बजेटबाट आक्रोशित प्रदेश– ४ का मुख्यमन्त्री गुरुङ
प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले १५ जेठमा संघीय सरकारले ल्याएको बजेट एकात्मक ढाँचामा भएको आरोप लगाएका छन् ।
बजेटबारे प्रतिक्रिया दिंदै मुख्यमन्त्री गुरुङले भने, “मुलुक संघात्मक ढाँचामा गइसकेका बेला सरकारले एकात्मक पाराको बजेट ल्याएको छ ।”
नेताहरुले सिँहदरबारको अधिकार गाउँ गाउँमा भन्दै भाषण गरे पनि गाउँलाई स्रोत, साधन र जनशक्ति दिन आनाकानी गरेको बताए । संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई विश्वास नै नगरेको उनको आरोप छ ।
प्रदेश सरकारलाई बिनियोजित बजेट निकै कम भएको टिप्पणी गर्दै उनले भने, “सातवटा प्रदेश सफल भए केपी ओली पनि सफल हुने हो, सबै काम आफै गर्छु भन्दा फेल भइन्छ, धेरै लोभ गर्दा विलाप हुन्छ ।”
सरकारले सबै भन्दा कम अनुदान प्रदेश ४ लाई दिएको भन्दै आक्रोश व्यक्त गर्दै उनले सबै सुचाकाङ्कमा अगाडी रहेर विकास गरेको प्रदेशलाई पुरस्कृत गनुपर्नेमा दण्डित गरिएको आरोप लगाए ।
“जनताको समस्या ब्युरोक्र्याटले नबुझ्ने रहेछ,” अर्थमन्त्री युवराज खतिवडाप्रति लक्षित गर्दै उनले भने ।
अन्नपूर्ण गाउँपालिका– १०, घान्दु्रकमा आयोजित तेस्रो चरणको अन्नपूर्ण सेन्चुरी महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले बजेटमा साँसदलाई रकम बाँडेको बारे पनि खरो आलोचना गरेका छन् । उनले भने, “अँझै पनि व्यक्तिलाई पैसा बाँड्ने ? साँसदलाई ४ करोड दिएर लोकतन्त्र सुदृढ हुँदैन । ”
युवराज श्रेष्ठ, पोखरा