एमाले–माओवादी पार्टी एकताको घोषणा हुँदै
करिब आठ महिना अघि वाम गठबन्धन बनाएर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी भएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र औपचारिक रुपमै एकताबद्ध हुने भएका छन् ।
एमाले र माओवादीका नेताहरुले ३ जेठ साँझ संयुक्त पत्रकार सम्मेलनमार्फत् पार्टी एकीकरण र एकीकरणपछि बन्ने नयाँ पार्टीको नाम घोषणा गर्दैछन् । त्यसका लागि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दुवै पार्टीका नेताहरु अन्तिम तयारीमा व्यस्त छन् ।
३ जेठ बिहान एमालेका दिवंगत नेताद्धय मदन भण्डारी र जीवराज आश्रितको स्मृति सभाबाट एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बेलुकी पार्टी एकीकरणको घोषणा हुने औपचारिक जानकारी गराएका हुन् ।
एकीकरणको घोषणाअघि एमाले र माओवादी दुवैले आफ्नो केन्द्रीय कमिटी भंग गर्ने र निर्वाचन आयोग पुगेर नयाँ दल दर्ता गर्ने जानकारी दुवै दलका नेताहरुले दिएका छन् । एकीकरणपछि बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति एमाले र माओवादीबीच भइसकेको छ । नयाँ पार्टीमा दुईजना अध्यक्ष रहनेछन् । नयाँ पार्टीको संगठनात्मक संरचना र पदीय समीकरणको विषयमा पनि दुई दलबीच सहमति जुटिसकेको छ ।
एमाले र माओवादीले गत १४ असोज २०७४ मा संयुक्त चुनावी गठबन्धन घोषणा गर्दै यसलाई पार्टी एकतासम्म लैजाने बताएका थिए । गठबन्धनमार्फत संयुक्त सरकार हुँदै करिब आठ महिनापछि एकता प्रक्रिया टुंगोमा पुगेको हो । एमाले र माओवादीको एकतासँगै प्रतिनिधिसभामा स्पष्ट बहुमतप्राप्त पार्टीको सरकार हुनेछ ।