खेलकुदसोमवार, जेठ १४, २०७५

सन्दीपको सफलताले बढेको साख जोगाउने चुनौती

हिमालखबर

नवीन अर्याल

आईपीएलमा चम्केका सन्दीप लामिछानेको सफलताले क्रिकेट दुनियाँमा ह्वात्तै बढेको नेपाली क्रिकेटको साख जोगाउँदै अघि बढ्नु अहिलेको अहम् चुनौती हो ।

चार महीनाअघि इन्डियन प्रिमियर लिग (आईपीएल) को दशौं संस्करणमा नेपाली क्रिकेटर सन्दीप लामिछाने छनोट हुँदा ठूलै तरंग पैदा भयो ।

अस्ट्रेलियाका चर्चित अलराउन्डर ग्लेन मेक्सवेल र डानियल क्रिस्चियन, दक्षिण अफ्रिकाका खतरनाक बलर कागिसो राबाडा र अलराउन्डर क्रिस मोरिस, न्युजिल्यान्डका तीव्र बलर ट्रेन्ट बोल्ट र ब्याट्सम्यान कोलिन मुनरो तथा इङ्गल्याण्डका लियाम प्लङ्केट लगायतलाई भित्र्याउन महँगो मूल्य तिरेको दिल्ली डेयरडेबिल्सका निम्ति नेपाली लेग स्पिनर सन्दीपलाई किन्नु आफैंमा ठूलो चुनौती थियो । यी सबै विदेशी खेलाडीका लागि दिल्लीले करीब २८ करोड भारतीय रुपैयाँ खर्चेको थियो ।

दिल्लीको टीममा भारतीय टेस्ट टोलीका अनुभवी लेग स्पिनर अमित मिश्रा पहिलेदेखि थिए, जसले अघिल्ला संस्करणहरूमा तीन पल्ट ह्याट्रिक गर्दै आईपीएलमा आफ्नो विशेषज्ञता सावित गरिसकेका थिए ।

यस्तो अवस्थामा दिल्लीले एसोसिएट राष्ट्रको १७ वर्षे किशोरमाथि जुवा खेलेको थियो । ‘अक्सन’ मार्फत सन्दीपलाई दिल्लीले २० लाख भारुमा सकार्दा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाइसकेको थिएन ।

तर, सन्दीपले दिल्ली डेयरडेबिल्सको भरोसा मर्न दिएनन् । क्रिकेट दुनियाँका नामुद खेलाडीको छायाँमा परेर शुरुआती ११ खेलमा मौका नपाएका सन्दीपलाई दिल्लीले ‘प्लेअफ’ बाट बाहिरिएपछि अन्तिम तीन खेलमा लगातार मौका दियो । यी तीनै खेलमा उनले जुन स्तरको बलिङ गरे, त्यसबाट विश्व क्रिकेट नै कायल बनेको छ ।

आईपीएलमा सन्दीपको ‘डेब्यु’ नै विश्वका दुई नामुद ब्याट्सम्यान– भारतका विराट कोहली र दक्षिण अफ्रिकाका एबी डिभिलियर्सको टिम ‘रोयल च्यालेञ्जर्स बेङ्लोर’ विरुद्ध थियो । यो खेलमा दिल्लीले उनलाई पहिलो ओभर बलिङ गर्न उतार्‍यो ।

भारतबाट २५ टेस्ट खेलिसकेका अनुभवी विकेटकिपर ब्याट्सम्यान पार्थिव पटेललाई सन्दीपले आफ्नो ‘डेब्यु’ खेलमै एलबीडब्लु धरापमा पारे । कोहली र डिभिलियर्सलाई खुलेर खेल्न नदिएका उनले चार ओभरमा २५ रन खर्चेर एक विकेट लिए ।

सन्दीपको डेब्यु खेलमा दिल्ली पाँच विकेटले पराजित भयो । तर, दोस्रो र तेस्रो खेलमा भारतीय क्रिकेटका हस्ती महेन्द्रसिंह धोनीको ‘चेन्नई सुपर किङ्स’ माथि ३४ रनको जित दिलाउन र गत वर्षको आईपीएल विजेता मुम्बई इन्डियन्सलाई ‘प्लेअफ’ बाट बाहिर राख्न उनले गरेको बलिङको चर्चा अझै सेलाएको छैन ।

