ऊर्जा दशक घोषणा, ऊर्जाका लागि ८३ अर्ब बजेट
सरकारले २०७५ सालदेखि २०८५ को दश वर्षलाई ऊर्जा दशक घोषणा गर्दै ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटमा ऊर्जा दशक घोषणा गर्दै सो क्षेत्रमा रु ८३ अर्ब बजेट विनियोजन गरिएको छ ।
यस्तै बुटवल गोरखपुर ४०० केभी प्रसारण लाइनको निर्माण गर्ने र उत्तर दक्षिण नदी करिडोरमा उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने लक्ष्य बजेटमा राखिएको छ ।
बजेटमा निजी क्षेत्रलाई समेत सहभागी गराई प्रसारण लाइन निर्माण गर्ने भनिएको छ ।
यसैगरी ग्रामीण क्षेत्रको विद्युतीकरणलाई प्रमुख प्राथमकितामा राख्दै सरकारले त्यसका लागि रु पाँच अर्बको बजेट व्यवस्था गरेको छ ।
सरकारले शहरी क्षेत्रमा स्माट मिटर प्रणाली लागू गर्ने लक्ष्य समेत राखेको छ । सरकारले तीन वर्षमा मुलुकको सबै स्थानमा विद्युत् सेवा उपलब्ध गराउने र पाँच वर्षमा मागेजति विद्युत् उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
हुलाक वचत ब्याङ्क खारेज
सरकारले हुलाक वचत ब्याङ्क खारेज गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा उक्त ब्याङ्क खारेज गरी ब्याङ्कमा रहेको वचत राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरिने भएको छ ।