टिप्पणीआइतवार, जेठ ६, २०७५

फूटबलले गुमाएको मणि

हिमालखबर

नवीन अर्याल

नेपाली फूटबलले अल्पायुमै गुमाएका अहिलेसम्मकै प्रभावशाली खेलाडी मणि शाहको जादुमयी कौशल देशले सधैं सम्झिरहनेछ ।

३० माघ २०५४, काठमाडौंको दशरथ रंगशाला दर्शकको भीडले खचाखच थियो । नेपाल, ‘एन्फा कोकाकोला आमन्त्रण कप फूटबल’ को फाइनलमा दक्षिण कोरियासँग भिड्दै थियो । रंगशालामा घरेलु दर्शकको भीड नेपाली टोलीका कप्तान, स्टार मिडफिल्डर मणि शाहको खेल हेर्न उपस्थित थियो । मणि त्यसबेला ‘पिक फर्म’ मा थिए ।

खेल सकिन १५ मिनेट बाँकी हुँदा मणिले देब्रे खुट्टाले आफ्नो ‘ट्रेडमार्क’ फ्रिकिक् हाने । २५ यार्ड टाढाबाट हानेको बल बिममा लागेर फर्कियो । खेल गोल्डेन गोलमा पुग्यो र नेपाल १–० ले पराजित भयो । मणिको ‘जादुमयी’ खेल हेरेर तृप्त भएका दर्शकले घर फर्कंदा कोरियासँगको हार बिर्से ।

आफ्ना स्टार खेलाडीको फ्रिकिक्को बयान गर्दै फर्किरहेका उनीहरूलाई केही छिनमै अर्को खबरले स्तब्ध तुल्यायो । त्यो थियो– ‘पोस्टम्याच कन्फ्रेन्स’ मा मणिको सन्यास घोषणा । सन् १९९८ को एशियन गेम खेलेर फर्कंदा नै मणिले ‘पिक फर्म’ मा हुँदै खेल जीवनबाट सन्यास लिने मन बनाइसकेका रहेछन् ।

नेपाली फूटबलमा ‘म्याराडोना’ को छवि बनाएका यिनै मणिले ३१ वैशाखमा दोस्रो पल्ट शुभचिन्तकलाई स्तब्ध तुल्याए । करीब ८ वर्षअघि मृत्युलाई जितेर फर्केका मणि कलेजोको संक्रमणका कारण ५१ वर्षको अल्पायुमै संसारबाट बिदा भएका छन् ।

नेपाली म्याराडोना !
१७ वर्षको कलिलो उमेरमै राष्ट्रिय टोलीमा परेर ५२ अन्तर्राष्ट्रिय खेलमा १२ गोल गरेका मणि नेपाली फूटबलमा अहिलेसम्मकै प्रभावशाली खेलाडी मानिन्छन् । सन् १९८२ मा १४ वर्षकै उमेरमा नेपालको जुनियर टीममा परेपछि उनले पछाडि फर्केर हेर्नु परेन ।

सन् १९८२ मा थाइल्यान्डको ब्याङ्ककमा सम्पन्न ‘प्रिन्सेस कप प्रतियोगिता’ मा जुनियर टोलीका उपकप्तान बनेका मणिको खेलकौशल देखेपछि अर्को वर्ष नै कप्तान नियुक्त गरिएको थियो । १९८३ मा भएको दोस्रो प्रिन्सेस कपमा ८ गोल गर्दै उत्कृष्ट खेलाडी घोषित भएका उनले जापान विरूद्ध दुई गोल गरेका थिए ।

सन् १९९८ को ब्याङ्कक एशियाडमा नेपाली झण्डा बोक्ने अवसर पाएका मणिविक्रम शाह ।

पाँच फिट पनि नउक्लेका मणिले जापान विरूद्ध देब्रे खुट्टाले फ्रिकिक् मार्फत गोल गरेपछि अचम्मित बनेका जापानी प्रशिक्षकले उनलाई जापानमा बसेर फूटबल खेल्न प्रस्ताव राखेका थिए । तर, सानैदेखि ‘होम सिक’ हुने समस्याले गर्दा उनले त्यो प्रस्ताव स्वीकारेनन् ।

मणिको खेल जीवनमा सबभन्दा ठूलो प्रभाव बुवा लक्ष्मणविक्रम शाहको थियो । एथलेटिक्सका धुरन्धर खेलाडी लक्ष्मणले सन् १९६२ मा इन्डोनेसियाको जकार्तामा सम्पन्न चौथो एशियाडमा ज्याभ्लिन–थ्रो तर्फ देशको प्रतिनिधित्व गरेका थिए ।

नेपाली खेलकुदमा विद्वान प्रशिक्षकको छवि बनाएका लक्ष्मणलाई भारतको मसुरीस्थित सेन्ट जर्ज कलेजमा अध्ययनरत रहँदा तत्कालीन राजा महेन्द्रले नेपाल आर्मीमा जागिर खान बोलाएका थिए । तर, उनी खेलकुदमै रमाए । सन् १९६० मा इजरायल गएर फिजिकल एजुकेशन पढ्ने पहिलो नेपाली प्रशिक्षक थिए, लक्ष्मण र कोमल पाण्डे ।

