टिप्पणीसोमवार, जेठ १४, २०७५

उन्नयन र अनुशासनका दोभान राष्ट्रकवि घिमिरे

शेखर खरेल

राष्ट्रकवि घिमिरेको अन्तिम र उत्कृष्ट महाकाव्य ‘ऋतम्भरा’ आफ्नो जन्म शताब्दीका अवसरमा सार्वजनिक गर्ने उनको लक्ष्य पूरा हुनेछ ।

राष्ट्रकवि माधव घिमिरे । तस्वीरः शेखर खरेल

राष्ट्रकवि माधवप्रसाद घिमिरेको बिसञ्चोको खबर ढिलै गरी फैलियो । सँगसँगै ‘राष्ट्रकविलाई सञ्चो छ, राष्ट्रकविलाई सञ्चो छैन’ भन्ने जस्ता विरोधाभासपूर्ण खबर प्रवाहित भइरहे ।

उपचारमा संलग्न चिकित्सक टोलीले एकातिर कविवरले स्वास्थ्य लाभ गरिरहेको दाबी गरे भने अर्कोतिर सानोआन्द्राको रक्तस्रावको कारण खुट्याउन भारत लैजान सल्लाह दिए । त्यही अनुसार अहिले राष्ट्रकविको उपचार हरियाणाको मेदान्त अस्पतालमा भइरहेको छ ।

काठमाडौं, धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत राष्ट्रकविका तस्वीर र सन्देश अत्यन्त अर्थपूर्ण देख्छु । उमेरमै पनि रूघाखोकीको सामान्य आक्रमणबाट मानिस अत्तालिन्छन् । तर, शताब्दीको सँघारमै पुगेका कविवर चिकित्सा टोली र परिवारजनबीच स्मित मुस्कान सहित ढुक्क देखिन्छन् ।

शुभेच्छाका लागि पुगेका राष्ट्रका कार्यकारी प्रमुखदेखि सञ्चारमाध्यमका प्रतिनिधिसामु करबद्ध कृतज्ञता जाहेर गरिरहन्छन्, ‘एक–दुई दिनमै निको भएर फर्किनेछु’ भन्दै । सघन उपचार कक्षको शैय्यामा पल्टिंदा होस् वा ह्विलचेयरबाट विदेश लगिंदा, कविवरको शिरमा ढाका टोपी त्यसैगरी ठडिएको देखिन्छ, जसरी उनको कवितामा देशप्रेम र स्वाभिमान वर्णित हुन्छ ।

स्वास्थ्यमाथि यति ठूलो जोखिम आइलाग्दा राष्ट्रकवि किञ्चित हतप्रभ देखिएनन् । उनको भावभङ्गिमा र मनोदशाबाट लाग्छ, उनी एक स्थितप्रज्ञ हुन् । स्थितप्रज्ञ यस्तो स्थिति हो, जसमा मानिस इन्द्रियको नभएर इन्द्रिय मानिसको वशमा रहन्छ । एउटा यस्तै स्थिति कविवर ८७औं वसन्तमा हिंडिरहेका बखत अनुभूत गरेको थिएँ ।

कान्तिपुर प्रकाशनको नेपाल साप्ताहिकमा कार्यरत रहँदा फोटोसेसनका लागि कविवरलाई मनाएर शिवपुरीको डाँडासम्म लगेको थिएँ । चैतको प्याउली फूलबीच चन्द्रशेखर कार्कीको क्यामराको लेन्सले उतारेका कविवरको छायाँछवि वर्णनातीत छन् ।

त्यसबाट उत्साहित मैले राष्ट्रकविलाई उनी र उनका प्रशंसक सिंहबहादुर बस्न्यात (बेलायतका लागि पूर्व राजदूत) बीच संवाद छायाङ्कनको लहडमा गोकर्ण–थली सेरोफेरोको सुनसान खेतमा पुर्‍याएको थिएँ । अकस्मात् आकाश नराम्ररी मडारिएर पृथ्वी नै हल्लाउला जस्तो हावाहुरी चलेपछि हाम्रो वृत्तचित्र छायाङ्कन टोली सुनामीमा परेको डुङ्गासरह बनेको थियो ।

