टिप्पणीशनिवार, जेठ १२, २०७५

भगवानको तस्वीर

वसन्त महर्जन

अपवाद बाहेक भगवानका मूर्तिहरूको तस्वीर खिच्न निषेध गरिनुको कुनै तुक देखिन्न ।

२९ वैशाखमा मुक्तिनाथको पूजापाठमा भारतीय प्रम नरेन्द्र मोदी । तस्वीर: एमइए इण्डियाको ट्वीटरबाट

कतिपय हिन्दू मन्दिर तथा बौद्ध विहार लगायतका धार्मिक क्षेत्रको मुख्य र वरिपरिका क्षेत्रहरूमा तस्वीर खिच्न निषेध गरिएको सूचना टाँगिएको देखिन्छ । मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरको बाहिरबाट तस्वीर खिच्न पाइए पनि भित्र मूर्तिको तस्वीर भने खिच्न पाइँदैन ।

तर हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मुक्तिनाथ मन्दिर क्षेत्रमा पुगेको भारतीय सञ्चारमाध्यमले तस्वीर मात्रै खिचेनन्, टेलिभिजनमा प्रत्यक्ष प्रसारण नै गरे । विरोधको स्वर पनि सुनियो । 

मुक्तिनाथ लगायत नेपालका धार्मिक क्षेत्रहरूमा मुख्य देवताको तस्वीर खिच्न नपाइए पनि मन्दिर क्षेत्रमा नै पैसा तिरेर मूर्तिको तस्वीर किन्न भने पाइन्छ । कतिपय मूर्तिबारे त सूक्ष्म अध्ययन गरी तस्वीर सहितको पुस्तक पनि प्रकाशित भइसकेको छ । यस्तो अवस्थामा सर्वसाधारणलाई तस्वीर खिच्न निषेध गर्नुले कुनै अर्थ राख्दैन ।

कीर्तिपुरस्थित प्रसिद्ध बाघभैरव मन्दिरभित्र तीन वटा मूर्ति छन् । सक्कली भनिने बाघभैरवको सानो मूर्ति केही दशकअघिसम्म चापूजा (राति गरिने विशेष पूजा) मा आउनेहरूलाई देखाइन्थ्यो । तर, अहिले त्यसको प्रतिमूर्ति मात्र देखाइन्छ ।

प्रत्येक वर्षको १ भदौका दिन खटमा राखेर जात्रा गरिने यो मूर्तिको तस्वीर खिच्न पावन्दी नभए पनि मन्दिरभित्रको प्रतिमूर्तिको तस्वीर खिच्न भने दिइँदैन । यता पत्रपत्रिका, पुस्तक तथा क्यालेन्डरहरूमा मूर्तिको तस्वीर छ्याप्छ्याप्ती भेटिन्छ ।

काठमाडौं, वसन्तपुरस्थित कुमारी घरमा विराजमान ‘जीवित देवी’ कुमारीबाट दैनिक टीका ग्रहण तथा दर्शन गर्न पाइए पनि तस्वीर खिच्न भने बन्देज छ । पर्यटकलाई झ्यालबाट दर्शन दिइन्छ तर फोटोको अनुमति हुन्न ।

तर विभिन्न अवसरमा बाहिर ल्याइँदा भने तस्वीरमा कुनै रोकटोक हुन्न । अन्यत्रका कुमारीहरूको तस्वीर खिच्न भने पावन्दी लगाएको पाइँदैन । देवी–देवताको तस्वीर खिच्न हुने र नहुनेमा हामीकहाँ द्वैध मान्यता कायम छ ।

मन्दिर वा मूर्तिको तस्वीर खिच्न किन मनाही गरिएको हो ? यसको जवाफ चित्तबुझदो छैन । तस्वीर खिच्दा देवताको शक्ति क्षीण हुने, तस्वीर खिच्न निषेध गर्दा मूर्तिको महत्व वा गरिमा बढ्ने कुरा आफैंमा अन्धविश्वास सिवाय केही होइन ।

तस्वीरकै कारण मूर्ति चोरी हुनसक्ने कमजोर तर्क गर्नेहरू पनि छन् । जबकि कुनै बेला चोरिएर विदेश पुगेका मूर्तिहरूको पहिचान गरी विधिपूर्वक नेपाल फर्काउन तस्वीरले नै अहम् भूमिका खेलिरहेका छन् ।

हामीकहाँ अज्ञानतावश एक देवतालाई अर्कै देवता ठानेर पूजा अर्चना गर्ने घटना प्रशस्त पाइन्छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनी भेटिनुअघि (सन् १८९६) वनदेवी वा कालीका नाममा बोधिसत्व सिद्धार्थ (बुद्धत्व प्राप्तिपछि गौतम बुद्ध) लाई जन्म दिइरहेकी मायादेवीको मूर्तिमा पूजाका साथै बलि नै दिइन्थ्यो । शिवलिङ्ग भन्दै गोटिहवास्थित अशोक स्तम्भको पूजा आजभोलि पनि गरिन्छ ।

सप्तरीमा छिन्नमस्ता मन्दिर छ । तर, २०६० सालमा त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागको अध्ययन टोलीले छोपिएको कपडा हटाई हेर्दा छिन्नमस्ता नभई शिरविहीन महिषमर्दिनी दुर्गाको मूर्ति देख्यो । हिन्दू धर्मदर्शनको दश महाविद्या अन्तर्गत पुजिने तान्त्रिक देवी छिन्नमस्ताको टाउको हुन्न र टाउको नहुने सबै देवीको मूर्ति छिन्नमस्ता नै हुन् भन्ने चाहिं होइन ।

गुह्य देवताको अपवाद
सामान्यतः धातु वा ढुङ्गाबाट बनाइएका मूर्ति मन्दिरमा राखेर पूजायोग्य बनाउन प्राण–प्रतिष्ठा कर्म सम्पन्न गरिन्छ । प्राण–प्रतिष्ठा गरिसकेको मूर्तिलाई लापरवाही गर्न नहुने कुरा त बुझ्न सकिन्छ तर तस्वीर नै खिच्न नहुने भन्ने हुँदैन । तर तन्त्रसँग सम्बन्धित देवी–देवताका मूर्तिको तस्वीर खिच्न नहुने वा नपाइने कुरामा भने केही दम देखिन्छ ।

मन्त्रहरू नै सन्ध्या भाषा (कूटभाषा)मा हुने यी देवताका मूर्तिमा एउटा भाव वा अर्थ दर्शाउन विपरीत आकृति प्रयोग गरिएको हुनसक्छ । यसबाट सर्वसाधारणमा भ्रम फैलन र अर्थको अनर्थ लाग्न सक्ने जोखिम पनि हुन्छ । यी मूर्ति प्रायः गुह्य हुन्छन् र आगम घरमा सुरक्षितसाथ राखिन्छ । आफ्नै कुल सदस्य भए पनि निश्चित दीक्षा पाएका बाहेकलाई देखाइन्न ।

स्वयम्भूबाट केही दशकअघि यस्तै देवताको मूर्ति चोरी भएको थियो । प्रहरीले अन्य मूर्तिहरूसँगै चोरी भएको मूर्ति पनि बरामद गर्‍यो । तर, स्थानीयहरू आफ्नो मूर्तिलाई चिनेर पनि चूपचाप फर्केको र पुनः नयाँ मूर्ति बनाई पुजेको घटनाबाट पनि गुह्य देवताका मूर्तिहरू कुन हदसम्म गोप्य राखिन्छन् बुझ्न सकिन्छ । तर, तन्त्रसँग सम्बन्धित सबै मूर्ति गुह्य भने हुँदैनन् ।

मुक्तिनाथ लगायत अधिकांश मन्दिरका मूर्तिहरू तन्त्रसँग सम्बन्धित छैनन् । त्यसैले तस्वीर खिच्न दिंदा प्रचारप्रसार बढ्ने र महत्व घट्ने तर्कको कुनै तुक छैन । बरु प्रचारप्रसारले मूर्ति तथा मन्दिरको महत्व बढ्छ, पर्यटक बढ्नेछन्, स्थानीयको जीवनस्तरमा परिवर्तन आउनेछ ।

प्रतिकृया दिनुहोस