ब्लगमंगलवार, जेठ १५, २०७५

चे, गणेशजी र सिपाही

कनकमणि दीक्षित

यी तीन आइकन चित्रले नेपाल नियालिरहेछन्, जति हामी यिनलाई हेरिरहेछौं ।

आजकाल भाडाका गाडी, विशेषगरी माइक्रोमा मुख्यतः तीन ‘आइकन’ अर्थात् प्रतीकात्मक कलाकृति देख्न पाइन्छ । एउटा गणेश भगवानको स्टाइलाइज् प्रस्तुति, अर्को त्यसै गरी प्रस्तुत गोरखाली सिपाहीको शिर र अर्को क्रान्तिकारी नेता चे गेभाराको आइकन ।

पक्कै पनि फरक फरक माइक्रोमा यीमध्ये कुनै एक आइकन रंगाइनुले चालक या मालिकको आस्था केही हदसम्म झल्काउँछ, भनौं वाम–क्रान्तिकारी, वा धार्मिक–सांस्कृतिक वा सामरिक–राष्ट्रिय पहिचान । कतै भने मन पराएर यसै टाँसिएको पनि हुन सक्छ ।

जे होस्, दिनानुदिन सडक–राजमार्गमा कुदिरहने माइक्रो र अन्य सवारी साधनमा यत्रतत्र देखिने यी आइकन कसरी यहाँ आइपुगे, के हो यिनको उत्पत्ति ? यत्ति जान्न पाए आफ्नै ‘सांस्कृतिक उत्थान’ हुन्छ भन्ने लागेर थोरै अध्ययन गरें ।

सिपाहीको कलाकृतिबारे प्रष्ट पार्ने पुस्तक फेला पारें, ‘द खुकुरी ब्रेभ्स्’, जसमा गोरखाली सेनाको इतिहास, वर्तमान र चित्रहरूको गहन प्रस्तुति पाएँ ।

पुरानो गोरखाली सेना, बेलायती गुर्खा र भारतीय गोरखा रेजिमेन्टका अनेकन् रोचक पाटाहरू किताबमा प्रस्तुत छन् । मेरा आँखा भने एउटा सानो ‘बक्स आइटम’ मा अडिन पुगे, जसमा हामीले जान्न खोजेको सिपाहीको आकारबारे प्रष्ट पारिएको छ ।

किताबका लेखक–प्रस्तोताको बयान जरुरी छ । ज्योति थापा मणि भारतीय नागरिक हुन्, उनको ६ पुस्ता गोरखाली सैन्य सेवामा रह्यो । शुरुमा अमरसिंह थापाको फौजको हिस्सा भएर १८औं शताब्दीमा लडे, १९औं शताब्दीमा बेलायती–भारतीय गुर्खा रेजिमेन्टमा भर्ती भए, अनि २०–२१औं शताब्दीमा भारतीय गोरखा रेजिमेन्टमा ।

पूरै समय हिमाञ्चल प्रदेशको धर्मशाला शहरलाई थातथलो बनाएको थापा खानदानकी छोरी ज्योतिले पुस्तकमा भन्छिन्, ‘हर बखत म गोरखाली पदचाप पछ्याइरहेकी हुन्छु ।’

उनको अनुसन्धानले देखायो यो गोरखा आइकन ४/३ गोरखा राइफल्समा भर्ती भएका राइफलम्यान पदमबहादुर थापाद्वारा सन् १९९८ मा रचित रहेछ । कलाकृतिमा चासो राख्ने उनले अलमोडाको कबाज ग्राउण्डमा ठूलो आकारको यो आइकनको रंग पोतेका रहेछन् ।

लेफ्टनेन्ट कर्णेल जेके कचरीलाई यो औधी मन पर्‍यो र उनले ४/३ गोरखा राइफल्सको लोगोको रुपमा अपनाए । ज्योतिका अनुसार पछि गएर भारतको ६६औं स्वतन्त्रता दिवसको अवसरमा पूरै भारतीय गोरखा रेजिमेन्टको एम्ब्लेम् बन्न पुग्यो यो ।

ज्योतिले पुस्तकमा ठूलो त्रासदी पनि उजागर गरेकी छन् । भर्ती नं. ५२४७४३७ राइफलम्यान पदमबहादुर थापाले कारगिल युद्धको दौरान सन् १९९९ मा वीरगति प्राप्त गरे । यसको अर्थ यति प्रभावशाली कलाकृति डिजाइन गरेको एक वर्षमा उनको मरण भयो ।