कोमल आफैं पनि फूटबलका नामी खेलाडी हुन् । मणिको बाल्यकालका थुप्रै घटनाका प्रत्यक्षदर्शी कोमल भन्छन्, “लक्ष्मणको घर गएको बेला मणि घर बाहिरबाट भित्तामा ड्वाङ ड्वाङ बलले हान्थ्यो । लक्ष्मण मलाई भन्थ्यो– तँलाई सुनाएको ।” तर, कोमल चाहिं मणिको उँचाइ देखेर ‘कन्भिन्स’ थिएनन् । उनी भन्थे– ‘त्यो डल्ले (मणिको घरको नाम) भन्दा कान्छो (मणिको भाइ) ले राम्रो खेल्ला ।’

‘ड्रग्स’ को कुलतमा लागेर अल्पायुमै ज्यान गुमाएका मणिका भाइ रत्नले दाजुसँगै मनाङमस्र्याङ्दी क्लबबाट लामो समय व्यावसायिक फूटबल खेलेका थिए । मनाङले ‘डी’ डिभिजनबाट एक गोल पनि नखाई ‘ए’ डिभिजनमा उक्लेर लिग जित्ने इतिहास रच्नुमा यी दाजुभाइको ठूलो योगदान थियो ।

फिजिकल एजुकेशनका ज्ञाता बुवाले मणिलाई सानैदेखि कडा शारीरिक अभ्यास गराउँथे । बिहानै विष्णुमती खोलाको किनारमा बालुवामा दौडिन लगाउँथे र फिटनेशका लागि कराते गुरु जगत गौचनको लैनचौरस्थित ट्रेनिङ सेन्टरमा लैजान्थे । सानैदेखि बक्सिङ खेल्न रुचि राख्ने मणि बक्सिङ पनि राम्रो खेल्थे ।

बक्सिङ गुरु स्व. नरबहादुर योञ्जनले स्पाइरिङका लागि प्रायः बोलाइरहने मणिले एकपल्ट तीन सटमा आफ्नो स्पाइरिङ पार्टनरलाई ढालेका पनि थिए । तर, बुवालाई बक्सिङमा रुचि थिएन । छोराले बरु फूटबल खेलोस् भन्ने चाहना थियो । कालान्तरमा मणिले बुवाको त्यही इच्छा पूरा गरे ।

मणिको सानैदेखिको लडाकू स्वभाव थुप्रै पल्ट मैदानमा समेत छताछुल्ल भएको छ । एकपटक ‘बी’ डिभिजन अन्तर्गत देउराली क्लब र थ्रीस्टारबीचको खेलमा रेफ्रीले पेनाल्टी नदिएको झोंकमा उनी मारपिटमै उत्रिए ।

त्यतिबेला उनको देउराली क्लब ०–१ गोलले पछाडि थियो । पेनाल्टीको विवादले हेर्दाहेर्दै दशरथ रंगशाला रणभूमिमा बदलियो । मणिले कर्नर किकका लागि मैदानमा राखिने झण्डा उखेलेर त्यसकै डण्डाले अरुलाई हिर्काउन थाले ।

भोलिपल्ट पत्रिकामा मणि दुई वर्षका लागि प्रतिबन्धित भएको खबर छापियो । तर, बुवाको पहुँचले गर्दा दुई महीनापछि प्रतिबन्ध फुकुवा भयो । सन् १९९४ मा जापानमा भएको एशिया कपमा पनि उनले रातो कार्ड सामना गरेका थिए ।

मणि सन् १९८५ मा बाङ्लादेशको ढाकामा आयोजना भएको दोस्रो दक्षिण एशियाली खेलकुद (साफ गेम) मा राष्ट्रिय टोलीमा परे । सन् १९८६ मा अर्जेन्टिनाले डिएगो म्याराडोनाको उत्कृष्ट प्रदर्शनमा विश्वकप फूटबलको उपाधि जित्दा मणि नेपालको राष्ट्रिय टोलीमा जम्ने तरखरमा थिए । म्याराडोना जस्तै सानो कद, घुम्रेको कपाल र देब्रे खुट्टाले बललाई ‘ड्रिब्लिङ’ र निर्दयी ढंगले हान्न सक्ने खूबीका कारण उनको तुलना अर्जेन्टिनी स्टारसँग हुन थाल्यो ।

सन् १९९३ को ढाका साफमा भारतसँग फाइनलमा पराजित भइसकेको स्थितिलाई उल्ट्याएर नेपाललाई जित दिलाएपछि उनको ख्याति दक्षिणएशियामै चुलियो । नेपाल २–१ गोलले पछाडि परेको स्थितिमा खेल सकिन ३० सेकेन्ड बाँकी रहँदा उनले आफ्नो चिरपरिचित देब्रे खुट्टाले फ्रिकिक् गोल गर्दै खेललाई टाइब्रेकरमा पु¥याएका थिए ।

