अन्तर्वार्ता/विचारआइतवार, जेठ ६, २०७५

‘अभियोग लागेपछि निलम्बन गर्नैपर्छ’

हिमालखबर

फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्न नहुने नेपाली कांग्रेसको अडान विपरीतका धारणा व्यक्त गरिरहेका कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ भन्छन्, “जनप्रतिनिधिले अरुभन्दा उच्च चरित्र र निष्ठा प्रस्तुत गर्नुपर्छ ।”

फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्न नहुने आफ्नै दलको अडान विपरीत उभिनुभएको छ, किन ?
राजनीतिमा नैतिकता, इमानदारी र निष्ठा हुनै पर्छ भन्ने मेरो मान्यता हो । तर अहिलेको राजनीति धनवाद र डनवादबाट प्रभावित छ । यसलाई राजनीतिबाट अलग नगर्ने हो भने जताततै अराजकता मात्रै हुन्छ । जनताका प्रतिनिधिले गल्ती नै गर्दैनन् भन्ने मान्यता स्थापित गर्नका लागि पनि अभियोग लागेका सांसदलाई निलम्बन गर्ने व्यवस्था जरुरी छ ।

विरोधी विचार सार्वजनिक गरिरहँदा तपाईंलाई पार्टीभित्र समस्या पर्दैन ?
स्वतन्त्र रुपमा विवेकपूर्ण विचार राख्दा धेरै ठाउँमा समस्या आउँछन् । तर मेरा कुराबाट नेताहरू रिसाउलान्, मलाई अप्ठ्यारो पर्ला भनेर गलत कुराको समर्थन गरिंदैन । एक्लै हुनु परे पनि विवेकपूर्ण अडानमा म सधैं अडिग रहन्छु । फेरि शुद्धीकरण पनि व्यक्ति हुँदै समग्र पार्टीमा पुग्ने हो ।

अभियोग लागेका सांसदलाई निलम्बन नै किन गर्नुपर्‍यो ?
सामान्य कर्मचारी त फौजदारी अभियोग लागेपछि निलम्बन हुन्छन् भने हामी त जनताका प्रतिनिधि हौं । कानून बनाउने जनताका प्रतिनिधिलाई छूट र अरुलाई छूट नहुने भन्ने असमान व्यवस्था लोकतन्त्रमा हुनै हुँदैन । निलम्बन नगर्दा त छाडातन्त्र बढ्छ ।

अभियोग प्रमाणित भएपछि निलम्बनमा परिहाल्छन् नि !
जनप्रतिनिधिले उच्च निष्ठा र चरित्र प्रस्तुत गरेपछि मात्र अरुले पनि त्यसको सिको गर्छन् । अरुभन्दा पनि उच्च तहको निष्ठा, नैतिक चरित्र हुनुपर्ने सांसद आफैंलाई अभियोग लाग्दा पनि प्रमाणित भएपछि छोडौंला भन्दै बस्न पटक्कै सुहाउँदैन । विगतमा पनि फौजदारी अभियोग लागेका सांसदहरू निलम्बन भएका र अदालतबाट सफाइ पाएपछि संसदमा पुनः गएका उदाहरण छन् ।

पार्टीभित्र अरुलाई पनि आफ्नो विचारमा सहमत गराउन सक्नुहुन्न ?
मैले आफ्नोतर्फबाट प्रयास गरिराखेको छु । कतिपय अजेण्डामा अरुलाई सहमत गराउन सफल पनि भएको छु भने केहीमा असफल । भ्रष्टाचारी प्रमाणित भएका व्यक्ति पनि उम्मेदवार बन्न पाउनुपर्दछ भनेर पार्टीभित्र भएको लविङलाई धेरै जोडबल गरेर तोड्न सफल भएँ । लोकमानलाई महाअभियोग लगाउने विषयको शुरुआत गरे पनि सफल भइएन ।

प्रतिकृया दिनुहोस