रिपोर्टमंगलवार, जेठ १, २०७५

जलविद्युत् आयोजनाको प्रभाव: मासिए जलचर, नासिदै संस्कृति

रामु सापकोटा

विकाससँगै जोडिएर आउने विनाश बुझ्न मिर्मी–रिडी क्षेत्रको पर्यावरण, संस्कृति र व्यवसाय नराम्ररी प्रभावित गरेको कालीगण्डकी–ए जलविद्युत् आयोजना एउटा उदाहरण मात्र हो ।

रिडी बजार र कालीगण्डकी नदीः पानी सुकेपछि बढेको बगर क्षेत्र । तस्वीरहरुः रामु सापकोटा

१५ वैशाखमा गुल्मीको रुद्रवेणी पुग्दा छेवैको कालीगण्डकी नदी बीचबाट धमाधम बालुवा निकालिंदै थियो । १६ वर्ष अघिसम्म सुक्खाका बेला पनि तर्न नसकिने यो नदीले यसपटक घुँडा पनि भिजाएन ।

२०५८ सालमा स्याङ्जाको मिर्मीमा १४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजना सञ्चालनमा आएपछि सुक्खाका बेला पनि नदीमा बग्ने गरेको ४४ क्यूविक फिट प्रति सेकेन्ड (क्यूसेक) पानी घटेर चार क्यूसेक भन्दा थोरै भएको छ ।

आयोजनाले स्याङ्जाको मिर्मीमा थुनेको पानी पाल्पाको राम्दीमा निस्केपछि कालीगण्डकीमा मिसिन्छ । यसरी मिर्मीदेखि राम्दीसम्म नदी सुक्खा हुँदा यहाँको जैविक विविधता खलबलिएको छ, जलचरहरू लोप हुँदैछन्, नदी संस्कृति मासिदैछ, माझीहरू विस्थापित भएका छन् र मानिसको अन्तिम संस्कार गर्ने घाट पनि प्रभावित भएको छ ।

मासिए जलचर
विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) ले कालीगण्डकी नदीको पानी र जलचरबारे गरेको अध्ययनले नदीमा पानीको बहाव घट्दा माछा लगायतका जलचरको संख्या घटेको देखाएको छ । सन् २०१६ देखि २०१७ सम्म दुई वर्षको अवधिमा कालीगण्डकी नदीका आठ फरक–फरक स्थानमा ३१ प्रजातिका माछामा गरिएको अध्ययनमा पानीको प्राकृतिक बहावमा अवरोध हुँदा माछा घटेको र त्यस क्षेत्रका बासिन्दाको जीवनशैलीमा समेत परिवर्तन आएको देखिएको हो ।

डब्ल्यूडब्ल्यूएफको अध्ययनले नदी क्षेत्रको जैविक विविधता र मानवीय जीवनमा असर पर्नुको मुख्य कारण जलविद्युत् आयोजनालाई ठहर गरेको छ । अध्ययनमा संलग्न काठमाडौं विश्वविद्यालयको वातावरण विज्ञान विभागका प्राध्यापक विभूतिरञ्जन झा पानीको मात्रा कम हुँदा मिर्मीदेखि तल रिडीहुँदै देवघाटसम्म माछा र अन्य जलचरको संख्या घटेको बताउँछन् । यसको असर भविष्यमा अझ बढ्ने बताउँदै उनी भन्छन्, “तत्काल उचित कदम नचाल्ने हो भने संकट अरू गहिरिदै जानेछ ।”

सात वर्षअघिकाे रिडी बजार र कालीगण्डकी नदी । तस्वीर: सुन्दर कसजू

सन् २००२ मा त्रिविले गरेको एक अध्ययनबाट त्यस क्षेत्रका वनस्पतिको संख्या पनि कम हुँदै गएको देखिएको छ । अध्ययन अनुसार सन् १९९६ मा तटीय क्षेत्रमा २२ प्रजातिका वनस्पति पाइएको कालीगण्डकीमा सन् २००२ मा १५ प्रजाति मात्रै पाइए ।