अर्जेन्टिनामा जन्मेर विश्वकै क्रान्तिकारी मार्क्सवादी नेताको रुपमा परिचित अर्नेस्टो ‘चे’ गेभाराको मुहार पेश गर्ने आइकनको उत्पत्ति पनि चाखलाग्दो छ ।

चे आफ्नो थातथलो छाडेर क्युवा, अफ्रिका र अन्यत्र क्रान्ति उछाल्न हिंडेको र त्यसै क्रममा सन् १९६७ मा ४० वर्ष पनि नपुग्दै बोलिभियामा मारिएका थिए । उनी कुशल चिकित्सक, कूटनीतिज्ञ, राजनीतिज्ञ र सैन्य योजनाकार पनि थिए ।

क्यूवाको राजधानी हवानामा ५ मार्च १९६० मा आयोजित एउटा श्रद्धाञ्जली सभामा चे, फिडेल क्यास्ट्रो, जाँ पा सात्र र सिमोन् दे वुभार पनि सम्मिलित थिए । समारोहमा आफ्नो मिनोल्टा क्यामेराबाट तस्वीर खिच्दै थिए, क्यूबाली फोटोग्राफर अल्बेर्टो कोर्दा ।

उनले एउटा तस्वीर खिचे, जसमा गम्भीर मुद्राका चे क्यामेरालाई नभई पर क्षितिजतिर हेरिरहेका छन् । जगल्टे कपाल यत्रतत्र छरिएको र टोपीमा एउटा तारा टल्केको छ ।

कोर्दाको यो तस्वीरले राम्रो स्वागत पायो, दक्षिण अमेरिका र यूरोपका पत्रपत्रिका र पर्चामा वाम क्रान्तिकारीको प्रतीकको रुपमा यो पोट्रेट पेश भयो। फोटोग्राफलाई कलाकृतिको रुपमा प्रस्तुत गर्ने काम भने आयरल्याण्डका कलाकार जिम फित्जर्‍याल्डले गरे ।

चे गेभाराबाट अति नै प्रभावित फित्जर्‍याल्डले तस्वीर खिचिएको ७ वर्षपछि (चे जीवितै छँदै) यो आइकन तयार पारेका हुन् । हाम्रा माइक्रो बसहरूमा चेको यो आकार श्याम–श्वेत छ, तर शुरुको कलाकृतिमा रातो पृष्ठभूमिमा कालो रेखाचित्र छ भने ‘बेरे’ टोपीको तारा चाहिं पहेंलो रंगमा छ ।

यो आइकन रचिएको दशकौंको दौरानमा यसले अनेकन् प्रयोग बेहोर्नुपर्‍यो । सर्वत्रका क्रान्तिकारीको प्रतीक भइहाल्यो यो आइकन, तर मार्क्सवाद ‘म’ नजान्नेले पनि यसको कलात्मकताको कारण यो मन पराए ।

यो इमेज राजनीतिक प्रोपोगाण्डाको साधनदेखि युवाको लागि ‘पपुलर’ कल्चरको प्रतीकसम्म बन्न पुग्यो । नाम चलेका यूरोपेली फेशन गृहहरूले समेत चित्रलाई प्रयोग गरेका छन् ।

फोटोग्राफर कोर्दा र कलाकार फित्जर्‍याल्डले कहिल्यै पनि आफ्नो तस्वीर वा चित्रको लागि रोयल्टी मागेनन्, किनकि दुवैको भनाइमा चेको स्वच्छ क्रान्तिकारिताको प्रचार होस् उनीहरू चाहन्थे । तस्वीर र आइकनको नाजायज बजारमुखी प्रयोग भने नहोस् भन्थे दुवै ।

हाम्रा सडकमा जताततै नेपाली जनताले अर्नेस्टो ‘चे’ गेभारालाई हेरिरहेछन् । चेले पनि हाम्रा पहाड, पहरा, खोंच र समथर नियालिरहेछन् । यसैगरी गोरखाली सिपाहीले पनि माइक्रोबस साइड र ऐनाबाट हामीलाई हेरिरहेछन् ।

यसैगरी हेरिरहेछन् श्री गणेशजी, तर उनको यो आइकन कसले, कहिले तयार पारे, जान्न सकिएन ।

प्रतिकृया दिनुहोस