आइपीएलको उपाधि चेन्नई सुपर किंग्सलाई
इन्डियन प्रिमियर लिग (आइपीएल) को ११ औं संस्करणको उपाधि चेन्नइ सुपर किंग्सले जितेको छ ।
मुम्बइको वानखेडे स्टेडियममा भएको फाइनल प्रतिस्पर्धामा सनराइजर्स हैदराबादलाई आठ विकेटले पराजित गर्दै चेन्नइले तेस्रो पटक आइपीएलको उपाधि आफ्नो नाममा गरेको हो ।
आइपीएलका १० वटा संस्करणमा सहभागी चेन्नइ छैठौं पटक फाइनल पुग्ने पहिलो टिम पनि हो । ‘म्याच फिक्सिङ’ प्रकरणमा केही खेलाडी मुछिएपछि एउटा सिजन भने चेन्नइ निलम्बनमा परेको थियो ।
१३ जेठमा सम्पन्न फाइनलमा चेन्नइलाई उपाधि दिलाउन अष्ट्रेलियाका अलराउण्डर सेन वाटसनले शतकीय इनिङको योगदान गरे ।
वानखेडे स्टेडियममा टस जितेर पहिले फिल्डिङ रोजेको चेन्नइले सनराइजर्स हैदराबादबाट २० ओभरमा १७९ रनको लक्ष्य पाएको थियो । हैदराबादका कप्तान केन विलियम्सनले ४७ र युसुफ पठानले ४५ रन बनाए ।
फाइनलमा १७९ रनको कठिन झैं लाग्ने लक्ष्य पछ्याएको चेन्नइको शुरुवात राम्रो हुन सकेन ।
चार ओभरमा १६ रन जोड्दा ओपनर फाफ डु प्लेसीलाई गुमाएको चेन्नइको इनिङलाई विस्तारै गति दिने र अन्तिममा जितसम्म पु¥याउने भूमिका वाटसनले बहन गरे ।
५७ बल खेल्दै ११७ रनमा नटआउट रहेका उनले ८ छक्का र ११ चौका प्रहार गरे । सुरेश रैनाले २४ बलमा ३२ रन बनाए भने अम्बाती रायडुले नटआउट १६ रनको योगदान दिए ।
भुवनेश्वर कुमार र रसिद खानले कसिलो बलिङ गरे पनि बलिङमा प्रतियोगिताकै उत्कृष्ट टिमका रुपमा चिनिएको हैदराबादका अन्य बलरले फाइनलको दबाब थेग्न नसक्दा चेन्नइले प्रतिस्पर्धा एकपक्षीय रुपमा आफ्नो पक्षमा मोड्यो । चेन्नइले ९ बल बाँकी छँदै जित हात पारेको थियो ।