टिप्पणीशनिवार, जेठ १२, २०७५

वर्षायामका रोग

हिमालखबर

डा. अनुप बास्तोला

दूषित पानी नपिउने, बासी खानेकुरा नखाने र साबुनपानीले हात धुने हो भने वर्षायामका अधिकांश रोगबाट बच्न सकिन्छ ।

वर्षायामको शुरूआतसँगै पानी, खाना र कीटजन्य सरुवा रोगको जोखिम र प्रकोप बढ्छ । पानीजन्य रोगहरू दूषित पानीको संसर्ग, सेवन र पानीमा हुने अनावश्यक रसायनका कारण लाग्छन् ।

मुसाको पिसाब धानखेतको पानीमा मिसिंदा मानिसमा लेप्टोस्पाइरोसिस रोग लाग्न सक्छ । खोला तथा दहको जमेको दूषित पानीमा पौडी खेल्दा खुला एमिबाको संक्रमण हुन्छ । पानीमा आर्सेनिकको मात्रा उच्च भएमा आर्सेनिकोसिस रोग लाग्ने सम्भावना हुन्छ ।

दूषित, बासी, सडेगलेको, झिगा भन्केका र असुरक्षित रूपमा लामो समयसम्म भण्डारण गरिएका खानेकुरा सेवनले ‘एक्युट फूड पोइजनिङ’ पनि हुनसक्छ । तर वर्षायाममा खासगरी दूषित पानीको सेवनले झाडापखाला, आउँ, टाइफाइडको समस्या देखिन्छ ।

वर्षासँगै आउने भेलले मानिस र जनावरका मलमूत्रलाई जमीनमुनि र बाहिरको पानीको स्रोतमा मिसाउनाले पानी दूषित बन्छ । पानीको मुहान नजिकै दिसापिसाब गर्दा, सुरक्षित भण्डारण र आवश्यकता अनुसार निर्मलीकरण नगर्दा पनि पानी दूषित हुन्छ । गर्मी मौसममा पानीको अभाव हुने भएकाले दूषित पानीको सेवन र समस्या बढेको देखिन्छ ।

बासी र असुरक्षित रूपमा भण्डारण गरेका खानेकुरामा विभिन्न खालका जीवाणुको वृद्धि हुन्छ । जीवाणुले बासी र सडेगलेको खानेकुरामा विभिन्न टक्सिन निकाल्छन् । यस्ता खानेकुराको सेवनले ज्वरो, वान्ता (फूड पोइजनिङ) निम्तिन्छ । गर्मी मौसममा विभिन्न विषाणु र जीवाणुको प्रवाह गर्ने झि‌गाको संख्या बढ्छ । झिगाले दिसा, जमीन र फोहोर पानीबाट खानामा विषाणु र जीवाणुको प्रवाह गर्न मद्दत पुर्‍याउँछन् ।

पानीजन्य रोग
टाइफाइडः
यो साल्मोनेला टाइफी/प्याराटाइफी नामक ब्याक्टेरियाका कारण लाग्ने रोग हो । टाइफाइड हुँदा ज्वरो आउने, टाउको दुख्ने, मासु कट्कटी दुख्ने, पखाला, कब्जियत र थकान महसूस हुने जस्ता लक्षण देखा पर्दछन् ।

झाडापखालाः यो रोग विभिन्न किसिमका जीवाणु, प्रोटोजोआ, भाइरस आदिका कारण लाग्छ । पखालामा चौलानी जस्तो दिसा पटकपटक आउँछ । शरीरमा पानी सुकेर सुक्खापन, बेहोश र अर्धचेत हुने समस्या देखिन्छ । समयमा उपचार नपाए मृत्यु पनि हुनसक्छ ।

रगतमासीः रगतमासीले आउँ पर्ने, ज्वरो आउने, पेट दुख्ने जस्ता समस्या निम्त्याउँछ । समयमै उपचार नगराए यसले मिर्गौला र शरीरका अन्य महत्वपूर्ण अंगहरूमा समस्या पैदा गर्न सक्छ ।

हेपाटाइटिस (ए र ई): दूषित पानी खानाले हेपाटाइटिस ए र ई को संक्रमण हुन सक्छ । बिरामीलाई पखाला लाग्ने, वान्ता आउने, पेट पोल्ने, ज्वरो आउने, टाउको दुख्ने, केही समयपछि आँखा पहेंलो हुने र कहिलेकाहीं कलेजोका समस्या पनि देखिन्छन् ।

फूड पोइजनिङः खाना खाएको केही घण्टामै पेट दुख्ने र पटक पटक वान्ता हुने, ज्वरो आउने र छाला चिलाउने समस्या देखिनुलाई ‘फूड पोइजनिङ’ भनिन्छ । यस्तो लक्षण देखिएमा प्रशस्त पुनर्जलीय झेल, नुनिलो खानेकुरा खानुका साथै सकेसम्म चाँडै अस्पताल जानुपर्छ ।

हात धुने
पानीजन्य रोगबाट बच्ने उपाय भनेकै स्वच्छ पानीको सेवन हो । पानी सधैं कम्तीमा एक मिनेट भकभकी उमालेर पिउनुपर्छ । क्लोरिनको प्रयोग गरी निर्मलीकरण पनि गर्न सकिन्छ ।

साबुनपानीले हात धुदा धेरै कीटाणु नाश हुन्छन् । दिसासँगको सम्पर्कपछि, बच्चाको दिसा धोएर डाइपर फेरेपछि साबुनपानीले हात धुनुपर्छ । खाना अघि, खाना बनाउनुभन्दा पहिले, हाच्छिउँ वा खोकेपछि र बिरामीको स्वास्थ्य जाँच गरेपछि पनि साबुनपानीले हात धुनुपर्छ । साबुनपानीले हात धुने बानीले झाडापखाला र श्वासप्रश्वास सम्बन्धी रोगमा ५० प्रतिशतसम्म कमी आउँछ ।

(ट्रपिकल मेडिसिन फिजिसियन डा. बास्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकूमा कार्यरत छन् ।)

प्रतिकृया दिनुहोस