स्टन्ट राइडर दीक्षा
'पुरुषको बाइक, महिलाको स्कूटी', अझै पनि यस्तो सोच राख्नुहुन्छ भने त्यो गलत हुनेछ। किनकि दीक्षा श्रेष्ठ (२१) आरामले बाइक कुदाउने मात्र होइन, 'स्टन्ट राइडर' नै हुन्।
दीक्षाले होन्डा डिभा कप–२०१३, रेसमान्डु–२ (२०१४) र रेसनारी (२०१६) जस्ता राष्ट्रव्यापी महिला वाइक राइडिङ प्रतियोगिता जितिसकेकी छिन्। र, अक्टोबरमा मलेशियामा हुने 'एशियन ट्यालेन्ट कप' को छनोट चरणमा सहभागी हुँदैछिन्। नेपालको मोटर स्पोर्टस् इतिहासमा यस्तो अवसर पाउने उनी पहिलो महिला हुन्।
प्रतियोगितामा दीक्षाले एशियाभरका तन्नेरीहरुसँग प्रतिस्पर्धा गर्नेछिन्। यसले उनलाई 'फर्मूला वान रेसिङ ट्रयाक' को अनुभव मात्र दिलाउने छैन, एशियन ट्यालेन्ट कपको ढोका पनि खोल्न सक्नेछ। एशियन ट्यालेन्ट कपले दीक्षालाई फर्मूला वान रेसिङको सर्किटसम्म डोर्याउन सक्छ। मोटर स्पोर्टस्मा होमिएकाहरुका निम्ति यो 'सगरमाथा चढ्नु' जत्तिकै उपलब्धि हो। तर, अन्तर्राष्ट्रिय वाइक रेसमा सहभागिता जनाउनु निकै खर्चिलो छ। राइडिङ गियरलाई मात्र करीब रु.२ लाख चाहिन्छ। त्यसबाहेक मलेशिया आउने, जाने र बस्ने सबै बन्दोबस्त आफैं मिलाउनुपर्छ।
सोसल वर्कमा स्नातक गरिरहेकी धुलिखेलकी दीक्षाले कक्षा सात पढ्दादेखि नै बुबाको स्प्लेन्डर वाइक चढ्न शुरु गरेकी थिइन्। त्यसपछि दाइहरुबाट बाइक 'स्टन्ट' सिकिन्। त्यसयता उनले दरबारमार्ग, भक्तपुरमा भएका विशेष प्रदर्शनीहरुमा वाइक स्टन्ट गरिसकेकी छिन्। ह्वीली, वर्न आउट, स्टपी जस्ता स्टन्टमा उनी अभ्यस्त छिन्।
“स्टन्ट गर्नु सजिलो पक्कै छैन, तर निरन्तरको अभ्यासले यसलाई सहज बनाउन सकिन्छ”, उनी भन्छिन्। स्टन्ट राइडिङलाई व्यावसायिक रुपमै अगाडि बढाउन सकिने दीक्षाको विश्वास छ।
स्टन्ट गर्ने युवाको समूह नै छ, 'टीम राइडर्स अफ भक्तपुर'। दीक्षा यही समूहकी सक्रिय सदस्य हुन्। दीक्षा हेभी वाइककी सौखिन हुन्। डुकाटी चढ्ने दीक्षाको रहर छ।
शिव