गाउँघरमै पुगेर सेवा दिंदै बाजुराका स्वास्थ्य केन्द्र
३१ वैशाखमा बूढीनन्दा नगरपालिका–६ की २१ वर्षीया मनिषा मियाँलाई गहुँ काट्दै गर्दा सुत्केरी व्यथाले च्याप्यो । आफन्तले मनिषाको बारेमा स्वास्थ्यकर्मीलाई खबर गरे र तत्कालै डेढ घण्टाको पैदल दुरीमा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीको लागि हिँडाए । तर, केहीबेर हिँडेपछि उनीहरुले बाटोमै स्वास्थ्यकर्मीलाई भेटे ।
बूढीनन्दा–३ नुरूका ७२ वर्षीय गगने रोकायाले दमको औषधि नियमित खाइरहेका छन् । यसअघि उनलाई वा उनका आफन्तलाई औषधि लिन चार घण्टाको पैदल दूरीमा पर्ने कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जानुपथ्र्यो । स्वास्थ्य केन्द्रमा औषधि नभएको समयमा एक दिनको पैदल यात्रा गरेर जिल्ला स्वास्थ्य कार्यालय बाजुरा पुग्नुपर्ने बाध्यता थियो । तर, अहिले त्यो अवस्थाको अन्त्य भएको छ ।
गम्भीर बिरामी, सुत्केरी, बृद्धबृद्धा लगायतलाई घरदैलोमै पुगेर सेवा दिन शुरु गरिएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र अन्र्तगत फेज नेपालमा कार्यरत स्टाफ नर्स मुना देवकोटाले जानकारी गराइन् । बिरामीको अवस्थाको बारेमा आफन्तले खबर गरे घरदैलोमै सेवा दिन थालिएको देवकोटाले बताइन ।
गाँउमा स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले फेज नेपाल नामक गैरसरकारी संस्थाको सहकार्यमा बिरामी भएको ठाँउमा सेवा दिन थालेको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक एक सयभन्दा बढी बिरामी आउने गरेका थिए । गाउँघरमै स्वास्थ्य सेवा पु¥याउन थालेपछि केन्द्रमा आउने बिरामीको चाप कम भएको स्वास्थ्य केन्द्रका प्रमुख डा. विजय शाहले बताए । यसले स्वास्थ्य सेवाको पहुँच विस्तार हुने उनले बताए ।
बूढीनन्दा नगरपालिकाका साथै हिमाली र स्वार्मीकार्तिक गाउँपालिकाका स्वास्थ्य केन्द्रले पनि फेज नेपालको सहकार्यमा घरघरमा स्वास्थ्य सेवा र औषधि वितरण गर्न थालेका छन् ।
प्रकाश सिंह, बाजुरा