टिप्पणीशनिवार, जेठ ५, २०७५

विविधतामय बौद्ध समाज

वसन्त महर्जन

विश्वभर बौद्ध धर्मदर्शन फैलनुको अन्तर्य यसमा निहित उदारपन, विविधता, ग्रहणशीलता पनि हो भन्ने तथ्य बिर्सनुहुन्न ।

तस्वीरः वसन्त महर्जन

विविधता–लुम्बिनी लगायतका अन्तर्राष्ट्रिय बौद्ध स्थलहरूको एउटा प्रमुख विशेषता हो । तर यही विविधता आत्मसात् गर्न नसक्दा परम्परागत नेपाली बौद्ध समाज एक अर्कालाई विकृत, जडवादी ठान्दै विभिन्न आक्षेपको तहसम्म उत्रिएका छन् ।

बुद्ध शिक्षालाई बहुआयामिक दृष्टिकोणबाट बुझ्न नसक्दा पनि यस्तो समस्या आएको हो । यस्तो विविधताको विकास स्वयं बुद्धबाटै भएको वास्तविकता अनेक प्रसङ्गबाट बुझ्न सकिन्छ । 

बुद्ध जनसाधारणकै भाषामा उपदेश दिन्थे र भिक्षुहरूलाई पनि त्यस्तै गर्न भन्थे । तत्कालीन समाजमा धर्म–दर्शनका कुरा संस्कृत भाषामा छन्दोबद्ध गर्ने चलन थियो र केही भिक्षुले बुद्धका उपदेशलाई पनि त्यस्तै छन्दोबद्ध गर्न अनुमति पनि मागेका थिए । तर, उनी मानेनन् । यसको तात्पर्य आफ्नो उपदेश कुनै जाति, भाषा, समाज, संस्कृति तथा परम्परामा सीमित हुनबाट जोगाउने बुद्धको मनसाय हुनुपर्छ ।

वर्णवाद र जातीय विभेद स्वीकार्य नभएकै कारण बुद्ध संघमा सबैलाई प्रवेश दिन्थे । कुनै संस्कारमा पनि विशेष आग्रह थिएन । त्यही भएरै विभिन्न भूगोलमा बौद्ध धर्मदर्शन चाँडै घुलमिल हुनसक्यो । दुई हजार वर्षअघि मध्य एशियाको बाटो भई बौद्ध धर्म चीन पुग्यो ।

चिनियाँ संस्कृति र परम्परा अनुसार हुर्कंदै चिनियाँ भाषामा यसका ग्रन्थ अनुवाद हुन थाल्यो । चीनबाटै यो धर्म कोरिया र जापान पुग्यो । शिन्तो धर्म र परम्परा रहेको जापानमा बौद्ध धर्मलाई शुरूमा विदेशी धर्मका रूपमा व्यवहार गरियो । तर, कल्याणकारी धर्मदर्शन, स्थानीय भाषा, संस्कृति र परम्परालगायत कुनै कुरामा पनि हस्तक्षेप नहुँदा बुद्धको शिक्षाले अपनत्व पायो ।

बुद्धले कुन, कुन भाषामा उपदेश दिएका थिए भन्ने कुरा भने खुल्दैन । तर तत्कालीन समयमा मगधी भाषाको प्रचलन ज्यादा भएकाले यही भाषामा बढी उपदेश दिएको अनुमान छ । बुद्धका उपदेश मौर्यसम्राट अशोकका छोरा भिक्षु महेन्द्र र छोरी भिक्षुणी संघ मित्राबाट श्रीलंका पुगेको र सिंहाली भाषामा अनुवाद भई लिपिबद्ध समेत भएको थियो ।

पाँचौं शताब्दीमा एक भारतीय भिक्षु बुद्धघोष श्रीलंका पुगी ती उपदेशहरूलाई मगधी भाषामा अनुवाद गरेको र ती ग्रन्थ हालसम्म पालि त्रिपिटकका रूपमा सुरक्षित रहेको बुझिन्छ । तर, यसअघि नै महायान बौद्ध धर्म–दर्शनका ग्रन्थहरू संस्कृतमा लिपिबद्ध भइसकेको थियो ।

