झापामा बम बिस्फोट, धादिङमा दुई ट्रकमा आगजनी
आज विहान झापाको मेचिनगर– ७ स्थित ग्यारेजमा पार्किङ गरिएका दुई बसमा बम बिस्फोट भएको छ ।
पेट्रोल पम्प छेउको ग्यारेजमा राखेको सुर्योदय यातायातको मे १ ख २७२६ र मे १ ख २७३३ नम्बरका दुई बसमा बम बिस्फोट भएको हो ।
२७२६ नम्बरको बस मुनी शक्तिशाली बम विस्फोट गराइएको प्रहरीले बताएको छ । विस्फोटबाट बसको ट्याङ्की फुटेको छ भने दुबै बसका सीसा फुटेका छन् ।
नेत्रविक्रम चन्द नेतृत्वको समूहले आह्वान गरेको बन्द सफल पार्न घटना गराइएको प्रहरीको अनुमान छ । प्रहरीले समूहका नगर इन्चार्ज स्मृति रिजाललाई नियन्त्रणमा लिएको छ ।
दुईवटा भारतीय ट्रकमा आगजनी
पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा आगजनी भएको छ ।
सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१ र आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक आगजनीबाट जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।
आज बिहान करीब ३ बजेदेखि आगो लागेपछि चार वटा डोजरको सहयोगमा आगलागी भएको ट्रक वरिपरि माटो हालेर आगो दायाँबायाँ फैलिन नदिने प्रयास गरिएको थियो । आगलागी भएको २ घण्टा पछि काठमाडौँ महानगरको दमकलले आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।
बस्ती, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागी भएपछि स्थानीयवासी त्रसित भएका थिए । आगलागीपछि विद्युत्को तार जल्दा विद्युत् सेवा अवरुद्ध भएको छ ।
आगो नेत्रविक्रम चन्द नेतृत्वको समूहले लगाएको प्रहरीको अनुमान छ छ ।
प्रहरी भ्यानमा ढुंगा प्रहार
यस्तै धनकुटामा आज बिहान प्रहरीको भ्यानमा अपिरिचित व्यक्तिले ढुङ्गा प्रहार गरी क्षति पुर्याएका छन् ।
धनकुटा–९ रुद्रबारीमा गस्तीमा रहेको ना १ झ १३३४ नम्बरको भ्यानमा डांडाबाट ढुङ्गा प्रहार भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
बन्दका कारण सुरक्षा चुनौति भएका क्षेत्रहरुमा स्कर्टीङ गरी सवारी आवागमन सुचारु गरिएको प्रहरीले बताएको छ ।
-कमल रिमाल