ब्लगबुधवार, जेठ ९, २०७५

अन्तर्राष्ट्रिय पत्रिकामा देखिएन नेपाल

कनकमणि दीक्षित

पर्यटनबाट आम नेपालीले लाभ लिने हो भने पुरानो र भद्दा प्रस्तुतिले काम काम चल्नेवाला छैन ।

समृद्धिको भविष्य कोर्ने, दशौं लाख युवालाई रोजगार दिने, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने योजनाकारहरूको अजेण्डा धेरै हदसम्म पर्यटनबाट हुने आम्दानीमा निर्भर छ ।

यसको लागि संख्या बढाउने भन्दा पनि धेरै खर्च गर्ने पर्यटक भित्र्याउनुपर्छ ।

पर्यटक आकर्षणको सन्दर्भमा कहाँ छौं त हामी ? एउटा मापक हो, अन्तर्राष्ट्रिय बजारमा बिकाउ ट्राभल र टुरिजम् सम्बन्धी चिल्ला पत्रिकाहरू ।

यी पत्रिकाहरूमा गन्तव्य मुलुकबारे कति लेखिएका छन्, कति विज्ञापन छन्, सम्पादकीय झुकाव कति छ, यसलाई आधार मान्न सकिन्छ ।

नेपालको पर्यटकीय अवस्था बुझ्न मैले ‘र्‍याण्डम’ मा यही मे महीनाका तीन पत्रिका टिपें– फूड एण्ड ट्राभल, बिजनेस ट्राभलर र कण्डे नास्ट ट्राभलर । एकसरो पाना पल्टाएँ, चित्त बुझेन, फेरि पाना पाना नियालें ।

तर, फूड एण्ड ट्राभल को १३४ पृष्ठ, कण्डे नास्ट ट्राभलर को १७२ पृष्ठ, र बिजनेस ट्राभलर को ९३ पृष्ठ (आवरणसहित) मा मैले नेपाल कतै फेला पारिनँ ।

‘मेन्सन’ गरेको समेत भेटिएन ।

प्रकृतिले यत्रो पर्यटकीय सम्भावना दिएको, सांस्कृतिक विविधता र पर्यटकीय रोमाञ्चले भरिभराउ यो मुलुकबारे अन्तर्राष्ट्रिय पर्यटनका यी तीन महत्वपूर्ण पत्रिकामा एक शब्द पनि खर्चिएको देखिएन ।

यो क्षेत्रबाट यतिविधि आस गरेका हामी वास्तविक धरातलबाट कति पर रहेछौं, मेरा लागि यो अनौठो आश्चर्यसँगको साक्षात्कार हुनपुग्यो ।

कुन कुन रहेछन् त आजका चर्चित गन्तव्य देशहरू, जोसँग नेपालको प्रतिस्पर्धा हुनसक्थ्यो/हुनसक्छ ।

कुनै खास समय र अवसरमा खास देशको आकर्षण त बढ्छ नै तर प्राकृतिक र सांस्कृतिक दृष्टिमा नेपाल अरु धेरै देशभन्दा बढी सदावहार हुनुपर्ने हो । तर, हामीलाई उछिन्नेहरू पो धेरै देखिए ।

पत्रिकाका पानाहरू पल्टाउँदा देखियो– पश्चिमा घुमन्तेका लागि अहिलेका मुख्य गन्तव्यहरू रहेछन्– न्यूजिल्याण्ड, क्रोएसिया, इन्डोनेसिया, थाइल्याण्ड, ओमान, फिनल्याण्ड, मोरक्को, दक्षिण अफ्रिका, चीन, केप भर्ड, सेसेल्स् . . .

यता हामी काठमाडौं उपत्यकाको सांस्कृतिक आकर्षण ध्वस्त पार्न गएको २५ वर्षदेखि मरिमेटेर लाग्यौं ।

त्यसैको परिणाम हुनुपर्छ, सौन्दर्य र सम्पदाका शहरहरुको कुरा गर्दा अहिले इजरायलको टेलअभिभ्, मोरक्कोको फेज्, दक्षिण अफ्रिकाको पोर्ट एलिजावेथ, भारतको मुम्बईले वाह्वाही कमाएका छन् ।

