मेगा र टुरिजम ब्यांक गाभिएर एकीकृत कारोबार शुरू
मेगा ब्यांक र टुरिजम डेभेलपमेण्ट ब्यांक मर्ज भएका छन् । मर्जरपछि आज, ३० वैशाखबाट मेगा ब्यांकको नाममा एकीकृत कारोबार शुरु भएको छ ।
मर्जरपछि ब्यांकको चुक्ता पूँजी रु. नौ अर्ब २९ करोड पुगेको छ । यसअघि मेगा ब्यांंकको चुक्ता पुँजी रु. सात अर्ब ३७ करोड र टुरिजम डेभलपमेन्ट ब्यांकको रु. दुई अर्ब एक करोड रहेको थियो । तर, शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा टुरिजमको एक सय रुपैयाँको सेयरलाई मेगाको ९५ रुपैयाँ गणना गर्ने सहमति भएको थियो । त्यस आधारमा टुरिजमको चुक्ता पूँजी एक अर्ब ९१ करोड रुपैयाँ मानेर सेयर समायोजन गरिएको हो ।
मर्जरपछि ब्यांकको निक्षेप ५७ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने कर्जा ५५ अर्ब ७० करोड पुगेको छ । मर्जरपछि मेगा ब्यांकको शाखा संख्या ९१ पुगेको छ । चालू आर्थिक वर्षभित्र १०२ वटा शाखा पु¥याउने लक्ष्य रहेको ब्यांकले जनाएको छ ।
यसअघि मेगा ब्यांक ले बुटवलमा केन्द्रीय कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट ब्यांकलाई गाभेको थियो ।