सुक्यो व्यापार
पहिले बुटवल र तानसेनका भान्सासम्म पुग्ने कालीगण्डकीका माछा अहिले स्थानीयले पनि चाख्न पाउँदैनन् । माछा मारेर गुजारा गर्नेहरूको पेशा खोसिएको छ । नदी र जलचरमै आश्रित मिर्मी, रुद्रवेणी, रिडी क्षेत्रका अधिकांश बोटे र माझी समुदाय विस्थापित भएका छन् ।

नदीमा पौडिरहेका हाँसका बथान हेरेर आनन्दित हुने रुद्रवेणीको ताराकेश्वर परमानन्द सन्यास आश्रमका नारायणानन्द सरस्वतीले चार वर्ष यता हाँस देखेकै छैनन् । भन्छन्, “चार वर्ष अघिसम्म सयौंको संख्यामा हाँस देखिने यो ठाउँ अहिले उराठलाग्दो भइसक्यो ।” नजिकैका १२ घर माझीको जीविकोपार्जनमा समस्या रहेको उनी बताउँछन् ।

जलविद्युत् आयोजना बन्नु अघिसम्म र्‍याफ्टिङ गर्दै म्याग्दीको बेनीबाट रूरू क्षेत्रमा दैनिक डेढ–दुई सय पर्यटक आइपुग्थे । यसरी आउने आन्तरिक र बाह्य पर्यटकका कारण नदी किनारमा व्यापार फस्टाएको थियो । बजारमा चहलपहल थियो । तर नदीमा पानी घटेसँगै जलपर्यटन बन्द भएको रिडीका स्थानीय व्यापारी सुन्दर कसजू सुनाउँछन् ।

५० वर्ष पहिलेकाे रिडी बजार र कालीगण्डकी नदी । राउण्ड इमेज

नदीमा अनिवार्य १० प्रतिशत पानी छोड्नुपर्ने प्रावधान अनुसार आयोजनाले ४.४ क्यूसेक पानी छोड्नै पर्ने भए पनि त्यसो नगर्दा समस्या झ्न् बढेको स्थानीयको गुनासो छ ।

कालीगण्डकी जलविद्युत् केन्द्रका स्टेसन प्रमुख राजेशकुमार पाण्डे भने आयोजनाले उपयोग गरेको पानीको १० प्रतिशत नदीमा निरन्तर छोडिरहेको दाबी गर्छन् । भन्छन्, “सम्झौता अनुसार हामीले पानी छोडिरहेका छौं तर, १० प्रतिशत मात्रै पानी हुँदा नदी सानो त देखिने नै भयो ।”

संस्कृति प्रभावित
बराह पुराणमा वर्णित कालीगण्डकीको किनारमा रहेको रूरू धाममा साना–ठूला मेला–उत्सव भइरहन्छन् । तर, उद्योग वाणिज्य संघ रिडीका अध्यक्ष सुवर्णलाल कक्षपतिको अनुभवमा रूरू क्षेत्रको रौनक अब पहिलेजस्तो छैन ।

रुद्रवेणीदेखि १५ किलोमिटर उत्तर मिर्मीसम्म नदीमा पानी कम भएका कारण यहाँका मेला प्रभावित हुन थालेका हुन् । परमानन्द सन्यास आश्रमका नारायणानन्द सरस्वतीका अनुसार नदीमा पानीको मात्रा निकै कम भएपछि पर्वका बेला स्नान गर्नेहरू आउन छाडेका छन् ।

पानी कम भएपछि फोहोरले भरिएको रिडीको कालीगण्डकीको घाट ।

“यहाँ नुहाउँदा पुण्य पाइने मान्यताका कारण विशेष अवसरहरूमा श्रद्धालुको घुइँचो हुन्थ्यो” उनी भन्छन्, “चहलपहल बढ्दा स्थानीयको व्यापार–व्यवसाय बढ्थ्यो, अब पर्वहरू पनि सुनसान जस्तै हुन थालेका छन् ।” कात्तिकको ठूलो एकादशी, चैतको रामनवमी, माघेसंक्रान्ति जस्ता मेला–पर्वका बेला आयोजनाले पानी धेरै छाड्ने सहमति गरे पनि पालना नगरेको स्थानीयको गुनासो छ ।

