कला/साहित्यशनिवार, बैशाख २९, २०७५

शे–फोक्सुण्डोका चरा

हिमालखबर

कमल मादेन

उहिले उहिले धौलागिरि हिमाल भन्दा उत्तरतर्फको एक भू–खण्डलाई ‘धवलापा’ भन्ने गरिन्थ्यो । कृष्णप्रकाश श्रेष्ठ लिखित पुस्तक ‘स्थाननामकोश’ अनुसार, त्यही शब्द क्रमशः अपभंरश हुँदै ‘धोलापा’, ‘धोल्पा’ र डोल्पा बन्यो । डोल्पा नेपालको सबैभन्दा ठूलो जिल्ला हो । 

ह्वाइट टेल्ड रुबी थ्रोट चरा । तस्वीर: नरेश कुसी

डोल्पामा मनसुनी वर्षा हुँदैन । त्यसैले यसलाई हिमालय क्षेत्रको भित्री सुक्खा उपत्यका, चिसो हिमाली मरुभूमि पनि भनिन्छ । यहाँ २४०० देखि ४९०० मिटर भू–सतह उँचाइमा मानव बसोबास पाइन्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार, विश्वकै एक अग्लो भूभागमा खेतीपाती गरिने स्थान पनि डोल्पा नै हो । यहाँ ४२०० मिटरको उँचाइमा जौ, कोदो, फापर र आलु लगाइन्छ ।

प्रसिद्ध लेखक पिटर माथेयासन्सको पुस्तक ‘द स्नो लियोपार्ड’ (सन् १९७८) र एरिक भ्यालीको ‘क्याराभान’ (सन् १९९९) फिल्मले डोल्पालाई विश्वसामु चिनाएको थियो । तर, अहिले पनि डोल्पामा मोटरबाटो पुगेको छैन । नेपालगञ्जबाट सीमित हवाई मार्ग हुँदै जुफाल पुग्नुपर्छ ।

जुफाल हवाई मैदानबाट करीब सात दिनको उच्च हिमाली क्षेत्रको यात्रापछि शे–फोक्सुण्डो ताल पुगिन्छ । अधिकतम १४५ मिटर गहिरो यो ताल करीब ४९४ वर्ग हेक्टर क्षेत्रमा फैलिएको छ । यसको आकृति झण्डै नेपालको नक्शाजस्तो छ । तालमा उत्तरतर्फबाट शे–फोक्सुण्डो र दक्षिणतर्फबाट दैकुथाङ्ग खोलाको पानी मिसिन्छ ।

प्रशस्त अक्सिजन घोलिएकाले शे–फोक्सुण्डो तालको पानी आकाशजस्तै नीलो देखिन्छ । यो ओलिगोट्रफिक (पोषकतत्व कम भएको) ताल हो । यो तालको पानीमा फोस्फेट, नाइट्रेड र अर्गानिक जस्ता वस्तु पाइँदैन । त्यसैले यहाँ लेउ वर्गका वनस्पति त्यो पनि अत्यन्त कमै मात्र पाइन्छ ।

यहाँ कुरा उप्काउन लागिएको भने, चराको हो । र, सन्दर्भ हो– बर्डस् अफ डोल्पा (शे–फोक्सुण्डो नेशनल पार्क एण्ड एडजोइनिङ एरियाज्) । नरेश कुसी, जेराल्डिन वेरहान र लक्ष्मणप्रसाद पौड्यालको हालै (फेब्रुअरी २०१८) प्रकाशित पुस्तकमा डोल्पाको शे–फोक्सुण्डो ताल र आसपासमा पाइने चराबारे तस्वीरसहितका विविध विवरण समावेश गरिएको छ । पुस्तकमा चरा अवलोकनका निम्ति डोल्पाका विभिन्न भागमा कसरी पुग्न सकिन्छ भन्ने जानकारी पनि समावेश छ । 

लेखकत्रयले डोल्पामा १७ देखि २० सेन्टिमिटर लामो रुफस–टेल्ड रक थ्रस (मोन्टिकोला सेक्सीटिलिज्) चरा नेपालमै पहिलो पटक भेटे । उक्त चराको नेपाली नाम ‘कैलो पुच्छरे शिला चाँचर’ लेखिएको छ । दक्षिण यूरोप, मध्य एशियादेखि उत्तरी चीनसम्म पुगेर बच्चा कोरल्ने यो चरा हिउँदमा भने अफ्रिकाको सहारा मरुभूमिमा भेटिन्छ ।