चेन्नई विरूद्धको खेलमा उनले आईपीएलमा दोस्रो सर्वाधिक रन बनाउने भारतीय ब्याट्सम्यान सुरेश रैनाको विकेट लिएका थिए । मुम्बईलाई ११ रनले पराजित गर्दा सन्दीपले प्रारम्भिक ब्याट्सम्यान सूर्यकुमार यादव, वेस्टइन्डिजका चर्चित अलराउण्डर किरोन पोलार्ड र आईपीएलका राम्रा ब्याट्सम्यान क्रुनाल पाण्ड्याको विकेट लिए । सन्दीपले नखेलेका शुरुआती ११ खेलमध्ये तीन खेलमा मात्र जित हात पार्दा दिल्ली प्लेअफबाट बाहिरिइसकेको थियो । तर, उनले खेलेका पछिल्ला तीनमध्ये दुई खेल दिल्लीले जितेपछि प्रशिक्षक रिकी पोन्टिङमाथि समेत प्रश्न उठ्यो ।

तीन खेलमा पाँच विकेट लिंदै दिल्ली डेयरडेभिल्सबाट यो सिजन सर्वाधिक विकेट लिने पाँचौं बलर बने, उनी । सन्दीपको चामत्कारिक क्षमता देखेरै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेटको ‘मक्का’ मानिने बेलायतको लर्ड्स मैदानमा आगामी १७ जेठमा आयोजना हुने वेस्टइन्डिज विरूद्धको खेलका लागि विश्व–११ टोलीमा चयन गरेको छ ।

आईपीएलमा सन्दीपको सफलतापछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा नेपाली क्रिकेटको चर्चा चुलिएको छ । के सन्दीपको एक्लो सफलताले नेपाली क्रिकेटको कायापलट होला ?

नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) दुई वर्षदेखि आईसीसीको निलम्बनमा छ । घरेलु क्रिकेटको संरचना लोप हुँदै गइरहेको छ । क्रिकेट प्रतियोगिता ‘क्यालेन्डर’ का आधारमा नभई राष्ट्रिय खेलकुद परिषद्को तजबिजमा हुनथालेका छन् । केही प्रतिभाशाली खेलाडी पलायन भइसकेका छन्, कति पलायनको तयारीमा छन् । क्रिकेटमा सरकारको लगानी शून्यप्रायः छ । कीर्तिपुरस्थित त्रिवि (त्रिभुवन विश्वविद्यालय) को एउटा मैदानले देशको समग्र क्रिकेट धानेको छ ।

यस्तो अवस्थामा सन्दीपको एक्लो सफलतासँग नेपाली क्रिकेटको भविष्य कसरी जोडिएला ? आईपीएल खेलेर फर्किने क्रममा सन्दीप स्वयम्ले भने, “नेपाली क्रिकेट अगाडि बढ्न सामूहिक प्रयासको खाँचो छ ।” तर, सरकार चाहिं प्रतियोगिता जितेर फर्केका खेलाडीलाई नगद पुरस्कार घोषणा गरेपछि आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने मानसिकतामै छ, अहिले पनि ।

गर्विलो विगत, चुकेको अवसर
सन्दीपभन्दा पहिले पनि धेरै खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो प्रतिभा देखाइसकेका छन् । महबुब आलमको नाममा एकदिवसीय क्रिकेटमा १० विकेट लिएको इतिहास कायमै छ । २००८ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ मा मोजाम्बिक विरूद्ध १० विकेट लिएर उनले विश्व क्रिकेटको ध्यान आफूतर्फ खिचेका थिए ।