हिन्दूहरूले भगवान विष्णुको रूप मानेर पुज्ने गरेको शालिग्राम पाइने नदीका रूपमा पनि प्रख्यात छ कालीगण्डकी । १६ वर्ष अघिसम्म रुद्रवेणी क्षेत्रको नदी किनारमा प्रशस्त पाइने शालिग्राम अचेल सजिलै पाइँदैन । दामोदरकुण्ड र मुक्तिनाथ क्षेत्रबाट बग्दै आउने शालिग्राम जलविद्युत् आयोजनाको निर्माणपछि भेटिन छाडेको स्थानीय बताउँछन् ।

कालीगण्डकी जलविद्युत् परियोजनाले एक्कासी बढी भएको पानी छोड्दा रुद्रवेणीस्थित स्याङ्जा जिल्ला जोड्ने बन्दै गरेको पुलमा क्षति पुगेपछि पुनः निर्माण गरिएको नयाँ पुल ।

रुद्रवेणी धाममा शवदाह गर्दा मृतकलाई मोक्ष प्राप्त हुने मान्यताले वरपर गुल्मी, स्याङ्जा लगायतका जिल्लाबाट अन्तिम संस्कारका लागि यहाँ आउने पुरानो प्रचलन पनि पानीकै कमीले गर्दा कम भएको आश्रमका उपाध्यक्ष बलराम अधिकारी सुनाउँछन् ।

उद्योग वाणिज्य संघ, रिडीका अध्यक्ष सुवर्णलाल कक्षपति भन्छन्, “एक त पहिलेजस्तो घाटमा भीड लाग्दैन त्यसमाथि शवदाह गरेपछि बाँकी रहेको फोहोर पानीले बगाउन नसक्दा दुर्गन्ध बढेको छ ।” नदी किनारमा फोहोर व्यवस्थापनको चुनौती थपिएको र घाटको पनि समस्या रहेको रिडीका स्थानीय व्यापारी सुन्दर कसजू बताउँछन् ।

पानी सुकेपछि बगर बनेको नदीको अवैध उत्खनन् बढेको छ । परियोजनाले आफूलाई पानी बढी हुँदा एक्कासी ठूलो मात्रामा ‘फ्लश’ गर्ने भएकाले किनारमा बालुवा थुप्रिने गर्छ । रूरू गाउँपालिकाका अध्यक्ष रामलाल विक गिट्टी बालुवा अत्यधिक निकाल्दा नदी क्षेत्र कुरुप बनेको बताउँछन् ।

एक्कासी बाढी
धेरैजसो सुक्खा रहने यो नदीमा आयोजनाले कहिलेकाहीं बढी भएको पानी एक्कासी छोडिदिंदा लाश जलाउँदै गरेका मलामी भाग्नुपर्ने हुन्छ । चार वर्ष अघिको हिउँदमा नदी पार गरिरहेको ट्याक्टर बीच भागमा पुग्दा एक्कासी पानी बढेपछि नदीमै डुबेको थियो ।

रुद्रवेणी दोभानमा सुकेको कालीगण्डकी नदीको पानीमा मिसिएको बडीगाढ खोला (धमिलो पानी भएको) । कालीगण्डकीमा मिसिएको बडीगाढ खोला बगेर रिडीसम्म पुग्छ ।

सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकाल स्थानीयले थाहा पाएर तत्काल उद्धार गरेका कारण ६ जना मृत्युको मुखबाट बचेको बताउँछन् ।

तीन वर्षअघि ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको सत्यवती गाउँपालिकामा पर्ने रुद्रवेणी र स्याङ्जा जोड्ने पुल पनि आयोजनाले एक्कासी पानी छोड्दा आएको बाढीले भत्काएको थियो (हे.तस्वीर) । रु.५ करोड लागतमा निर्माण सम्पन्न हुनै लागेको पुलमा क्षति पुगेपछि नयाँ पुल बनाउनु परेको अध्यक्ष ढकाल बताउँछन् ।

असार र साउन महीनामा नदीमा पानी बढ्ने भएकाले ड्यामबाट पानी छोड्नु आवश्यक भएको जलविद्युत् केन्द्रका प्रमुख पाण्डेको भनाइ छ । तर यसरी पानी छोड्दा अनिवार्य रूपमा बजाउनुपर्ने साइरन बज्न छोडेको स्थानीयको गुनासो छ ।

प्रतिकृया दिनुहोस