चीर पिज्यान्ट (काट्रेअस वालिची) विश्वमै दुर्लभ चरा हो । नेपालमा पनि यसलाई संरक्षित सूचीमा राखिएको छ । यो चरा डोल्पामा फाट्टफुट्ट भेटिन्छ । हरि बस्नेतले खिचेको यसको सुन्दर तथा दुर्लभ तस्वीर पुस्तकमा राखिएको छ । सेतो गिद्ध अर्थात् इजिप्सियन भल्चर अर्को दुर्लभ चरा हो । यो गिद्ध पनि थोरै संख्यामा डोल्पामा पाइन्छ । सनेजप्रसाद सुवालले खिचेको यो गिद्धको तस्वीर पनि पुस्तकमा समावेश छ ।

पुस्तकमा डोल्पामा ३०० प्रजातिका चरा पाइएको र तीमध्ये १२८ प्रजातिको रंगीन तस्वीर दिइएको छ । प्रकाशित सूचीहरूका आधारमा पुस्तकमा नेपालमा गत फेब्रुअरीसम्ममा ८८७ प्रजातिका चरा पाइने बताइएको छ । सन् २०१७ मा प्रकाशित ‘नेपाल्स नेशनल रेडलिष्ट अफ बर्डस’ मा भने नेपालमा जम्मा ८७८ प्रजातिका चरा पाइएको जानकारी छ । 

अघिल्लो पुस्तक ‘हुम्लाः जर्नी इन टु दि हिडन सांग्रिला’ मा प्रकाशित चखेवाचखेवी (रुड्डी शेल्डक) को तस्वीर (बायाँ) । यही तस्वीर फ्लिप गरी पछिल्लो पुस्तकमा समावेश गरिएको छ (दायाँ) ।

पुस्तकमा गर्मीयाममा उच्च भूभाग र जाडोमा तराई लगायत चुरे तथा शिवालिक क्षेत्रमा देखिने चराहरू पनि डोल्पामा उल्लेख्य मात्रामा भेटिएको जनाइएको छ । तीमध्ये हिमाली गिद्ध, चखेवा, फाप्रे चरो, सेतोकण्ठे माटीकोरे, मुरली चरो, कुर्ले ढुकुर केही हुन् । तराई र पहाडमा देखिने भए पनि हिमाली गिद्ध, चखेवाले यहाँका उच्च हिमाली क्षेत्रमै बचेरा कोरल्छन् ।

पुस्तक विशेषतः चरा जिज्ञासुका लागि लाभदायक देखिन्छ । पुस्तकका अधिकांश तस्वीर नरेश कुसीले खिचेका हुन् । यसबाहेक राजेन्द्र गुरुङ, जेराल्डिन वेरहान, सनेजप्रसाद सुवाल, प्रताप गुरुङ, सन्देश गुरुङ, राज प्रसाई, हरि बस्नेत र हठन चौधरीबाट खिचिएका तस्वीर पनि पुस्तकमा परेका छन् ।

यति महत्वपूर्ण र संवेदनशील पुस्तकको तस्वीरमा लेखकत्रयले आधारभूत गल्ती गरेका छन् । कुसी र वेरहान लिखित अघिल्लो पुस्तक हुम्लाः जर्नी इन टु दि हिडन सांग्रिला (२०१६) मा हुम्लामा पाइएका भनिएका चराहरू यो पुस्तकमा डोल्पामा पाइने भन्दै तीमध्ये केहीका पुरानै तस्वीर फ्लिप र क्रप गरी प्रयोग गरिएका छन् । जस्तो कि, हुम्लाबारे लेखिएको पहिलो पुस्तकमा प्रकाशित चखेवाचखेवी र लामखुट्टे टिमटिमाको तस्वीरलाई यो पुस्तकमा पनि देख्न सकिन्छ ।

पुस्तकमा डोल्पामा पाइने ३२ प्रजातिका स्तनधारी जन्तुको सूची पनि छ । अद्यावधिक सूचीमा नेपालमा नपाइने जन्तुको नामावली भने हटाइएको छ । पुस्तक बिक्रीबाट हुने आम्दानी प्रकृति र वन्यजन्तु संरक्षणमा लगाइने भनिएको छ, जुन सराहनीय छ ।

पुस्तक: बर्डस् अफ डोल्पा (शे–फोक्सुण्डो नेशनल पार्क एण्ड एडजोइनिङ एरियाज्) 

लेखक: नरेश कुसी, जेराल्डिन वेरहान र लक्ष्मणप्रसाद पौड्याल

प्रकाशक: नेप्लिज अर्निथोलोजिकल सोसाइटी र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग

पृष्ठ: १४४+१२

प्रतिकृया दिनुहोस