टिप्पणीशनिवार, बैशाख २९, २०७५

नेपालीलाई लुम्बिनी बुझाऔं

वसन्त महर्जन

ध्यानभूमि लुम्बिनीलाई विशुद्ध पर्यटकीय स्थलका रूपमा मात्र चित्रित गरिनु हुन्न ।

तस्वीरः वसन्त महर्जन

एक समय थियो, काठमाडौं, पाटन र भक्तपुरका बौद्धहरू वैशाख पूर्णिमाको अघिल्लो दिन लुम्बिनी पुग्थे, केही पाल्पा–तानसेनबाट पनि झर्थे र बुद्ध जयन्ती मनाएर फर्कन्थे । बुद्ध पूजामा स्थानीय सहभागिता बढाउन वर्षैपिच्छे सार्वजनिक आह्वान हुन्थ्यो तर लामो समयसम्म अन्यत्रबाट आएकै श्रद्धालुहरूले बुद्ध जयन्ती धानिरहनुपर्दथ्यो । 

अहिले लुम्बिनी विकास कोषको आह्वानमा बुद्ध जयन्ती भव्य रूपमा मनाइन्छ, स्थानीय संघसंस्थाहरू आ–आफ्ना ब्यानरसहित र्‍यालीमा सहभागी हुन्छन् । औपचारिक कार्यक्रममा राष्ट्रपति तथा प्रधानमन्त्रीको पनि उपस्थिति हुने हुँदा स्थानीय राजनीतिक नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति हुने गर्दछ ।

बुद्ध जयन्तीमा पटकपटक लुम्बिनी पुगेको यो पङ्तिकारले सधैं देख्ने एउटा समान दृश्य हो– बुद्ध जयन्ती मनाउन आउनेहरू प्रायः पूर्णिमाकै रात फर्कन्छन् र भोलिपल्ट लुम्बिनी सुनसान हुन्छ । यस वर्ष पनि त्यही दोहोरियो । बुद्ध जयन्ती (१७ वैशाख) का दिन बेलुकी साढे आठ बजे मायादेवी मन्दिर उत्तरमा रहेको सेन्ट्रल क्यानल हुँदै फर्कंदा सबै चकमन्न थियो ।

बौद्ध स्थल मनोरञ्जन गर्ने ठाउँ नभएकाले लुम्बिनी परिसरलाई होहल्ला तथा तडकभडकबाट मुक्त गरिनुपर्छ । यसबारे स्थानीयलाई सचेत गराउन ढिला भइसकेको छ ।

लुम्बिनीमा बुद्ध जयन्ती लगायत सामान्य दिनमा पनि चहलपहल बढाउन स्थानीयको मुख ताकेर मात्र हुन्न । यस क्षेत्र वरिपरि इस्लाम धर्मावलम्बीको बाहुल्य छ, त्यसपछि पहाडी मूलका ब्राह्मण, क्षेत्री समुदायको ।

सद्भावले उपस्थित हुने बेग्लै कुरा, तर सधैं लुम्बिनीमा आइदिनुपर्छ भन्ने आग्रह व्यावहारिक होइन । त्यसो त भारतका बौद्ध तीर्थस्थलहरूको स्थिति पनि लुम्बिनी जस्तै पर्यटकहरूले धानिदिनुपर्दछ । फरक यत्ति हो– पर्यटकको संख्या भारतमा बढी, नेपालमा कम छ ।

लुम्बिनीमा उभिएर पर्यटक भन्नुको अर्थ विदेशी मात्र होइनन्, नेपाली पनि हुन् । तर विदेशीका नजरमा सबै नेपाली स्थानीय हुन् । त्यसैले पनि लुम्बिनी ‘ब्राण्डिङ’ मा सबै नेपालीको अहं भूमिका छ ।

बुद्ध नेपालमा जन्मेको भन्दै गौरव गर्ने र लुम्बिनीलाई राष्ट्रिय गौरवका रूपमा विश्वसामु प्रस्तुत गर्ने हो भने बुद्ध, बौद्ध धर्म र लुम्बिनी बारे सामान्य ज्ञान र मूल्यमान्यता मनमा त राख्नै पर्दछ । लुम्बिनीमा होहल्ला गर्दै रमाइलो गर्ने दृश्यले विदेशीमा के प्रभाव पर्ला भनेर पनि ध्यान दिनुपर्दछ ।

जस्तो कि, वैशाख पूर्णिमा बिहान लुम्बिनी परिसर पुगेका प्रधानमन्त्री के.पी. शर्मा ओलीले जुत्ता समेत फुकालेनन्, कुनै पदाधिकारीले उनलाई यो नियम सम्झाउन आवश्यक पनि ठानेनन् । सारा नेपालीको प्रतिनिधित्व गर्ने प्रमको यो पाराले बौद्धमार्गीलाई लज्जित तुल्यायो ।

लुम्बिनीको महत्व दर्शाउन र पर्यटन प्रवद्र्धन गर्न सक्रिय अधिकांशले स्वयं बुद्धले भिक्षु आनन्दसँग भनेको प्रसंग उल्लेख गर्न छुटाउँदैनन् ।

‘दीघनिकाय’ मा उल्लिखित ‘महापरिनिब्वान सुत्त’ मा बुद्धले ‘तथागतको जन्मस्थल (लुम्बिनी) मात्र नभएर बोधिलाभ स्थल (बोधगया), धम्मचक्कपवत्तन स्थल (सारनाथ) र महापरिनिब्वाणस्थल (कुशीनगर) संवेजनीय हुने हुनाले त्यहाँ पुगेर धर्म लाभ गर्न सकिने’ भनेका छन् ।

संवेजना वा संवेजनीय शब्द नितान्त ध्यानसँग सम्बन्धित छ । यसको अर्थ यी ठाउँहरू ध्यानका लागि उपयुक्त छन् र ध्यानमार्फत धर्म लाभ गर्न सकिन्छ भन्ने बुझ्नुपर्दछ । त्यसैले ध्यानीहरू यी चार संवेजनीय स्थलमा केही क्षण भए पनि ध्यानमा बस्नुलाई ठूलो अवसरका रूपमा लिन्छन् ।

खासगरी ध्यानसँग सम्बन्धित स्थानलाई भ्रमण (पर्यटन) का रूपमा मात्र बुझ्दा लुम्बिनीको सही पहिचान ओझेल परेको छ । तर, लुम्बिनीको होहल्ला ध्यानका लागि उपयुक्त छैन ।

विचारणीय कुरा त के हो भने, लुम्बिनीभन्दा कैयौं गुणा बढी पर्यटक बोधगया पुग्छन् । तर त्यहाँ कुनै होहल्ला सुनिंदैन । लुम्बिनी पुगी सोही दिन फर्कनेहरूबाट पर्यटन उद्योगले खासै फाइदा लिन नसकेको निष्कर्ष त निकालिन्छन् तर उनीहरू किन बसाइँ छोट्याएर फर्कन्छन् भन्ने बारे अध्ययन गरिएकै छैन । बौद्ध स्थल मनोरञ्जन गर्ने ठाउँ नभएकाले लुम्बिनी परिसरलाई होहल्ला तथा तडकभडकबाट मुक्त गरिनुपर्छ । यसबारे स्थानीयलाई सचेत गराउन ढिला भइसकेको छ ।

अर्को कुरा, लुम्बिनी पुग्नेमा झण्डै ८० प्रतिशत नेपाली नै छन् । त्यसैले पनि नेपालीजनमा लुम्बिनी, बुद्ध र बौद्ध धर्म बारे आधारभूत शिक्षा उपलब्ध गराउनु जरूरी छ । त्यसो हुन सके मात्र लुम्बिनीप्रतिको सही दृष्टिकोणले बृहत् रूप लिन सक्छ ।

प्रतिकृया दिनुहोस