टिप्पणीशनिवार, जेठ १२, २०७५

म मधेशी भाइ

मनिष झा

काठमाडौंका मैथिल ब्राह्मणले मधेशी मैथिल ब्राह्मणमाथि नै विभेद गर्नुको अर्थ नियोजित नभई शक्तिसँगको सोझो सम्पर्क र अज्ञानता नै हो ।

मेरो मावली काठमाडौं हो । लगभग २५० वर्ष पहिले मामाघरका पुर्खा काठमाडौं प्रवेश गरेका हुन् । यत्तिका वर्ष यतै बसेका कारण मेरो मावली खलक उपत्यकाको समाज र संस्कृतिमा यति भिजिसकेको छ कि परिवारका सदस्यहरू मैथलीभन्दा शुद्ध नेवारी बोल्छन् ।

मैथली ब्राह्मणका थर झा, मिश्र, ठाकुर, चौधरी, पाठकमध्ये काठमाडौंका रैथानेमा झा र मिश्र छन् । थर अनुसार भेषभुषा, बोलीवचन र रहनसहन नमिलेको देखेर कतिले ‘नेवारमा पनि झा हुन्छन्’ भनेको पनि सुनिन्छ । तर, नेवारमा झा हुँदैनन् । 

म दुई दशकदेखि काठमाडौंमै छु । जनकपुरबाट अध्ययनका लागि आएको म अहिले यहीं व्यवसाय गर्छु । तर काठमाडौं बसाइँमा मैले कहिल्यै पनि मधेशी भएकैले फरक व्यवहार खेप्नु परेको छैन ।

एक त मामाघर यहीं भएकाले यहाँको सामाजिकता बुझ्न र त्यही अनुसार आफूलाई तयार पारेर गर्न सिकें । अर्को चाहिं आफूलाई जहिलेसम्म जात र समुदायमा सीमित गरिन्छ, तबसम्म अरूले पनि त्यसरी नै व्यवहार र मूल्याङ्कन गर्छन् भन्ने पनि बुझेको छु । तर, आफू सबल र सक्षम चाहिं हुनैपर्छ ।

गएको महीना कामको सिलसिलामा जनकपुरमै रहँदा दिदी (मामाकी छोरी) को फोन आयो । कमलपोखरी (काठमाडौं) मा भागवत गीताको पाठ र यज्ञ भइरहेको सुनाउँदै उहाँले भन्नुभयो, “काठमाडौं फर्केपछि त्यहाँ जाऊ र फुपूको नाममा पनि केही दान गरिदेऊ ।” तीन वर्ष अघि बित्नुभएको मेरी आमाको नाममा हामी दानकर्म गरिरहन्छौं । “दिदी, को–को आउँछन् त्यहाँ ?” मैले सोधें । “काठमाडौंका मैथली ब्राह्मणहरू छन्, मधिशे मैथली ब्राह्मणहरू पनि छन्”, दिदीको यस्तो जवाफले म स्तब्ध भएँ । भनें, “दिदी दुवै मैथली ब्राह्मण नै हुन्, तर मधिशे र काठमाडौं किन ? फेरि मधेशी भन्नुस्, मधिशे हैन ।” उहाँले आफूले भेदभाव नगरेको र जे हो त्यही भनेको भन्ने तर्क गर्नुभयो ।

हो, काठमाडौंको थुप्रै मैथली ब्राह्मणले मधेशका मैथली ब्राह्मणलाई मधिशे भनेर उच्चारण गरेको मैले पनि सुनेको छु । आफूलाई अलि माथिल्लोस्तरको ठान्ने गरेको पाएको छु । खरिदार, सुब्बा तहमा रहेका काठमाडौंका मैथली ब्राह्मणले सचिव नै किन नहुन्, तराईको ब्राह्मणलाई मान्छे नै नगनेको पनि देखेको छु ।

एउटै समुदाय, एउटै संस्कारमा पनि कसरी यस्तो भेदभाव जन्मियो ? काठमाडौं फर्किंदासम्म यही सवाल दिमागमा खेलिरह्यो ।

तर, सोच्दै, बुझ्दै जाँदा थाहा भयो, यो जात र समुदायको कुरा होइन रहेछ । यो त सामाजिकताको कुरा रहेछ । काठमाडौंका मधेश मूलका मैथली ब्राह्मणको यहाँकै रैथानेसँग संगत भयो र यहींको दृष्टिकोण बन्यो । अर्थात् दरबार र शासन–शक्तिको निकटभाव सिर्जित सोच हावी भयो ।

सामाजिकतासँगै शिक्षाको स्तर भने बढ्न सकेन, चाहेन वा पाएन । सही र गलत विश्लेषण गर्ने बौद्धिकचेतको विकास हुनै पाएन ।

मधेश–पहाडको भेदभावको पृष्ठभूमि पनि यस्तै हुनसक्छ । कुनै एउटा समुदायले जानेरै त कुनैले दम्भ र शानका खातिर मात्र पनि विभेद गरिरहेको हुनसक्छ । कतिपय अज्ञानता र गलत संगतको शिकार पनि भइरहेका हुनसक्छन् ।

गएको छठ पूजाका अवसरमा जनकपुरमा त्यहींको मिनाप र काठमाडौंको कुटुम्ब ले एकसाथ सांगीतिक प्रस्तुतिको तयारी गरिरहेको थियो । साउण्ड सिस्टमका प्राविधिक टोली काठमाडौंबाटै लगिएको थियो ।

स्टेज भने स्थानीय टेन्ट हाउसले बनाउँदै थियो । साउण्ड, लाइट र स्टेजको समन्वय मिलाउन उनीहरू आपसमा छलफल गरिरहेका थिए । सुन्दा रमाइलो तर नपच्ने कुरा, साउण्डका प्राविधिकहरू कनी–कनी हिन्दीमा बोलिरहेका थिए भने स्टेज बनाउनेहरू मधेशी लयमा नेपाली ।

“उहाँलाई नेपाली आउँदो रहेछ त, तपाईंले किन हिन्दीमा बोल्नु पर्‍यो ?” साउण्डका प्राविधिकलाई मैले सोधें । मौन उनले आफ्नो गल्ती स्वीकारे । स्टेज बनाउनेहरू पनि भन्न मात्र नसकेका रहेछन् । गर्जिहाले, “उहाँहरू हामीलाई भारतीय सम्झिनुहुन्छ, त्यसैले होला । हामीलाई नेपाली हौं भन्ने कुरा कर तिर्दा र पासपोर्टको लाइन बस्दा मात्र याद आउँछ ।”

हो, जानेरै विभेद गर्ने पनि छन् र त्यसैबाट फाइदा लुट्ने पनि । तर हाम्रो पहिलो काम विभेदको उद्देश्य र कारण बुझ्ने हुनुपर्छ, त्यसपछि मात्र निष्कर्ष निकाल्नुपर्छ । म र मेरी दिदी, साउण्ड र स्टेज प्राविधिक दुवैको संवाद कुनै गलत नियतले होइन, अज्ञानताले जन्माएको संस्कारको निरन्तरता मात्र हो ।

प्रतिकृया दिनुहोस