बौद्ध धर्म अध्ययनका लागि पाँचौं र सातौं शताब्दीमा चीनबाट आएका क्रमशः फाहियान र ह्वेनसाङ लगायतका भिक्षुहरूले पालि तथा संस्कृत ग्रन्थ अध्ययनपश्चात् त्यसलाई चिनियाँ भाषामा अनुवाद गरेका थिए । आठौं शताब्दीपछि तिब्बती भाषामा यसको अनुवाद व्यापक हुन थाल्यो । बौद्ध समाजमा भाषागत आग्रह नभएका कारण अनुवाद कार्यले पनि व्यापकता लिएको बुझ्न गाह्रो पर्दैन ।

बौद्ध धर्मावलम्बीमा सूत्र पाठदेखि प्रार्थनामा बस्ने तरिकामा नै विविधता पाइन्छ । बुद्धको जन्म, बोधिलाभ र महापरिनिर्वाणको सम्झनामा नेपालमा मनाइने वैशाख पूर्णिमाको सन्दर्भ जापान तथा थाइल्यान्डमा अन्य दिनमा मनाइन्छ । भिक्षु तथा भिक्षुणीले लगाउने चीवरको रंग, बनावट र शैलीमा पनि एकरूपता छैन ।

बौद्ध धर्मका तीन यानमध्ये हिनयानअन्तर्गतका थेरवादी बौद्धहरू अर्हत् पद प्राप्तिमा जोड दिन्छन् भने महायानी बौद्ध स्वयं सम्यक्सम्बुद्ध नै हुने लक्ष्यसहितको दर्शन अंगीकार गर्दछन् । यसलाई थेरवादी विकृतिका रूपमा बुझ्छन् तर महायानी बुद्धको उपदेशमा टेकेर महायानी साहित्य सिर्जना मान्दछन् ।

बुद्धले वैचारिक स्वतन्त्रतामा जोड दिएका कारण स्वभावतः थुप्रै सम्प्रदाय तथा उपसम्प्रदायको उदय हुनु स्वाभाविक हो । बुद्धको मध्यमार्गी दृष्टिकोण तथा उपायकौशल्य जस्ता विशेषताले पनि समाजमा विविधता देखिनु अस्वाभाविक होइन ।

बौद्ध धर्मदर्शन समाजमा घुलमिल हुने क्रममा स्थानीय देवीदेवतालाई पनि अंगीकार गर्ने चलन रहेको पाइन्छ, जुन विविधताको अर्को उदाहरण हो । तिब्बतमा बोन धर्मका पात्रहरूले बौद्ध धर्ममा ठाउँ पाए भने प्रारम्भमा बौद्ध धर्ममा नभएका गणेश लगायतका देवताहरू नेपाल तथा भारतका विभिन्न बौद्धस्थलमा देखिए ।

स्थानीय देवीदेवतालाई अपनाएर बौद्ध धर्मअनुसार नै आचरण गर्ने कुरा थाइल्यान्ड, बर्मा, श्रीलंका लगायतका देशहरूमा पनि भएको पाइन्छ ।

प्रत्येक बौद्ध धर्मावलम्बीले विविधताका सबै आयाम अध्ययन गर्नुपर्दछ भन्ने मान्यता राख्नु व्यावहारिक हुँदैन । योे धर्मको अभ्यास विविधतायुक्त र बुद्धको मूल शिक्षामा नै आधारित छ भन्ने हेक्का चाहिं राख्नैपर्छ । जसले, वैमनस्य हटाउन सहयोग पुग्छ ।

बौद्ध धर्ममा विविधता सामना धेरैजसो पर्यटन क्षेत्रमा आवद्ध व्यवसायीले गर्नुपर्ने हुन्छ । यस्तो विविधता नबुझ्दा बेलाबेला अपव्याख्या एवं गल्ती समेत हुने गरेको छ । त्यसैले बौद्ध धर्मबारे केही महत्वपूर्ण निर्णय गर्नुअघि विविधतामा ध्यान दिनु अत्यावश्यक छ ।

प्रतिकृया दिनुहोस