नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणको लागि पुनः म्याद थप गर्न माग
नारायणगढ–मुग्लिन सडक आयोजनाको काम चौथोपटक मिति थप गर्दा पनि सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीहरुले पुनः म्याद थपका लागि माग गरेका छन् ।
चौथो पटकको मिति थपअनुसार पहिलो खण्डको २७ वैशाखमा म्याद सकिएको छ भने दोस्रो खण्डको ५ जेठमा सकिंदैछ र तेस्रो खण्डको १० जेठमा सकिनेछ ।
आयोजनाको परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीका अनुसार हालसम्म समग्रमा ८६.३८ प्रतिशत काम सम्पन्न भएको छ ।
पहिलो खण्डको ८३.३ प्रतिशत, दोस्रो खण्डको ९५.७३ प्रतिशत र तेस्रो खण्डको ८०.१३ प्रतिशत काम सम्पन्न भएको छ ।
पहिलो खण्ड निर्माण गरिरहेको बिएलए–श्रेष्ठ जेभीले थप १३ महीना समय माग गरेको छ । दोस्रो खण्ड बनाइरहेको उड हिल–लामा जेभीले थप ४० दिन समय माग गरेको छ । तेस्रो खण्ड सुप्रिम–रौताहा जेभीले म्याद थपको समय मागेको छैन । तेस्रोे खण्डको म्याद १६ जेठमा सम्पन्न हुँदैछ ।
नारायणगढ–मुग्लिन सडक विस्तार आयोजना सन् २०१५ अप्रिलमा दुई वर्षमा सक्ने गरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र बढी वर्षा लगायतका कारण देखाई म्याद थप गरिँदै आएको छ । रासस