ब्लगबिहिवार, जेठ ३, २०७५

नागरिक सर्जन

कनकमणि दीक्षित

जीवनको सही अर्थ बुझेकैले हुनुपर्छ, डा. उपेन्द्र देवकोटा काम गर्न पनि नेपालै आए, ठूलो रोगले च्याप्दा पनि नेपालै फर्किए ।

डा. उपेन्द्र देवकोटासँग मेरो सम्पर्क वीर अस्पताल मार्फत गाँसिएको हो । करीब ३५ वर्षअघि डा. दिनेशनाथ गंगोलको टीममा रही उनले मेरो हर्नियाको शल्यक्रिया गरेका थिए । दोस्रो पल्ट भने ज्यान नै बचाइदिए, एक सक्षम न्यूरोसर्जनको हैसियतमा । 

अहिले क्यान्सर रोगले पीडित डा. देवकोटा जति सकिन्छ, आफ्नो उपचार स्वदेशमै गर्ने भन्दै काठमाडौं फर्किए । आउँदा आउँदै यहाँको माटोको टीका लगाए ।

डा. देवकोटाको माटोप्रतिको समर्पण मैले वीर अस्पतालको चौथो तलाको न्यूरोसर्जरी विभागमा अनुभव गरेको हुँ । त्यतिबेला, सन् २००१ ताका, वीर अस्पतालको फोहोर, लथालिङ्ग र बेवारिस नियति भइसकेको थियो– अस्पतालको त्यो दशाबाट आम गरीब बिरामीप्रतिको अपहेलना प्रतिबिम्बित हुन्थ्यो । सिवाय त्यो न्यूरोसर्जरी यूनिट, जसको अवलोकन मैले गर्न पाएँ, डा. देवकोटाको पेशेन्ट भएर ।

मनाङबाट एक्लै पदयात्रामा झर्दै गर्दा घेर्मुभन्दा तल, लमजुङको बाहुनडाँडा भन्दा अलि माथि लिलीभीर भन्ने अनकन्टार ठाउँमा बाटोबाट चिप्लिएर म मस्र्याङ्दीको भिरालो पाखोमा अड्किन पुगें । तीन रात त्यहीं कट्यो, चलमलाउन नसक्ने गरी चट्टानको एउटा तख्तामा ।

वीर अस्पतालको न्यूरोसर्जरी विभाग । तस्वीरः बिक्रम राई

चौथो दिन दाइ कुन्द र पर्वतारोही मित्र पदम घलेसहितको उद्धार टोलीले मलाई फेला पारे । मेरो ज्यान बचाउने पहिलो पात्र रहे गोरखाका लोकबहादुर लामा, जसले ठूलो जोखिम मोलेर लिलीभीरबाट मलाई बुई चढाई निकाले । दोस्रो पात्र हुन्, डा. उपेन्द्र देवकोटा ।

उतिबेला हाडजोर्नी (अर्थोपिडिक) सर्जनले ढाड र टाउकोको चोट सबै हेर्नुपथ्र्यो । तर डा. देवकोटाको अगुवाइमा न्यूरोसर्जरीले पाइला चाल्दै थियो । टाउको र ढाडको चोट (हेड, स्पाइनल इन्जरी) औधी लाग्ने ठाउँ हो नेपाल, यहाँको कठोर जीविकाका कारण ।

स्याउला काट्न जाने महिला विना सुरक्षा रूख चढ्ने अनि चिप्लिने, भरियाहरू भिरालो बाटोबाट खस्ने । ढाड–टाउकोमा चोट लाग्ने नेपालीको औसत संख्या अन्यत्र भन्दा बढी छ । फेरि केही वर्ष अघिसम्म स्पाइनल र हेड इन्जरी हुनेमा अधिकांश गरीब थिए, हालै मात्र यातायात दुर्घटना, कन्स्ट्रक्सन उद्योग इत्यादिको दुर्घटनाले मध्यमवर्गीय पीडितको संख्या बढेको छ ।

