समाचारशुक्रवार, बैशाख २८, २०७५

राष्ट्रपति भण्डारी र भारतीय प्रम मोदीबीच भेटवार्ता

हिमालखबर

तस्वीर: रासस

राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । 

आजै नेपाल आएका मोदी उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । 

दुई प्रमबीचको भेटवार्ता सम्पन्न
प्रधानमन्त्री केपी शर्मा ओली र  प्रधानमन्त्री मोदीबीच पनि भेटवार्ता सम्पन्न भएको छ । 

काठमाडौंको द्वारिकाज होटलमा आज साँझ भएको भेटवार्तामा को द्विपक्षीय आपसी हितका विविध विषयमा विचारविमर्श भएको छ । उक्त भेटवार्तापछि दुवै प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्ता पनि भएको छ ।

पूर्वप्रधानमन्त्रीहरुको भेटवार्ता
मोदी र नेपालका पूर्वप्रधानमन्त्रीहरुबीच पनि भेटवार्ता भएको छ । 

होटल द्वारिकाजमा भएको उक्त भेटवार्तामा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, भलनाथ खनाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको सहभागिता थियो । 

भेटवार्तामा आपसी हित र चासोका विभिन्न विषयमा छलफल भएको थियो । 

'जनकपुर भ्रमण यादगार'
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राचीन मिथिलाको राजधानी जनकपुरधामस्थित जानकी मन्दिर दर्शन गर्ने धेरै वर्षदेखिको इच्छा आज पूरा भएको बताएका छन् । 

काठमाडौं आउनुअघि दिल्लीबाट सोझै जनकपुर आएका प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा रहेको आगन्तुक पुस्तिकामा ‘नेपाल र भारत दुवै देशका तीर्थालुको धार्मिक तीर्थस्थलको यात्रा आफ्ना लागि यादगार’ रहेको उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, “आज मेरो न्यानो अभिवादन तथा स्वागतका लागि म नेपाल सरकार र जनकपुरवासी प्रति आभारी छु ।” 

सम्मान गारद
प्रधानमन्त्री मोदीको सम्मानमा नेपाली सेनाको एक टुकडीले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा  सम्मान गारद (गार्ड अफ अनर) प्रस्तुत गरेको छ । 

सम्मान गारदका साथ मोदीलाई १९ तोपको सलामीसमेत दिइएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदी सैनिक मञ्च पुग्दा स्वागत गरेका थिए । सैनिक मञ्चमा सम्मान गारदबाट सम्मानित हुने विशिष्ट पाहुनामा भारतका प्रधानमन्त्री मोदी दोस्रो व्यक्ति हुन् । यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहीद अब्बासी खकानको सम्मानमा पनि नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा सम्मान गारद प्रस्तुत गरेको थियो । समारोहमा मन्त्रिपरिषद्का सदस्यका साथै प्रधानसेनापतिको पनि उपस्थिति थियो । 

नेपालको दुईदिने भ्रमणका क्रममा भारतका प्रधानमन्त्री मोदी आज अपराह्न जनकपुर हुँदै काठमाडौं आएका हुन् । यसअघि जनकपुरमा आयोजित विशेष समारोहमा नेपाल सरकारका तर्फबाट रक्षामन्त्री ईश्वर पोखरलले उनलाई स्वागत गरेका थिए । 

प्रधानमन्त्री मोदीको सम्मानमा प्रदेश नं २ को राजधानी जनकपुरमा 'नागरिक अभिनन्दन' समेत भएको थियो । त्यसअघि उनले रामजानकी मन्दिरमा विशेष पूजार्चना गरेका थिए । 

विशेष विमानमा सवार भएर जनकपुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि त्यहाँस्थित अतिविशिष्ट कक्षमा प्रधानमन्त्री मोदीलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस