ब्लगशनिवार, जेठ १९, २०७५

केशरबहादुरको करामत

हिमालखबर

भैरव रिसाल

केशरबहादुर केसी ठूला विद्वान् थिए, यो निर्विवाद विषय हो । उनीबारेका अनेकौं रोचक प्रसंग छन् ।

सिंहदरबारको बेलायती बैठकमा आयोजित रात्रिभोजमा राजा महेन्द्रलाई केशरबहादुर केसीले ठाडै सोधेछन्, “ट्वाइलेट कता छ ?” त्यतिबेलासम्म नेपाली उच्च घरानियाँ वर्गमा समेत ‘रेस्टरुम’ शब्द पसिसकेको थिएन । सर्वसाधारणमा त पाइखाना, चर्पी शब्द नै चलनचल्तीमा थिए ।

त्यस्तो समयमा नेपाल लोकसेवा आयोगका अध्यक्ष केशरबहादुर केसीले पनि ‘रेस्टरुम’ नभनी ‘ट्वाइलेट’ भने, तर कसलाई सोध्ने, कसलाई नसोध्ने होश पुर्‍याएनन् । त्यो पनि विना सम्बोधन ठाडै राजालाई सोध्दा केसी मदिराले मस्त भएका रहेछन् । अनि राजाले उनलाई ट्वाइलेट देखाइदिन कसैलाई संकेत गरेछन् । 

केसी निवृत्त भएर आए अनि फेरि मदिरा धोके । पार्टी सकियो, सबै आ–आफ्नो घर गए । भोलिपल्ट बिहान डिल्लीबजार टोलतिर साबिक झैं घुम्दै, बुरुसमा मञ्जन हाल्दै दाँत माझ्दै गर्दा रेडियोले ‘लोकसेवा आयोगका अध्यक्ष केशरबहादुर केसीले श्री ५ का जुनाफमा चढाउनुभएको राजीनामा स्वीकृत गरिबक्सेको’ समाचार फुकेछ ।

त्यो सुनेर केसीले भनेछन्, “धोकाउने बेलामा टिल्ल पार्ने अनि रक्सीको नसामा केही सोध्दा दिंदै नदिएको राजीनामा स्वीकृत भो भनी जागिर चेट् गर्ने ? कहीं नभएको डेरे... !”

राजा महेन्द्रप्रति आक्रोश पोख्न वा उनलाई अपहेलित गरेर आफ्नो मन शान्त पार्नु पर्दा मानिसहरु ‘डेरे’ शब्द प्रयोग गर्थे । राजा महेन्द्रको एउटा आँखो डेरो थियो । केसी २४ चैत २०२३ मा लोकसेवा आयोगको अध्यक्षमा मनोनीत र ३ माघ २०२६ मा बर्खास्त भएछन् ।

माओलाई हरिया दाँत कसरी देखाउनु !

पहिलोपल्ट जनवादी गणतन्त्र चीनका निम्ति आवासीय राजदूत नियुक्त भएका केसीलाई दाँतमा सुन मोर्ने सोख रहेछ । हङकङमा दाँत सुनले ढाकेर त्यो खर्च सरकारी हिसाबमा पेश गरेछन् ।

अब परराष्ट्र मन्त्रालय मात्र होइन सिंहदरबारै हल्लियो । नियमले मिल्दै मिल्दैन, तर केशरबहादुर केसीले राजदूतको हैसियतमा पेश गरेको हिसाब बेरुजु गर्ने कसको पिताम ? सरकारले फस्र्योट गर्न नसकेपछि मुद्दा राजा महेन्द्रकहाँ पुग्यो, अरू विकल्प छँदै थिएन ।

“तिमीले साँच्चै सुनको दाँत हालेको हो ?”, महेन्द्रले केसीलाई सोधेछन् । “हो सरकार, मैले दाँत सुनले मोरेको सदर साँचो हो । मलाई लाग्यो, नेपालमा साग खाएर हरिया भएका दाँत चीनका त्यत्रा महान् नेता चेयरम्यान माओत्सेतुङलाई कसरी देखाउनु ? आफ्नो देश नेपालको, नेपाली आमाको र मौसुफ सरकारको पनि इज्जत राख्न सुनको दाँत हालेको हुँ । अन्यथा भएको भए माफी पाउँ सरकार !” केसीले बिन्ती बिसाएछन् ।

राजा महेन्द्र फिस्स हाँसे रे ! सुनको दाँतको बेरुजु मिनाहा भएछ । यति रमाइला थिए केशरबहादुर केसी ।

मु.से. चन्द्रबहादुर थापा
चन्द्रबहादुर थापा २००७ सालताका राणाशासनका कर्मठ कर्णेल थिए र थिए पुलिस हाकिम पनि । उनी प्रजातान्त्रिक आन्दोलन दमन गर्न कठोर भन्दा कठोर कारबाही गर्न कहिल्यै पछि नहट्ने । क्रान्ति पश्चात सरकारले उनलाई नै जर्नेलमा पदोन्नति गरी अर्को दायित्व सुम्पेछ ।

नेपाली कांग्रेसका केही नेताले गृहमन्त्री रहेका पार्टी नेता विश्वेश्वरप्रसाद कोइरालालाई ‘दमनकारी त्यही चन्द्रबहादुरलाई जर्नेली मान र सचिवको समेत जिम्मेवारी किन’ भनी सोधेछन् । “उतिबेला राणाको नुन खाएको थियो उसैको सोझाे गथ्र्यो, अहिले यो सरकारको नुन खाएका छन् यतैको सोझाे गर्छन्” विश्वेश्वरले जवाफ दिए रे, “चन्द्रबहादुरभन्दा सिपालु अरू प्रशासक छैनन् भने त्यो ठाउँमा उनी नभएर को हुन्छ त ?”

अलिपछि उनी क्याबिनेट सेक्रेटरी (मुख्यसचिव) भए । त्यतिबेला केशरबहादुर केसी शिक्षा सचिव थिए । कामको सिलसिलामा मुख्यसचिवले शिक्षा सचिवलाई बोलाएछन् । खबर लिएर गएका मान्छेलाई केसीले भने रे, “म एउटा अति जरूरी काममा छु सकिनासाथ आउँछु भनिदिनु त्यो मुसेलाई ।”

खबर बोक्नेले सरासर फर्केर ‘हजुरलाई त मुसेका मुसे भन्नुभो’ भनेपछि चन्द्रबहादुरले राजा महेन्द्रसँग गुनासो गरेछन् । महेन्द्रले केशरबहादुरलाई चन्द्रबहादुरकै अगाडि राखेर सोधेछन्, “मुसे भनेको हो ?” “मुख्य सेक्रेटरीलाई छोटकरीमा मुसे भनेको हुँ सरकार !” केशरबहादुरले यति भनेपछि झगडा सामसुम ।

केशरबहादुर केसी त्यस्तोसम्म गर्ने । उनी नेपालको संस्कृति–संस्कारबारे समेत विदेशी विद्वानहरूसँग धुरन्धर बहस गरेर आफ्नो तर्क पुष्टि गर्ने विद्वान थिए । बाहुनलाई गुरु भन्ने उनी मलाई पनि गुरु नै भन्थे, पत्रकारको हैसियतमा कुरा गर्न जाँदा । हामी पत्रकारसँग सधैं शिष्ट एवम् मर्यादित देखिने केशरबहादुर केसी राजासँग चाहिं खै किन हो बेलाबेला ठट्यौलो व्यवहार गर्थे ।

प्रतिकृया दिनुहोस