टाइब्रेकरमा पनि पाँचौं तथा अन्तिम पेनाल्टी हान्ने जिम्मेवारी उनकै काँधमा थियो । उनले गोल गरे खेल बराबरी हुने, नभए नेपाल हार्ने अवस्था थियो । उनले गोल गरे । भारतको अर्को पेनाल्टी नेपाली गोलकिपर उपेन्द्रमान सिंहले जोगाए । र, बसन्त गुरुङले निर्णायक गोल गरेपछि नेपालले स्वर्ण पदक जित्यो ।

देब्रे खुट्टाको जादु
मणिको देब्रे खुट्टाको चर्चा देशभित्र सीमित थिएन । दक्षिण एशियाली देशका खेलाडीहरू मणिले देब्रे खुट्टामा बल राख्यो कि बितायो भन्ने गर्थे । सन् १९९३ को साफ गेमको फाइनलमा भारतीय खेलाडीले सबभन्दा धेरै आक्रमण मणिको देब्रे खुट्टामै गरेका थिए । भारतका चर्चित डिफेन्डर आइएम बिजेन आफ्ना खेलाडीलाई मैदानभित्रै सतर्क पार्थे– ‘त्यसको देब्रे खुट्टामा बल राख्नै नदेऊ ।’

मणिलाई ‘माइन्ड गेम’ खेल्न उस्ताद खेलाडी मान्ने राष्ट्रिय टोलीका पूर्व गोलकिपर रवि राजकर्णिकार भन्छन्, “मणिले आक्रामक रुपले बल अगाडि ल्याउँदा लाग्थ्यो– यसले जाली फोड्ने गरी हान्छ । तर, फुस्स हान्दिन्थ्यो । ऊ सामान्य पोजिसनमा बसेको बेला के हान्ला भनेर अलर्ट बसेन भने जाली फोड्ने गरेर हान्थ्यो ।”

भारतका चर्चित फूटबलर भाइचुङ भुटिया मणिका ‘फ्यान’ थिए । मणि सिक्किमको चर्चित प्रतियोगिता ‘गभर्नर्स गोल्ड कप’ खेल्न जाँदा भारतको राष्ट्रिय टीममा परिनसकेका भाइचुङ उनको अघिपछि नै देखिन्थे । सन् १९९९ मा आठौं साफ गेम खेल्न नेपाल आउँदा भारतीय टीमका सदस्य रहेका भाइचुङ मणिलाई भेट्न कालधारास्थित घरमै पुगेका थिए ।

सन् १९९० ताका जर्मनीमा ट्रेनिङ गर्न जाँदा मणिलाई स्थानीय ‘सी’ डिभिजन क्लबले व्यावसायिक फूटबल खेल्न प्रस्ताव राखेको थियो । सन् १९८६ मा दक्षिण कोरियामा पहिलो पल्ट एशियन गेम खेलेपछि उनको खेल हेरेर सिंगापुरको ‘ए’ डिभिजन क्लबले पनि अफर गर्‍यो ।

तर, ‘होम सिक’ को समस्याका कारण मणिले दुवै प्रस्ताव अस्वीकार गरे । २०४८ सालमा भारतको इष्ट बंगाल क्लबले गरेको प्रस्ताव उनले बुवा बितेकाले स्वीकार गरेनन् । गोवाको चर्चित क्लब सालगाकर र बाङ्लादेशको भिक्टोरिया क्लबमा एक–एक वर्ष अनुबन्धित भएका उनी दुवै क्लबमा तीन–तीन महीना मात्र टिके । त्यतिबेलै क्लबले मासिक एकहजार डलर पारिश्रमिक दिए पनि उनी ‘होम सिक’ कै कारण छिट्टै घर फर्किए ।

बुवा, आमा र भाइको छिटो निधनले उनको जीवनमा ठूलो रिक्तता ल्याएको थियो । सन् १९९३ को साफमा स्वर्ण जितेको र १९९८ को ब्याङ्कक एशियाडमा नेपालको राष्ट्रिय झण्डा बोक्ने पहिलो फूटबल खेलाडीको गौरव प्राप्त गरेको क्षण बुवालाई देखाउन नपाउँदा उनी खिन्न थिए । मणिको अन्त्य बुवाकै जस्तो भयो ।

२०३४ सालमा शरदचन्द्र शाह राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिव भएपछि लक्ष्मणको जागिर चेपुवामा प¥यो । त्यही कारण उनी मद्यपानको अम्मली भए र ५२ वर्षको उमेरमा उनको निधन भयो । दरबारको शक्ति हुँदा नेपाली फूटबलमा आउने राजनीतिक अवरोधलाई चिर्न थुप्रै काम गरेका मणि पछि आफैं बढारिए । पछिल्लो समय फूटबलमा आफ्नो योगदानको कदर नभएपछि उनी निराश थिए । त्यो निराशा छोप्न उनले पनि बुवाकै पथ समाते ।
अलबिदा नेपाली म्याराडोना !

प्रतिकृया दिनुहोस