रिपोर्टसोमवार, बैशाख ३१, २०७५

वन सेवामा महिलाः अब्बल काम

मुकेश पोखरेल

चौतर्फी प्रतिकूलताबीच वन सेवाको प्राविधिक क्षेत्रमा खटिएका महिला कर्मचारीको साहस र संघर्ष अनुकरणीय छ ।

महिला गणकः चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गन्न हिँडेका बायाँबाट प्रतिभा कक्षपति, कान्ति कँडेल र किना केसी ।

पुस, २०५६ । भक्तपुरको प्रमुख जिल्ला अधिकारी थिए, ध्रुवप्रसाद वाग्ले । कार्यकक्षमा सेवाग्राहीको भीडभाड थियो, तिनैमाझ थिइन्, माधुरी कार्की । तर, उनी गुनासो बोकेर होइन, छलफलका लागि पुगेकी थिइन् ।

उनीभन्दा अघिका सेवाग्राहीका गुनासा सुनेपछि प्रजिअ वाग्लेले सोधे, “बहिनी के कति काम लिएर आउनुभयो ?” “सिडियो सा’ब, म माधुरी कार्की, जिल्ला वन कार्यालय भक्तपुरको प्रमुख”, उनले एकैसासमा परिचय दिइन् । वाग्ले अक्क न वक्क भए र आश्चर्य मान्दै भने, “महिला जिल्ला वन अधिकृत !”

त्यो समय नै बेग्लै थियो । कार्कीको अनुभवमा, निजामती सेवा अन्तर्गतको वन सेवा समूहमा अधिकृत तहमा पाँच जना र त्यसभन्दा तल बढीमा २० जना मात्र महिला थिए । अझ जिल्ला वन अधिकृत (डिएफओ) महिला त दुर्लभ ! “चिडियाखानामा जनावर हेरेजस्तै आश्चर्य मान्दै हेर्नेको लर्को हुन्थ्यो”, १२ पुस २०५६ मा मुलुककै पहिलो महिला डिएफओ बनेकी कार्की भन्छिन् । चार वर्षपछि २०५८ मा कार्कीको सरुवा भयो । तर, भक्तपुरवासीको मनमा उनी अझै बसिरहेकी छन् ।

लामो समयदेखि सेनाको तालिमस्थल तेलकोट वन सामुदायिक वनमा हस्तान्तरण हुन सकिरहेको थिएन । तर, कार्कीले समन्वयकारी भूमिकाले वन समुदायमा हस्तान्तरण भयो । जिल्लामा उही रेञ्जर र वनपालेहरू वर्षौंदेखि अड्डा जमाएर बसेका थिए, जसले तस्करी बढाएको थियो । उनले सबैको सरुवा गरिन् ।

दधिकोट रेञ्जपोष्टमा महिला रेञ्जर खटाएकी मात्र के थिइन्, स्थानीयले वनमा गस्ती जानुपर्ने, जोखिमका काम गर्नुपर्ने भएकाले पुरुष नै पठाउन माग गर्न थाले । तर, उनी टसमस भइनन् । पछि त उपभोक्ताहरू महिला कर्मचारीले पो समस्या चाँडै बुझ्दा रहेछन् भनी प्रशंसा गर्न थाले । यस्ता अनेक कारण छन्, जसले कार्कीको छवि उँचो बनाएको छ ।

२०५१ सालमा सहायक वन अधिकृतबाट सेवा प्रवेश गरेकी कार्की अहिले वन विभाग अन्तर्गत योजना तथा अनुगमन मूल्याङ्कन शाखामा रहेर देशभरका जिल्ला वनको कार्यक्रम तथा बजेट बनाउने जिम्मेवारीमा छिन् ।

अवस्था फेरिएको छ, २०६४ सालपछि निजामती सेवामा समावेशिता लागू भयो । वनमा आउने महिला पनि ह्वात्तै बढे । अहिले वन सेवा अन्तर्गतका विभिन्न समूहमा प्राविधिक महिला कर्मचारीको संख्या नै झ्ण्डै ३०० पुगेको छ । महिला वन प्राविधिकबाट पहिलो पटक सह–सचिव बन्ने प्रतिभाशाली हुन्– राधा वाग्ले । विन्दु मिश्र र सन्तमाया श्रेष्ठ पनि डिएफओ बनिसकेका छन् ।