वृद्धवयका कविलाई जोखिमपूर्ण अवस्थामा धकेल्ने आफ्नो लहडप्रति मलाई ग्लानि भइरहेकै थियो, सँगसँगै कविवरलाई सकुशल घर फर्काउने चुनौती आइपरेको थियो । छायाङ्कन स्थलबाट नजिकैको घर पनि कम्तीमा आधा किलोमीटर टाढा हुँदो हो । कविवरलाई बेस्सरी समात्दै सुरक्षित थलोसम्म पुर्‍याउने प्रयास गरिरहन्थें, तर आफैंलाई सम्हाल्न सकिरहेको थिइनँ ।

हामी कहिले खेतमा लड्थ्यौं त कहिले कान्लामुनि हुत्तिन्थ्यौं । अन्ततः हामी हावामा कावा खाएको चङ्गाको भाँती सुरक्षित थलोसम्म आइपुग्यौं । घटनाभर म निकै हतप्रभ भएँ, तर कविवर किञ्चित डगमगाएनन् । यसबारेको विस्तृत वर्णन ‘मैले नदेखेका हिप्पी’ निबन्ध संग्रहको ‘माधव घिमिरेसँग मिनी सुनामी’ मा गरेको छु ।

राष्ट्रकवि माधव घिमिरे उपचारका लागि भारत जाने क्रममा ग्राण्डी अस्पताल, धापासीबाट बाहिरिंदै । तस्वीरः कविन अधिकारी

घटनाको कैयौं दिनसम्म मलाई पश्चात्ताप भइरह्यो । एक बिहान माफीका निम्ति फोन गर्दा कविवरले उही स्थितप्रज्ञ भावमा भने, “जीवन भन्नु नै आँधीबेरी, घामपानी न हो ।” जुन घटनाले म लामो समयसम्म भयभीत रहें, त्यस विपरीत उनी रोमाञ्चित देखिन्थे ।

कवि शिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यसम्राट बालकृष्ण समसम्मलाई आजको पुस्तासम्म जोड्ने माधवप्रसाद घिमिरे नामको सेतुको आधारशिला के हुन सक्छ भनेर घोत्लिरहेको हुन्छु, बारम्बार । झण्डै शताब्दी लामो सुदीर्घ जीवनमा उनले कसरी उन्नयनको सोपान गरिरहे ?

अन्य अधिकांश सर्जक झै उनमा किन शारीरिक–मानसिक थकान देखिएन ? यसको उत्तर पक्कै पनि उनको चिरकालिक सकारात्मकता र अनुशासन नै हुन् । कविवर दीर्घ जीवनका कारण पनि धेरै सिर्जना गर्न सकेको सुनाइरहन्छन् । आफ्नो जीवनलाई ईश्वरीय अनुकम्पा मान्ने यी कवि आफ्ना अग्रजहरूप्रति जति नतमस्तक देखिन्छन्, अनुज पुस्ताहरूप्रति त्यति नै स्नेही र प्रेरणावान ।

राज्यद्वारा ‘राष्ट्रकवि’ को पदवीले विभूषित गरिंदा होस् वा नेपाली सेनाले मानार्थ जर्नेलको सम्मान दिंदा, समाजको एउटा तप्काले उनीप्रति ‘अवसरवाद’ को आरोप नलगाएको होइन । तर, त्यस समूहले कहिल्यै पनि उनको उन्नयन पछाडिको अनुशासन र सकारात्मकताको अनुशीलन अनुभूत गर्न चाहेन । कविवर भने आफूमाथि निर्मम टिप्पणी गर्नेहरूप्रति प्रतिटिप्पणी बेगर नै उदार बनिदिए ।

माधवप्रसाद घिमिरे जीवनकालमै राज्यद्वारा सर्वाधिक सम्मानित स्रष्टा हुन् । स्रष्टाप्रति राज्यको सम्मानलाई कृतज्ञताको अर्थमा लिइनुपर्दछ । काव्यका मार्फत उनले राज्यलाई जति दिए; व्यक्ति, समाज र भूगोललाई जसरी जोडे, त्यसको कदर गर्नु गुणग्राहिता हो । उनले जे लेखेका छन्, ती नेपाली जनप्रति समर्पित छन् । उनका कविता नेपाल र नेपाली जातिका सान–मान हुन् । त्यसैले उनीप्रतिको सम्मान देश र देशवासीको पनि सम्मान हो ।

