सगरमाथा आरोहणमा कामीरिताको विश्व किर्तिमान
“देशलाई ‘रेकर्ड’ चाहिन्छ तर ‘रेकर्ड’ राख्ने मान्छे चाँहि चाँहिदैन”, १४ चैतमा सगरमाथा आधारशिविर जानुअघि कामीरिता शेर्पाले हिमालसँग भनेका थिए ।
नभन्दै सोलुखुम्बुको खुम्बु–पासाङल्हामु–५ थामेका ४८ वर्षीय उनै कामीरिताले २ जेठ बिहान साढे आठ बजे २२ औं पटक सगरमाथाको शिखर टेकेका छन् । र, विश्वमै सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने व्यक्तिका रुपमा देशकै उचाइँ बढाएका छन् ।
सेभेन समिट्स ट्रेक्स्का गाइड शेर्पा नौ चिनियाँ पदयात्रीसँगै मंगलबार राति क्याम्प फाइभबाट उकालो लागेर बुधबार बिहान शिखरमा पुगेका थिए ।
“बिहानै शिखरमा पुगेर यतिबेला उनी ८ हजार मिटरको क्याम्प फोरमा आइपुगेका छन्”, सेभेन समिट्सका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले भने ।
यसअघि कामीरितासँगै आप्पा शेर्पा र फुर्वाटासी शेर्पाले २१ औ पटक सगरमाथा आरोहणको किर्तिमान बनाएका थिए । आप्पा र फुर्वाटासी दुवैले पुनः सगरमाथा चढने सम्भावना नरहेको बताउँदै आएका छन् ।
आरोहणअघि कुरा गर्दै कामीरिताले किर्तिमानको भोक आफूमा नभएको पेशा नै यही भएकाले चढ्नु परेको पटकपटक बताएका थिए ।
“थुप्रै शेर्पाहरुले किर्तिमान बनाएका छन्, आङरिता शेर्पाले विना अक्सिजन १० पटकसम्म सगरमाथा चढेर ‘वल्र्ड रेकर्ड’ बनाएका छन्, खैं के भएको छ र ?”, ‘किर्तिमान बनाएपछि के हुन्छ ?’ भन्ने प्रश्नको जवाफमा उल्टै उनले प्रश्न तेर्स्याएका थिए ।
“कामीरिताले विश्व किर्तिमान बनाएर देशलाई ठूलो गुन लगाएका छन्, अब उनीजस्ता किर्तिमानधारी आरोहीलाई कसरी सम्मान गर्ने भन्ने दायित्व सरकारको हो”, नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा भन्छन् ।
सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा काम थालेका कामीरिताले १९९८ मा पहिलोपटक गाइडकै रुपमा सगरमाथा आरोहण गरेका थिए । २००९, १० र १३ मा उनले एकै सिजनमा तिनपटकसम्म सगरमाथाको शिखर टेके । उनका दाजु लाक्पारिताले पनि १७ पटक सगरमाथा आरोहण गरिसकेका छन् ।
थामे प्राविमा कक्षा ४ सम्म पढेका कामरिता अहिले बौद्धमा डेरा गरि बस्छन् । छोरा कक्षा १२ मा पढिरहेका छन् भने छोरीले एसईई परीक्षा दिएकी छन् ।
आरोही शेर्पाका भविष्यप्रति चिन्तित देखिने कामीरिता छोराछोरी भने सगरमाथा नचढुन् भन्ने चाहान्छन् ।
“सरकारले हिमालको राजस्वमा मात्र ध्यान दिएको छ, हामी शेर्पाको भविष्यबारे सोचेको छैन”, उनको गुनासो थियो, “सिजनको कमाइले परिवार धान्ने हो, तलमाथि केही भइहाले कस्ले हेर्ने ?”
बेलैमा ध्यान नदिने हो भने हिमाल चढाउने शेर्पा नपाइने उनको भनाइ छ ।
गुनासोबीच पनि कामरिताको कर्म भने जारी छ । साथीहरुले उनलाई ३० पटकसम्म सगरमाथा चढन हौस्साइरहेका छन् । “तर, २५ पटकसम्म म चढछु भन्ने लाग्छ”, उनको भनाइ छ ।
-रविन गिरी