निकुञ्जमा अब्बल
वन सेवा अन्तर्गत पनि निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रको काम चुनौतीपूर्ण मानिन्छ । घरपरिवारभन्दा टाढा, बस्तीभन्दा पर, जंगली जनावरसँगको जम्काभेट अनि रातविरात जंगलको गस्ती । तर, यहाँ पनि महिला प्राविधिकले आफूलाई अब्बल सावित गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार, यो क्षेत्रमा अहिले ८६ जना महिला कार्यरत छन् ।

२०७१ सालमा रेन्जर उत्तीर्ण हुनेवित्तिकै प्रतिभा कक्षपति चितवन राष्ट्रिय निकुञ्जमा खटिइन् । कार्यक्षेत्र थियो, जंगली हात्तीले सताएको मेघौली । गाउँलेलाई हात्तीबाट सुरक्षा दिन उनी रातभर जाग्राम बस्थिन् । गत पुसमा जिल्लाकै देवनगर रेञ्जपोष्टमा उनको सरुवा भयो ।

माघको एक रात १० बजेतिर बीसहजारी ताल क्षेत्रमा गोली पड्केको खबर आयो । १६ जना नेपाली सेनाका पुरुष कर्मचारीसँगै उनी तीन घण्टा हिंडेर गोली पड्किएको क्षेत्रमा पुगिन् । “ड्यूटीमा खटिएपछि महिला, पुरुषको कुरै हुँदैन” उनी भन्छिन् ।

माहुते पुरुष मात्रको काम थियो । तर, अहिले चितवन, सौराहास्थित हात्तीसारमा एक होइन, चार महिला माहुते छन् । माहुते अनिता महतो आफूहरूले पुरुष बराबरी काम गरिरहेको सगर्व सुनाउँछिन् ।

“वन क्षेत्रमा महिला सहभागिता बढ्नु नै अत्यन्तै सकारात्मक हो” सहसचिव वाग्ले भन्छिन्, “अब्बल र सफल बन्नु थप हर्षको कुरा हो ।”

पुरुषको दृष्टिदोष !
सरस्वती सापकोटाले १९ वर्षकै उमेरमा २०५६ सालदेखि निकुञ्जमा जागिर शुरू गरिन् । चितवनको सौराहास्थित पूर्वी सेक्टर कार्यालयमा रहेको १५ जनामध्ये उनी एक्ली महिला थिइन् । तर, पहिलो जागिरको उत्साह अनुभूत गर्न नपाउँदै नमीठो अनुभव आत्मसात् गर्न पुगिन् ।

निकुञ्जमा काम गर्ने प्राविधिक कर्मचारीले वर्षमा तीन जोर पोशाक पाउँथे । तर, उनलाई भने दुई जोर मात्र दिइयो । “ओठ निचोर्दा दूध आउने भनेर होच्याउँथे” हाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा कार्यरत सहायक संरक्षण अधिकृत सापकोटा भन्छिन्, “पोशाकमा विभेद गर्नु कर्मचारीकै रूपमा अस्वीकार गर्ने सोचको उपज थियो ।”

हाल शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जकी रेञ्जर उन्नति शर्माको भोगाइ पनि रोचक छ । २०६५ सालमा बर्दिया राष्ट्रिय निकुञ्जकी रेञ्जर शर्माको जिम्मेवारी बञ्जरिया र पशुपतिनगरको मध्यवर्ती क्षेत्रमा थियो । “एक त महिला रेञ्जर त्यसमाथि पनि जुत्ता लगाउने भन्दै मान्छे जम्मा भएर हेर्थे” शर्मा सम्झिन्छिन् ।

२०४६ साल, शोभा सुवेदीको पहिलो पोष्टिङ चितवनको जिल्ला वन कार्यालयमा भयो । कार्यक्षेत्र पूर्वी चितवनको खैरहनी क्षेत्र थियो । साइकलमा गस्ती जाने, तस्करसँग भिड्ने र मुद्दा चलाउने, सधैंको काम थियो ।

