सुकुम्बासीका समस्याको दीर्घकालीन समाधान गरिनेः जिसी
पोखरा–लेखनाथ महानगरपालिकाका नगरप्रमुख मानबहादुर जिसीले सुकुम्बासीका समस्या दीर्घकालीन रुपमै समाधान गर्ने बताएका छन् ।
६ जेठमा भूमिहीन अधिकार मञ्च पोखराको ज्ञापनपत्र बुझ्दै जिसीले सुकुम्बासीका समस्या साझा भएकाले महानगरपालिकाले छिट्टै निर्णय लिएर अगाडि बढ्ने बताए । उनले वास्तविक भूमिहीनको पहिचान गरेर समस्याको समाधान गरिने बताए ।
सुकुम्बासीको स्वास्थ्य, शिक्षालगायतका अधिकारबारे महानगर सचेत रहेको नगरप्रमुख जिसीको भनाइ छ ।
मञ्चले बुझाएको ज्ञापनपत्रमा सुकुम्बासीहरुलाई सरकारले दिएको प्रमाणको आधारमा स्वास्थ्य, शिक्षा रोजगारसहित बसोबास गरिरहेको स्थानको लालपूर्जा व्यवस्था गर्न माग गरिएको छ ।
प्रकृतिक प्रकोपमा परी विस्थापित भएकाहरुलाई पनि लालपूर्जा दिनुपर्ने भूमिहीन अधिकार मञ्चका अध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी दिए ।
युवराज श्रेष्ठ, पोखरा