हाम्रो काठमाडौंको अत्तोपत्तो छैन ।

बिजनेस ट्राभलर ले त आवरणमै दक्षिण अमेरिकी राज्य इक्वाडोरको राजधानी किटोलाई प्रस्तुत गरेको छ ।

काठमाडौंको जस्तै परिवेशको शहर हो किटो, करीब ३० लाख जनसंख्या, झण्डै ६ हजार फिटको उँचाइमा रहेको पहाडी राजधानी ।

अनि, नेपाल जस्तै राजनीतिक अस्थिरता झेलेको देश हो इक्वाडोर । तर, नेपालमण्डल जत्तिको सांस्कृतिक इतिहास र पर्यटकीय सम्भावना किटोसँग छैन, छेउछाउको एण्डिज् हिमशृंखलाले हाम्रो हिमालयसामु केही नाप्दैन– तर पनि उसको यत्रो चर्चा ? !

दक्षिणएशिया पूरैको पनि अन्यत्र भन्दा कमै ‘कभरेज्’ पाइन्छ यी पानामा नेपालको, तर पनि माल्दिभ्स त कतै छुट्दैन । छुट्दैनन्, भूटान, श्रीलंका र भारतका विभिन्न आकर्षणहरू । म्यानमारदेखि अन्दमन निकोबार टापु नयाँ गन्तव्य बनिरहेका देखिन्छन् ।

पर्यटन पत्रिकाहरूले महत्व दिने अर्को विषय हो, खानपिन । संसारका कुनाकाप्चाका नयाँ–नयाँ ‘क्विजिन्’ प्रस्तुत छन् यी पानाहरूमा ।

विशेषगरी स्थानीय उत्पादन तथा तौरतरिकामा आधारित भई ‘आधुनिक’ प्रस्तुति दिइएका परिकारमा सम्पादकहरूको ध्यान जाँदोरहेछ ।

‘हार्ड लिकर’ होइन, स्थानीय वाइन तथा ‘माइक्रोब्रुअरी’ का बियरमा आँखा पुग्दोरहेछ । तर, खानपिन र पेय पदार्थको हकमा नेपालले यी पत्रिकालाई आकर्षित गरेको देखिएन ।

सन् १९७०–८० को दुई दशकमा नेपाल पर्यटकका लागि उत्कृष्ट गन्तव्य मानिन्थ्यो– हिमाली शृंखला÷संस्कृति, उपत्यकाको सांस्कृतिक गहिराइ र चितवनको जंगलसहितको ‘प्याकेज आकर्षण’ ।

त्यसपछि राजनीतिक अस्थिरता शुरु भयो, ‘जनयुद्ध’ ले त बाँकी सम्भावना पनि ध्वस्तै पारिदियो । द्वन्द्वकालको धङ्धङी बिर्सिइँदै गएको बेला नेपालको पर्यटन फेरि ब्युँतिनै लागेको थियो– एक जना पर्यटन विश्लेषकको भनाइमा द्वन्द्वकालपश्चात्को श्रीलंका (२००९ पछि) कै गतिमा ।

तर भुइँचालो आयो, मुख्य हिमाली गन्तव्य र काठमाडौं उपत्यकामै केन्द्रित हुने गरी । हामी फेरि ओरालो लाग्यौं ।

नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय ‘रेडार–स्कोप’ मा ल्याउन पुरानो तरिकाले पुग्दैन । ‘सगरमाथाको देश’ वा ‘बुद्ध जन्मेको देश’ भनेर मात्र पुग्ने छैन ।

एक त पर्यटन प्रस्तुतिमा संसार बुझेको चुस्तता चाहियो । गहिराइमा हिमालय, संस्कृति, ‘क्विजिन्’ अध्ययन पश्चात्को प्रस्तुति र अधिकतम खर्च गर्न सक्ने पर्यटकमा ध्यान । पर्यटनको आम्दानी जनमानसमा कसरी फैलाउने भन्ने कुरा केन्द्रविन्दुमा राख्नुपर्छ ।

हामीसँग इतिहास, भूगर्भ र प्रकृतिले दिएका वरदान प्रशस्त छन्, पर्यटन उद्योगलाई सफल बनाउन । तर पनि ‘हाई एण्ड टुरिजम्’ को अन्तर्राष्ट्रिय बजारमा देखिएन नेपाल ।

 

प्रतिकृया दिनुहोस