दस्तावेजआइतवार, जेठ ६, २०७५

मिथिलाबारे अफवाह

ज्ञानमणि नेपाल

‘मिथिला प्रदेश अंग्रेजको अधीनमा थियो र सुगौली सन्धिमा त्यो प्रदेश नेपाललाई दिएको’ भन्नु कुतर्क बाहेक केही होइन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको जनकपुर आगमनकै बेला, उनकै पार्टीका निलम्बित सांसद कीर्ति आजादले दुई मुलुकको सम्बन्धलाई नै तिक्त बनाउने गरिको विखण्डनकारी कुरा गरे ।

‘२०० वर्षअघि अंग्रेज र नेपालबीच भएको सन्धिमा मिथिलाको भाग नेपाललाई दिएको र अब भारतले फिर्ता लिएर मिथिला राज्य घोषणा गर्नुपर्छ’– आजादले भनेका थिए । इतिहासलाई बंग्याउने यस्तो धृष्टताप्रति सतर्क हुनुपर्ने देखिन्छ ।

पहिलो कुरा त, मिथिला प्रदेश अंग्रेज राज्य अन्तर्गत थियो भन्ने कुरा नै गलत हो । यो प्रदेश तेह्रौं, चौधौं शताब्दीमा सिम्रौनगढमा पर्थ्यो । यक्ष मल्लको विजयपछि केन्द्रकै अन्तर्गत आयो ।

फेरि पाल्पाका राजा मुनि मुकुन्द सेनको कालमा मिथिला सेन राज्य अन्तर्गत नै पर्‍यो । मुकुन्द सेनका छोरा छुट्टिंदा राज्य पनि छुट्याए । कान्छा लोहाङ्ग सेनले गण्डकी पूर्वको सम्पूर्ण भाग मकवानपुर राज्यभित्र पारेर कज्याए । यो राज्य छुट्टिएर मकवानपुर, विजयपुर र चौदण्डी बने ।

यी राज्यका राजाले दानदातव्य, जागिर, बिर्ता, घडेरी, छापखर्क दिएका स्याहामोहरहरू प्रशस्त पाइन्छन् । मोहरमा राजारानीका मुकाम उल्लेख गरिएका हुन्थे ।

पहाडमा किल्ला कोट र तराईमा मुकाम धेरै देखिन्छन् । लोहाङ्ग सेनको हिउदे मुकाम नै लहान थियो । त्यस्तै अमरपुर, जयनगर र सिसौटपुर आदि मुकाम पनि देखिन्छन् ।

१८१९ सालमा पृथ्वीनारायण शाहले मकवानपुर जितेर नेपाल राज्यमा मिलाए । सेन राजाकै पालामा धेरै जग्गा राम मन्दिर र मटिहानी गुठीमा राखिएका थिए ।

मटिहानीमा एक हजार ५०० बिघा जमीन नै गुठी राखिएको छ । गुठी सञ्चालन मान–महन्तले गर्छन् । यहाँ स्थापित पाठशालाका १०८ विद्यार्थीले दैनिक भोजन गर्न पाउँछन् ।

जलेश्वर महादेवको दैनिक पूजा पनि यही गुठीबाट संचालित छ । त्यसैले पनि भाइभारदारहरूका धर्मकीर्तिका कुरा जनकपुर र मटिहानीमा प्रशस्त पाइन्छन् ।

जनकपुरको राम मन्दिर जीर्णोद्धार पनि नेपाली भारदारबाटै भएको हो । मटिहानी नजिकैको तुलस्याहीमा भोटु पाँडेले ठूलो मौजा गुठी राखेर विशाल मन्दिर स्थापना गरी नित्यनैमित्तिक पूजाको व्यवस्था मिलाएका थिए, जो अहिले पनि चलेकै छ ।

त्यही तुलस्याहीकै आम्दानी आयस्ताबाट पाँडेले काठमाडौंको क्षेत्रपाटीमा सदावर्त चलाएका थिए । पाँडेको यस्तो कीर्ति फिजाउने पत्र स्वयंले छापिसकेको छु ।

जानकी मन्दिरका महन्तको अखडामा सुरक्षित रहेको करीब ३०० वर्षअघि लेखिएको सीतायन ग्रन्थ तीर्थ भट्टराई मार्फत फोटोकपी गराएर ल्याएको थिएँ, जुन अहिले राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ ।

जनकपुर, जलेश्वर र मटिहानीका धर्मकीर्ति उजागर गर्ने र स्थितिव्यवस्था मिलाउने धेरै पत्र, अभिलेखहरू पुरातत्व विभागबाट पनि प्रकाशित छन् ।

अर्को कुरा, १८६३ सालमा राजा गीर्वाणयुद्धबाट ४० सवालको लालमोहर गराएर भीमसेन थापाले महाकालीदेखि टिष्टासम्मको भूभागको आयस्ता निर्धारण गर्न, उजुरबाजुर सल्टाउन चौध जना माधौ शाही आदि भारदार खटाएका थिए । तिनले सवाल बमोजिमको कामकारबाही देशभर गरेका थिए ।

सेन राजा अधीनस्थ पूर्वी तराईमा अंग्रेजले झिकेको बखेडा पृथ्वीनारायणकै पालामा सल्टिसकेको थियो । पछि भीमसेन थापाको पालामा पाल्पा र प्यूठानको तराईबारे अंग्रेजले फेरि कचिङ्गल उठायो, जसलाई भीमसेनले पृथ्वीनारायणले झैं कूटनीतिक चातुर्यले सुल्झउन नसक्दा नेपाल–अंग्रेज युद्ध भयो । युद्धताका अंग्रेजका तर्फबाट तराईमा लुटपाट, आतङ्क मच्चाइयो । तराईवासीले ठूलो संकष्ट भोग्नुपर्‍यो ।

‘मिथिला प्रदेश अंग्रेजको अधीनमा थियो र सुगौली सन्धिमा त्यो प्रदेश नेपाललाई दिएको’ भन्ने कुतर्क गर्ने निलम्बित भारतीय सांसद आजादलाई माफी मगाउनेतर्फ केपी ओली नेतृत्वको सरकारले सामथ्र्य देखाउनै पर्छ । भारत सरकारले पनि बेलैमा आजादलाई नेपालीका मनमा परेको आघात मेटाउन निर्देशन दिनुपर्छ ।

त्यसो त भारतका केही विस्तारवादी मनोवृत्तिका व्यक्तिहरूले नेपाली भूमिका विश्वप्रसिद्ध क्षेत्रहरूमा आँखा लगाइराखेकै छन् भन्ने बुझ्न लुम्बिनी एउटा उदाहरण हो ।

बुद्ध जन्मस्थल लुम्बिनी नै हो भन्ने प्रमाणित गर्न २३०० वर्ष पहिलेदेखि खडा अशोक स्तम्भ छँदाछँदै बुद्धको जन्म भारतमा भएको प्रचार गर्ने भारतीय पनि छन् ।

अहिले त सांसद जस्तो पदमा रहेको व्यक्तिले नै भ्रम फैलाउने दुस्साहस गरेका छन् । आफूलाई ‘धर्मपरायण’ भन्न रुचाउने मोदीले जानकी जन्मस्थल कहलिएको मिथिला क्षेत्रको इतिहास बङ्ग्याउने कुचेष्टा गर्ने आजादलाई बेलैमा ठेगान लगाउनुपर्छ । 

प्रतिकृया दिनुहोस