका दरबार परिसरमा अवस्थित दुईतले महाविष्णु मन्दिरको पुनर्निर्माण हुँदा एक तला थपेर तीनतले बनाइयो । पुरानो फोटोग्राफीबाट यसको मौलिक स्वरुप तीन तलाको थियो भन्ने थाहा पाएर गौरव जोगाउने काम गरिएको बुझन सकिन्छ ।

सुर्खेतको काँक्रेविहारको जंगलमा छरपस्टिएको ढुंगा र जग मात्र देखेको आधारमा शिखर शैलीको मन्दिर बनाउन उत्साहित हुने पुरातत्व विभागले प्रुसियाका कलाकारले बनाएको पेन्टिङलाई आधार बनाउन नसकिने भनी दिने गरेको जवाफले उसको दोहोरो मापदण्ड मात्र देखाइरहेको छ ।

रानीपोखरी र त्यसबीचको मन्दिरको परिचय दिंदा प्रताप मल्लको नाम जोड्ने हो भने त्यसको संरचना उनले जसरी, जुन शैलीमा बनाएका थिए, त्यस्तै हुनुपर्छ । परिवर्तित शैलीलाई पुनः मौलिक स्वरुपमा नै फर्काउने अवसर पनि यही हो । पछिल्लो स्वरुपको संरचना बनाउने जोरजुलुमलाई इतिहास बङ्ग्याउने दुस्प्रयास नै भन्न सकिन्छ ।

प्रतिकृया दिनुहोस