तर, जिल्ला वन कार्यालयले महिला कर्मचारी धेरै भएका कारण वार्षिक प्रगति प्रतिवेदन नै नभएको विवरण केन्द्रमा पठायो । “महिला जम्मा पाँच जना थियौं, त्यो पनि हामी फिल्डको जिम्मेवारीमा । हाम्रै कारण काम नभएको भनेर सरासर विभेद गरिएको घटना थियो त्यो”, शोभा भन्छिन् ।

चितवन राष्ट्रिय निकुञ्जमा गस्ती ।

विडम्बना अझै पनि वन सेवा अन्तर्गत प्राविधिक क्षेत्रमा महिलालाई हेर्ने दृष्टि बदलिएको छैन । महिलाको शारीरिक तन्दुरुस्ती र महिलाको कार्यक्षमतालाई लिएर आशंका अहिले पनि कायम छ यो पेशामा । खासगरी जंगलको बीचमा एक्लै बस्नुपर्ने, सेनासँगै गस्ती जानुपर्ने, रूख चढ्नुपर्ने लगायत बलका काम गर्नुपर्ने भएकाले महिलालाई प्राविधिक क्षेत्र गाह्रो हुने तर्क गर्न छाडिएको छैन ।

अवस्था कतिसम्म छ भने, अहिले पनि धेरै वन तथा निकुञ्ज प्रमुख प्राविधिक फाँटमा महिला नआइदिउन् भन्ने चाहन्छन् । “सबै क्षेत्रमा समावेशी भनेर हुँदैन, वन र निकुञ्जको काम नै फरक फौजी प्रकृतिको छ” एक जिल्ला वन अधिकृत भन्छन्, “पुरुषले जति जोखिम मोलेर महिलाले काम गर्नै सक्तैनन् ।”

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. मनबहादुर खड्का निकुञ्ज कार्यालयबाट सकेसम्म महिला कर्मचारी नआइदिए हुन्थ्यो भन्ने आशयको आग्रह आउने गरेको बताउँछन् । वन सेवामा आरक्षणकै प्रावधान हटाउनुपर्ने एकथरीको धारणा छ । महानिर्देशक खड्का यसबारे एकपटक लोक सेवा आयोगसँग परामर्श समेत गरिएको बताउँछन् । तर, आयोगले निजामती सेवा ऐन नै संशोधनपछि मात्र यसो गर्न सकिने सुझाव दिएको थियो ।

त्यसो त खड्का स्वयंको धारणा समेत आम पुरुष र आफूभन्दा कनिष्ठ कर्मचारीको भन्दा फरक छैन । सेना, प्रहरीमा समूहमा हुने भएकाले महिलालाई सहज भएको तर वनको प्राविधिक क्षेत्रमा त्यस्तो नहुनाले समस्या निम्तिएको उनको भनाइ छ ।

केन्द्रीय वन प्रचार–प्रसार तालिम केन्द्रकी प्रमुख वाग्ले वनमा महिला प्राविधिकले काम गर्न सक्दैनन् भन्नु कुतर्क सिवाय केही नभएको बताउँछिन् । “मुख्य समस्या वातावरणको र महिलाप्रति गरिने व्यवहारको हो” उनी भन्छिन्, “महिलालाई बाघ–भालुको डर होइन, पुरुषको हो ।”

सरस्वती सापकोटा भने गलत स्वार्थ बोकेकाहरूले महिला कर्मचारी नरुचाउने गरेको बताउँछिन् । निकुञ्जमा कार्यरत महिला कर्मचारीको संवेदनशीलता बझेर कार्यालय महिला मैत्री बनाइनुको साटो महिलालाई नै समस्या देख्नु दृष्टिदोष भएको उनको तर्क छ । “पुरुष कर्मचारीले आफ्नो व्यवहारमा परिवर्तन नगरेसम्म समस्या भइरहन्छ”, सहायक संरक्षण अधिकृत सापकोटा भन्छिन् ।

प्रतिकृया दिनुहोस