दुई दशक अघिसम्म मुख्यतः विपन्न नागरिक र परिवारले झेल्नुपर्ने प्रकोपकै रुपमा रहेको यही स्पाइनल इन्जरी विधामा डा. देवकोटाले आफ्नो विशेषज्ञता तिखारे, बेलायतका सर्वश्रेष्ठ न्यूरोसर्जनहरूलाई गुरु थापे । यसरी गोरखाको विकट गाउँको ‘मध्ययुगीन’ भन्न मिल्ने परिवेशबाट फाल हालेर जनतालाई अत्याधुनिक विधाद्वारा सेवा गर्न उदाए ।

मेरो हकमा गर्दनको सि–सिक्स्, सि–सेभेन् र टि–वान् भर्टेब्रे हाड छियाछिया भएको थियो तर दुई हजार जनामा एकलाई मिल्ने संजोगले मेरो मेरुदण्ड छिन्न पाएन, त्यसैले हात, खुट्टा, श्वास–प्रश्वास नचल्ने अवस्थाबाट म बचें ।

डा. देवकोटा अन्तर्राष्ट्रिय जगतमा चम्कने सुनिश्चितता छोडेर नेपालै आए । उनी फर्कनुमा शायद आफ्नै समाज, संस्कृति र सामुदायिक परिवेशमा नै जीवन आनन्ददायी र उत्साहप्रद हुन्छ भन्ने बुझाइ हुनुपर्छ ।

तर अवस्था अति नै जोखिमपूर्ण थियो, जब डा. देवकोटासामु म नर्भिक अस्पताल पुर्‍याइएँ । पहिला त प्लाष्टिक सर्जरी गर्नुपर्‍यो कन्चट र टाउकोका ठाउँ ठाउँमा छाला च्यातिएको कारण । ढाडको अति संवेदनशील शल्यक्रिया गर्नुथियो । डा. देवकोटाको साथ पाएपछि परिवारले विदेश लग्ने कुरै सोचेन । उनले मलाई सरकारी वीर अस्पतालमा सारे र भने “स्पाइनल सर्जरीलाई चाहिने जति उपकरण, व्यवस्था सबै वीरमा छ ।”

सम्झन्छु वीरको शल्यक्रिया कक्षतर्फ स्ट्रेचरमा गुडाएर लगिएको, सिलिङ्गमा भगवानका तस्वीरहरू थिए । भगवान सम्झनु, फर्केर आइन्छ आइँदैन भनेरै होला । म र मेरो परिवार भने ढुक्क थियौं, डा. देवकोटाको रेखदेखमा । शल्यक्रिया जोखिमपूर्ण र लामो थियो, त्यसको विवरणतर्फ नजाऊँ । यति भनौं कि डा. देवकोटाको हात र मस्तिष्कको सीपले मलाई ‘नर्मल’ बनाइदियो, र म उनका ‘स्टार पेशेन्ट’ मध्येको एक बनें ।

डा. देवकोटा अन्तर्राष्ट्रिय जगतमा चम्कने सुनिश्चितता छोडेर नेपालै आए । उनी फर्कनुमा शायद आफ्नै समाज, संस्कृति र सामुदायिक परिवेशमा नै जीवन आनन्ददायी र उत्साहप्रद हुन्छ भन्ने बुझाइ हुनुपर्छ । त्यागको भावना भन्दा पनि जीवनको अर्थको तीक्ष्ण र सही बुझाइकै कारण उनी नेपाल फर्के ।

नेपाली रस बुझेका वैज्ञानिक हुन्, डा. देवकोटा । र, यही कारण एकरत्ति पनि हतास मनस्थिति बेगर उनी आफ्नो जीवनकथा लेख्दैछन्, अस्पतालकै शैय्याबाट । जीउ अलि गलेको होला, तर ‘उपेन्द्रबाबु’ को तर्क, तथ्य र अनुभवमा आधारित बौद्धिकता यथावत् छ ।

प्रतिकृया दिनुहोस