सन् २००३ मा भारतको मुम्बईस्थित क्रिकेट क्लब अफ इन्डिया (सीसीए) मा विश्वचर्चित प्रशिक्षकहरूसँग तीन महीना प्रशिक्षण लिंदा भेट्रान लेग स्पिनर राजकुमार प्रधानले सबैलाई चकित पारे । अस्ट्रेलियाका प्रशिक्षक स्वर्गीय बब सिम्पसन, भारतका पूर्व विकेटकिपर किरण मोरे, नारी कन्ट्रेक्टर, हनुमन्त सिंह सहभागी प्रशिक्षणमा राजकुमारको बलिङ हेरेपछि मोरेले भनेका थिए, “यो बलर भारतमा जन्मेको भए उहिल्यै टेस्ट टीममा परिसक्थ्यो ।”

राजकुमार प्रधान

राजकुमारसँगै त्यो प्रशिक्षणमा सहभागी अफ स्पिनर सञ्जम रेग्मी सम्झन्छन्, “राजकुमार (दाइ) को बलिङबाट सिम्सन यति प्रभावित थिए कि उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का पूर्वअध्यक्ष राजसिंह डुंगरपुरलाई फोन गरेर बलिङ हेर्न बोलाएका थिए ।” रणजी ट्रफी खेल्ने मुम्बई टीमका कप्तान शिशिर हत्कण्डीले त राजकुमारलाई मुम्बईमा बसेर क्रिकेट खेल्ने सल्लाह नै दिएका थिए ।

राजकुमारलाई अस्ट्रेलियाली टीमले सन् २००४ मा भारत भ्रमण गर्दा ‘नेट–प्राक्टिस’ का लागि बोलाइएको थियो । सन् २००५ मा अस्ट्रेलियाको न्यू साउथ वेल्समा व्यावसायिक क्रिकेट खेल्ने फिजीका तत्कालीन कप्तान वाइसेक टुकाहाले पनि राजकुमारलाई अस्ट्रेलियामा व्यावसायिक क्रिकेट खेल्न निम्तो गरेका थिए ।

२००५ को ‘आईसीसी क्रिकेट वल्र्डकप क्वालिफाइङ सिरिज डिभिजन–२’ मा फिजी विरुद्ध राजकुमारले १० ओभरमा १७ रन मात्र खर्चेपछि टुकाहा उनको बलिङको ‘फ्यान’ भएका थिए । तर, अस्ट्रेलियाबाट आवश्यक कागजपत्र आउँदा पनि क्यानले उनलाई विदेशमा खेल्ने अनुमति दिएन । कमजोर आर्थिक पृष्ठभूमिले गर्दा खेलाडी जीवन छाडेर वैदेशिक रोजगारका लागि दुईपल्ट कतार पुगेका राजकुमार अहिले जापानमा छन् ।

नेपाली क्रिकेटमा प्रतिभाको कमी छैन भन्ने अहिलेका कप्तान पारस खड्कालाई हेरे पुग्छ । क्रिकेटको भविष्यलाई लिएर कुनै बेला प्रश्न उठ्थ्यो– ‘विनोद दासपछि नेपाली क्रिकेट के होला ?’ तर, सीमित स्रोत र साधनका बीच पनि पारसले आफ्नो नेतृत्वमा नेपाली क्रिकेटलाई बेग्लै उँचाइमा पु¥याए । त्यसमा पारसका समकालीन अरु थुप्रै खेलाडीको समेत योगदान छ । तर, खेलाडीको मनोभावना अनुरुप नेपाली क्रिकेट अघि बढेन ।

क्यान पदाधिकारीहरूबीचको विवादका कारण नेपाली क्रिकेटले दुई–दुई पटक विश्व क्रिकेटमा छलाङ मार्ने अवसर गुमायो । सन् १९९८ मा भारतको ‘जी टेलिभिजन’ नेपाललाई क्रिकेटको ‘न्युट्रल भेन्यू’ बनाउन २५ वर्षे योजना बोकेर नेपाल आएको थियो । तर, नेपाली क्रिकेटका दुई हस्ती– तत्कालीन अध्यक्ष जयकुमारनाथ शाह र महासचिव विनयराज पाण्डेको जुँगाको लडाइँमा त्यो योजना तुहियो ।

