वीरगञ्जमा बस जलाइयो, भरतपुरमा बम विष्फोट
वीरगञ्ज महानगरपालिकाको वसपार्क नजिकै रोकीराखेको वीरगञ्ज–ठोरी गुड्ने वसमा आगजनी भएको छ ।
दुई सातादेखि थन्किरहेको ग १ ख ३१४७ नम्बरको बस आगजनीबाट ध्वस्त भएको प्रहरी नायव उपरीक्षक राजन लिम्बुले बताए ।
उनका अनुसार नेत्रविक्रम चन्द समूहले आज वन्दको आह्वान गरे पनि वीरगञ्जमा त्यसको प्रभाव देखिएको छैन् । तर ब्याट्री झिकेर धेरै दिनदेखि थन्काइएको बसमा आगो लाग्नु र सँगै रहेका अन्य बसमा केही नहुनुले आशंका उत्पन्न गराएको छ ।
उक्त वसको विमाको अवधि पनि दुई महीना मात्रै बाँकी रहेकोले थोत्रो बसमा आगो लगाई वीमाबाट रकम असुल गर्न घटना गराइएको हुनसक्ने भएकाले प्रहरीले अनुसन्धान गरिरहेको उपरीक्षक लिम्बुले बताए ।
नेत्र विक्रम चन्दको समूहले आह्वान गरेको बन्दले वीरगञ्जबाट छुट्ने लामो दुरीका बसहरु चलेका छैनन् भने शैक्षिक संस्थाहरु पनी ठप्प भएका छन् ।
भरतपुरमा बम विस्फोट
चितवनको भरतपुर ओह्रालो नजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३स्४५ बजे ग्रिनेट विस्फोट भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिएका छन् ।
उनका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ । अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक थापाले विस्फोट गराउने मध्येका नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ताको पहिचान भएको र उनको खोजी जारी रहेको बताए । मोटसाइकलमा आएका दुई जनाले बम विस्फोट गराएका थिए ।
-जियालाल साह