प्राणी र वनस्पतिले जस्तै सर्जकहरूले पनि बदलिंदो परिस्थितिमा आफूलाई अनुकूलन गर्न र परिवर्तन स्वीकार्न सक्नुपर्छ । विगतको अति मोह वा सन्ताप सिर्जनाका तगारा हुन् । कविवरले परिवर्तनप्रति कहिल्यै, कुनै दुःखेसो गरेनन् । बरू लेखे–

सुनपानीमा चोपले झैं आज गाउँबेसी
लाग्यो लोकतन्त्र साँच्चै समावेशी

पछिल्लो पटक पत्रकार चन्द्रकिशोर र फोटोपत्रकार चन्द्रशेखर कार्कीका साथ उनको निवास कपुरधारा पुगेको थिएँ । चन्द्रकिशोरजी तराई–पहाड सम्बन्धलाई सर्जकहरू मार्फत अझ् प्रगाढ बनाउने कुनै अभियान थाल्न खोजिरहेका थिए । राष्ट्रकविबाटै यस पुनित कार्यको थालनी होस् भन्ने चाहेका उनी तराई, पहाड र हिमाल जोड्ने कविता सुन्न लालायित थिए । चन्द्रकिशोरजीको मनसायबाट पुलकित बनेका कविवरले आफूलाई मुखाग्र एक पंक्ति सुनाए–

तराई हाम्रो सुनको टुक्रा हिमाल हीराको
माटो र पानी पहिलो धन धरतीका छोराको

राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘पोयटिक सिग्नेचर’ लालित्य अर्थात् ‘क्राफ्टिङ्’ हो । उनका कविता सरल, सरस, सुललित र सुरुचिपूर्ण हुन्छन् । दुरुह शब्दावली नहुँदा ती बोधगम्य हुन्छन्, अनि लालित्यका कारण मनलाई आल्हादित गर्छन् । कखरा सिक्दै गरेका बालकदेखि विद्यावारिधि शोधकर्तासम्म फैलिएका छन् उनका कविता ।

फुटकर कविता, शोककाव्य, गीतिनाटक र खण्डकाव्य लेखेका उनी जीवनको अन्तिम तर उत्कृष्ट विराट सिर्जना ‘ऋतम्भरा’ महाकाव्य लेखनमा व्यस्त छन् अहिले । जुन कविवर स्वयंले सुनाए अनुसार समापनतिर पुगिसकेको छ । तर, बीच–बीचमा बिग्रँदो स्वास्थ्यले कृतिको समापनलाई पछि धकेलिरहेको छ ।

काव्यसँग प्राविधिक कठिनाइ पनि जोडिने रहेछ, जसबारे कविवरले खुलासा गरे, “कथा, निबन्ध जस्तो भाव आउनासाथ लेखिहाल्न सकिंदैन । काव्यमा पहिले भाव फुर्नुप¥यो, अनि त्यसलाई छन्दमा ढाल्नुपर्‍यो । मेरानिम्ति छन्द मिल्ने शब्दहरूको खोजी महŒवपूर्ण हुन्छ । किनकि, लोकभाकाका ठेट शब्दहरू प्रयोग गर्न रुचाउँछु ।”

अनि ‘ऋतम्भरा’ मा वेद, उपनिषदका रहस्यवादी प्रतीक कथाहरू समेटिएको बताउँदै भने, “कथा पुरानो भए पनि यसको सन्देश भविष्यतिरको छ ।”

हाम्रा आँखाहरू पनि अहिले मेदान्त अस्पतालमा उपचाररत राष्ट्रकविको भविष्यका दिनतिर सोझिएका छन् ।

पछिल्ला केही वर्षदेखि उनले आफ्नो जन्म दिन (७ असोज) मा सार्वजनिक गर्ने लक्ष्य लिएको ‘ऋतम्भरा’ यसै वर्ष उनको जन्म शताब्दीका अवसरमा विमोचित होओस् भन्ने हाम्रो कामना छ । साथै, शीघ्र स्वास्थ्य लाभको शुभकामना पनि ! 

प्रतिकृया दिनुहोस