नेकपाको केन्द्रीय कमिटीले पूर्णता पायो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरुको सिफारिसलाई अनुमोदन गरेको हो ।
त्यसैगरी उक्त बैठकले पार्टीको संगठन एकीकरणका लागि अन्तरिम विधानको अधीनमा रही नियमावली मस्यौदा गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कमिटी बनाएको छ । कमिटीमा देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहनेछन् ।
त्यसैगरी, बैठकले नेकपाको मूल राजनीतिक प्रतिवेदन र अन्तरिम विधान प्रकाशन गर्ने निर्णयसमेत गरेको छ ।
एमाले र माओवादी केन्द्रबीच ३ जेठमा एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो ।