समाचारशनिवार, बैशाख २९, २०७५

मोदीद्वारा मुक्तिनाथ दर्शनपछि पशुपतिमा विशेष पूजा

हिमालखबर

नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् ।

मुक्तिनाथमा पूजा एवं दर्शनपछि प्रधानमन्त्री मोदी पशुपतिनाथ आइपुगेका हुन् । पशुपतिनाथ मन्दिर परिसरमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष रवीन्द्र अधिकारीले स्वागत गरेका थिए ।

मोदीले पूजाआजा एवं दर्शनका क्रममा मन्दिर परिसरमा ५० मिनेट बिताए । उनलाई नेपाल वेद विद्याश्रमका १०८ ब्राह्मण बटुकले स्वस्तिवाचन सहित मूल मन्दिरभित्र स्वागत गरेका थिए । मोदीले पशुपति परिसरका मन्दिरको दर्शन एवं पूजा गरी मूल मन्दिरमा वैदिक रुद्राभिषेकसहित विशेष पूजा गरेका हुन् ।

मोदीले चार वर्षअघि १८  साउन २०७१ पनि पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए । त्यसबेला पूजापछि उनले पशुपति मूल मन्दिरको जीर्णोद्धारका लागि भारु २५ करोड,  सरसफाइका लागि रु पाँच करोड सहयोग घोषणा गरे पनि उक्त सहयोग अझै आइपुगेको छैन ।

मुक्तिनाथमा पनि पूजा
पशुपतिनाथ जानु अघि मोदीले आज बिहान मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको पनि दर्शन गरेका छन् ।

भारतीय वायु सेवाको विशेष हेलिकप्टरबाट बिहान ७:५५ मा मुक्तिनाथ पुगेका मोदीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, ४ नं प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतले स्वागत गरेका थिए ।

मन्दिरको मूल प्रवेशद्वारमा प्रवेश गर्नुपूर्व उनलाई बटुकले स्वस्ती वाचन र बौद्ध आनी (झुमा) हरुले बौद्ध संस्कृतिमा प्रचलित बाजा (ङेङे) बजाएर स्वागत गरेका थिए ।

मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार मोदीले त्यहाँ शोडषोपचार विधिद्वारा पूजा गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र प्रदेश नं ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई शालिग्राम उपहार दिएका थिए ।

भारतीय प्रम मोदीको मुक्तिनाथ भ्रमणले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने मुस्ताङका स्थानीय गणेश शेरचन बताउँछन् ।

मोदी आजै भारत फर्कने कार्यक्रम छ ।

देउवासँग भेट
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र मोदीबीच आज अपराह्न होटल हायातमा भेटवार्ता भएको छ ।  

भेटमा वरिष्ठ कांग्रेस नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महत, नेता अर्जुननरसिंह केसीलगायतका नेता सहभागी थिए । 

भेटमा सहभागी कांग्रेस नेता विजय गच्छदारका अनुसार नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्धलाई थप सदृढ बनाउने विषयमा समेत दुई नेताबीच कुराकानी भएको थियो । 

मोदीले नेपाललाई समृद्ध बनाउन यहाँका राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्ने र यसमा खासगरी युवापुस्तालाई अघि सार्नुपर्ने सुझाव दिएको उनले जानकारी दिए । 

यसैगरी मोदीसँग संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव,  राजपाका नेताहरु, पूर्वप्रधानमन्त्रीहरु लगायतले भेट गरेका छन् । 

प्रतिकृया दिनुहोस