कारगिल युद्धपछि भारत–पाकिस्तानबीच बढ्दो तनाव कम गर्न दुवै देशले क्रिकेट कूटनीतिको अवधारणा अघि सारेका थिए । दुवैलाई स्वीकार्य हुनसक्ने न्युट्रल–भेन्यू र हावापानी राम्रो भएको नेपालमा लगानी गर्न जीटीभी लालायित थियो । तर, कीर्तिपुरस्थित त्रिवि मैदानमा स्टेडियम बनाउनेबारे क्यानमा सहमति नजुट्दा जीटीभी फक्र्यो । पछि भारत–पाकिस्तानबीचको क्रिकेट प्रतियोगिता तान्जानियामा सर्‍यो ।

सन् २००२ मा आईसीसीले नेपालमा एशियाकै ठूलो क्षेत्रीय क्रिकेट एकेडेमी निर्माणको प्रस्ताव अघि सा¥यो । त्यसबेला पनि शाह र पाण्डेबीच क्रिकेट मैदान बनाउने ठाउँलाई लिएर विवाद भएपछि आईसीसी पछि हट्यो । पाण्डे राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य–सचिव विनोदशंकर पालिखेसँग मिलेर पोखरामा एकेडेमी बनाउन चाहन्थे भने शाह काठमाडौंको मूलपानीमा रंगशाला बनाउन चाहन्थे ।

एशियाका सबै देशका प्रतिभालाई एकै ठाउँ राखेर अभ्यास गराउने आईसीसीको त्यो योजना तुहिंदा नेपाली खेलाडीले आफ्नै घरमा विदेशी प्रतिभासँग अभ्यास गर्ने अवसर सधैंलाई गुमाए ।

हामीले हेर्दाहेर्दै...
२००३ सालमै नेपाल क्रिकेट संघ (क्यान) स्थापना हुनुले नेपालमा क्रिकेट खेल कति पुरानो हो भन्ने छर्लङ्ग हुन्छ । नेपालले प्रजातन्त्र स्थापना हुनुपूर्व २००६ सालमै भारतको कोलकातामा भएको पहिलो एशियन क्रिकेट कन्फ्रेन्समा भाग लिएको थियो ।

एशियामा क्रिकेटको विकास र विस्तारका विषयमा भएको कन्फ्रेन्समा नेपाल सहित भारत, पाकिस्तान, बर्मा, सिलोन (श्रीलंका) र मलेसिया सहभागी थिए । त्यसबेला बाङ्लादेश छुट्टै देश बनेको थिएन भने अफगानिस्तानमा क्रिकेटको अस्तित्व नै भेटिंदैनथ्यो । २००७ सालपछि नेपालमा दुईदिने क्रिकेट प्रतियोगिता– विष्णु ट्रफी र एकदिने प्रतियोगिता– मदन मेमोरियल शिल्ड आयोजना हुँदा भारत, पाकिस्तान र श्रीलंकामा मात्र व्यवस्थित क्रिकेट खेलिन्थ्यो ।

अहिले बाङ्लादेश र अफगानिस्तानले टेस्ट राष्ट्रको मान्यता पाइसकेका छन् । सन् १९९६ मा नेपाल विरूद्ध एसीसी ट्रफीको पहिलो खेल खेलेको बाङ्लादेशले त्यसयता आठ वटा सुविधासम्पन्न टेस्ट मैदान निर्माण गरिसकेको छ । युद्धबाट जर्जर अफगानिस्तानमा अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसके पनि तीनवटा क्रिकेट स्टेडियम बनिसकेका छन् भने पाँचवटा निर्माण हुने क्रममा छन् ।

बाङ्लादेश र अफगानिस्तानले पाएको टेस्ट मान्यता र सफलताका पछाडि क्रिकेटमा राष्ट्रको लगानीलाई प्रमुख मानिन्छ । नेपालले सन् २०१४ मा ट्वान्टी–ट्वान्टी विश्वकप खेलेपछि सरकारले सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माण गर्ने घोषणा ग¥यो । तर, चार वर्षसम्म न स्टेडियम बन्यो, न क्रिकेटका अरु पूर्वाधार नै ।

प्रतिकृया दिनुहोस