समाचारशनिवार, जेठ १९, २०७५

बढ्यो वैवाहिक अंगीकृत नागरिकता बनाउनेको संख्या

हिमालखबर

दीपक ज्ञवाली

जिप्रकाको तथ्यांक अनुसार नेपाली नागरिकसँग विवाह गरेका विदेशीलाई दिइने वैवाहिक अंगीकृत नागरिकता बनाउनेको संख्या एक वर्षमा दोब्बरले बढेको देखिन्छ ।

नागरिकताको प्रमाणपत्र लिन आउने सर्वसाधारणलाई माइकबाट बोलाउँदै जिप्रका रूपन्देहीका कर्मचारी । तस्वीरः दीपक ज्ञवाली

गएको वर्ष रूपन्देही जिल्ला प्रशासन कार्यालय (जिप्रका) बाट नागरिकता लिनेको संख्या ५६.३१ प्रतिशतले बढ्यो । वैवाहिक अंगीकृत नागरिकता लिनेहरू त ९१.३३ प्रतिशतले बढे । 

२०७३ सालमा १२ हजार ५०० जनाले नागरिकता लिएकोमा २०७४ मा यो संख्या बढेर १९ हजार ५३९ पुग्यो । जिप्रका रूपन्देहीका अनुसार गएको फागुन महीनामा मात्रै एक हजार १७८ जनाले नागरिकता लिए भने एक वर्षअघिको सोही महीनामा यो संख्या ७९० मात्रै थियो ।

संविधान जारी भएसँगै शुरू भएको मधेश आन्दोलनमा ठूलो मुद्दा बनेको थियो वैवाहिक अंगीकृत नागरिकता । तर, जिप्रकाको तथ्यांक अनुसार नेपाली नागरिकसँग विवाह गरेका विदेशीलाई दिइने वैवाहिक अंगीकृत नागरिकता बनाउनेको संख्या एक वर्षमा दोब्बरले बढेको देखिन्छ ।

रूपन्देहीबाट २०७३ सालमा एक हजार ४३१ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएकोमा २०७४ मा यो संख्या करीब दोब्बरले बढेर दुई हजार ७३८ पुगेको छ ।

निश्चित समुदायका व्यक्तिले नागरिकता प्राप्त गर्न कठिन भएको भन्ने जस्ता गुनासाहरू पनि रूपन्देहीमा सुनिएका छैनन् अचेल । संवैधानिक र कानूनी प्रावधान अनुसार सबैलाई सहजै नागरिकता वितरण गरिरहेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर बताउँछन् ।

किन चल्यो होला त नागरिकता लिने यो लहर ? जनतामा बढ्दै गएको कानूनी चेतनालाई यसको प्रमुख कारण ठान्छन् प्रमुख जिल्ला अधिकारी राना मगर । गएको वर्ष सम्पन्न तीन तहका निर्वाचनमा मतदानका लागि पनि धेरैले नागरिकता बनाएको प्रशासकीय अधिकृत विष्णु ज्ञवाली बताउँछन् ।

“स्थानीय सरकारको गठनपछि जनप्रतिनिधिले नागरिकताको महत्व बुझए, चेतना बढ्यो र संविधानको कार्यान्वयनसँगै राज्यप्रतिको अपनत्व पनि बढ्यो, त्यसैले पनि नागरिकता लिनेको संख्या ह्वात्तै बढेको हुनुपर्छ”, उनी भन्छन् ।

जिल्ला प्रशासन कार्यालय भैरहवा, इलाका प्रशासन कार्यालय बुटवल र स्थानीय प्रशासन कार्यालय मर्चवारबाट समेत गरी रूपन्देहीमा दैनिक १५० देखि २०० जनासम्मले नागरिकता बनाइरहेका छन् जसमध्ये जिल्ला प्रशासन कार्यालय भैरहवाबाट मात्रै नागरिकता लिनेको संख्या दैनिक ८० देखि १०० सम्म हुन्छ ।

ज्ञवालीका अनुसार तराई–मधेशमा यसअघि वृद्ध उमेरका कैयौं महिलाहरू नागरिकता नलिएरै बसेका थिए यसपटक त्यो वर्गले पनि नागरिकता लिइरहेको छ ।

नागरिकताको यो लहर चलिरहँदा पनि आमाको नामबाट नागरिकता वितरणमा भने सहजता नरहेको प्रजिअ राना मगर बताउँछन् । आमाको नामबाट नागरिकता प्रदान गर्न सकिने संवैधानिक व्यवस्था भए पनि त्यस अनुसार ऐन संशोधन नहुँदा अप्ठ्यारो भइरहेको उनको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस